कोलम्बस । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा आयोजित वार्षिक युवा सम्मेलनमा नेपाली-भाषी बालबालिका तथा किशोर-किशोरीले उल्लेख्य सहभागिता जनाएका छन् । शुक्रबार सम्पन्न उक्त सम्मेलनमा करिब ३ सय सहभागिमध्ये ६५ जना नेपाली-भाषी बालबालिका तथा किशोर-किशोरी थिए ।
वर्खे बिदामा आयोजित शिविर शैलीको यो सम्मेलन स्थानीय इटिएसएस (इथियोपियन टेवाहेडो सोसल सर्भिसेस) नामक संस्थाले ओहायो डोमिनिकन युनिभर्सिटीमा गरेको थियो । सम्मेलनमा ५-२४ वर्ष समूहका बालबालिका तथा किशोर-किशोरी सहभागि थिए ।
फरक संस्कृति तथा पृष्ठभूमीका बालबालिका तथा किशोर-किशोरीलाई घुलमिल हुन र एक-अर्कालाई बुझ्ने अवसर दिन सम्मेलन गरिएको स्थानीय निर्मला अधिकारीले बताउनुभयो ।
सम्मेलन फरक देशका नानीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । इटिएसएस नामक संस्थाले भूटान, बर्मा, बुरूण्डी, क्यामरून, कम्बोडिया, कंगो, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इजिप्ट, इरिट्रिया, इथियोपिया, घाना, गिनी, हैटी, इरान, इराक, आइभोरी कोस्ट, जोर्डन, लाओस, मेक्सिको, मोरक्को, मौरिटानिया, प्यालेस्टाइन, पुअर्टो रिको, रूवान्डा, सेनेगल, सोमालिया, श्रीलंका, सुडान, दक्षिण सुडान, सिरिया, तान्जानिया र युक्रेनका आप्रवासी / शरणार्थीको सेवा गर्दै आएको छ ।