न्यु ह्याम्सर । न्यु ह्याम्सरको राजधानी कंकर्डस्थित स्टेट हाउस (राज्य सरकारको भवन) मा बुधबार (नोभेम्बर ७, २०१८) साँझ दिपावली कार्यक्रम गरिएको छ । कार्यक्रममा दिपावली मनाउने न्यु ह्याम्सर हिन्दू समुदायका करिब १ सय ५० जनाको उपस्थिति थियो ।
कार्यक्रममा ६० वर्ष बढी उमेरका व्यक्तिले मारूनी नाच, भैली, तिहारका गीत, ‘बि द चेन्ज क्लब’को नृत्य, आदि प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा विभिन्न व्यक्ति तथा परिवारले तयार पारेर लगेका नेपाली परिकारहरू पनि राखिएका थिए ।
कार्यक्रममा राज्यका सिनेटर ड्यान फेल्टस, मल्टिकल्चरल फेस्टिभलकी जेसिका लिभिङ्ग्स्टनले बहुसांस्कृतिक हुनुको फाइदाबारे बोल्नुभयो भने स्वयंसेवी संयोजक सुरज बुढाथोकी, घनश्याम दाहाल, र कृष्ण गिरीले दिपावलीको महत्त्व तथा पृष्ठभूमी प्रष्ट पार्नुभयो । मल्टिकल्चरल फेस्टिभलकी जेसिका लिभिङ्ग्स्टनले यस किसिमको कार्यक्रमको आयोजनामा अग्रसरता देखाउँदै आउनुभएको छ ।
न्यु ह्याम्सरका गभर्नर क्रिस सुनुनुले दिपावली मनाउन अपिल गर्दै एउटा ‘प्रोक्लामेसन’ दिनुभएको छ । उक्त अपिलमा नोभेम्बर ७, २०१८ लाई दिपावली चेतना दिवसका रूपमा घोषणा गरिएको उल्लेख छ ।
गत वर्ष पनि यस्तो कार्यक्रम भएको थियो । अमेरिकाको उत्तर-पूर्वी राज्य न्यु ह्याम्सरमा करिब १ हजार नेपाली-भाषी भूटानी तथा ३ हजार नेपाल मूल राष्ट्र भएका नेपाली रहेको अनुमान छ ।
नेपालीमाझ दिपावलीभन्दा पनि तिहार नाम प्रचलित छ । दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरूमध्येको यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । यसलाई नै यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपाल र नेपाली भएका देश वा ठाउँहरूमा मनाइन्छ ।
यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकूर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसी-भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।