Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारशिविरको खाद्य सहयोगबाट विश्व खाद्य कार्यक्रम हट्ने

शिविरको खाद्य सहयोगबाट विश्व खाद्य कार्यक्रम हट्ने

न्यु ह्याम्सर । संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आफ्नो भूटानी शरणार्थीहरूका लागि खाद्य सहयोग कार्यक्रमबाट २०१९ को प्रारम्भ (जनवरी) सँगै क्रमिक बहिर्गमनको घोषणा गरेको छ । शुक्रबार (नोभेम्बर १६, २०१८) मा काठमाडौंमा एक विज्ञप्ति जारी गर्दै संस्थाले भनेको छ, ‘विगत २५ वर्षभन्दा लामो समयदेखि उक्त सहायता कार्यक्रमले पूर्वी नेपालमा बस्दै आएका भूटानी शरणार्थीहरूको पोषणसम्बन्धी दैनन्दिन आवश्यकता पूर्तिमा सन् १९९२ यता निरन्तर सहयोग पुर्यािएको छ । सफल पुनर्स्थापना कार्यक्रमको अनुसरण गर्दै हाल उनीहरू अमेरिका, क्यानडा, अस्ट्रेलिया र अन्य देशहरूमा पुनर्स्थापित भइसकेका छन् ।’

‘विगत २५ वर्षभन्दा अघिदेखि विश्व खाद्य कार्यक्रमले १ लाख २० हजार शरणार्थीका आवश्यकताहरूका लागि सहयोग गर्दै नेपाल सरकारसँगको निकट साझेदारीमा काम गरेको छ, साथै खाद्यान्न र नगद गरी अमेरिकी डलर ८६ मिलियन (नेपाली रूपैयाँ १० अरब) भन्दा बढी सहयोग वितरण गरेको छ’, विश्व खाद्य कार्यक्रमका लागि नेपालकी राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले खाद्य सहयोग बन्द गरिन लागेको घोषणाका सन्दर्भमा भन्नुभयो । बाँकी रहेका ६ हजार ५ सय शरणार्थीहरूको हितबारे बोल्दै उहाँले थप बताउनु भयो, ‘खाद्य कार्यक्रम शरणार्थीका चासोहरूको सम्बोधन र तिनको दिगो समाधानका लागि मार्ग पहिल्याउन नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।’ आगामी डिसेम्बरदेखि खाद्य कार्यक्रमले बाँकी रहेको अन्तिम रकमलाई ‘समापन प्याकेज’ का रूपमा वितरण गर्नेछ, जसबाट अत्यन्त जोखिममा रहेका शरणार्थीलाई छ महिनाका लागि र तुलनात्मक रूपमा न्यून जोखिममा रहेका अन्यको हकमा तीन महिनाका लागि सहयोग पुग्नेछ ।

खाद्य कार्यक्रमको सहयोगको क्रमिक बहिर्गमनसँगै शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले सामाजिक तथा आर्थिक रूपमा अत्यन्त पिछडिएका शरणार्थीका केही आधारभूत आवश्यकता पूर्तिका निम्ति लक्ष्य गरेअनुसारको बहु-प्रयोजनमूलक नगद सहयोगलाई चाहिँ निरन्तरता दिनेछ ।

खाद्य कार्यक्रम र शरणार्थीसम्बन्धी राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालयले बाँकी शरणार्थीका समस्याहरूको वैकल्पिक तथा दिगो समाधानका लागि नेपाल सरकार र अन्य देशहरूसँगको सहकार्यलाई निरन्तरता दिनेछन् ।

सन् २०१८ को सेप्टेम्बर अन्त (आर्थिक वर्ष सन् २०१७/०१८ को अन्त) सम्म अमेरिकामा शुरुदेखि पुनर्स्थापित भूटानीको संख्या ९६ हजार १ सय ४२ पुगेको छ भने विश्वका अरू ७ मुलुकमा समेत गरी करिब १ लाख १३ हजार भएको छ । शिविरमा करिब ६ हजार ७ सय बस्दै आउनुभएको छ ।