न्यु ह्याम्सर । ओहायोको सिन्सिन्याटीमा आइतबार (४ नोभेम्बर २०१८) भूट्निज कम्युनिटी अफ सिन्सिन्याटी (बिसिसी) ले एक कार्यक्रम गर्दै बृहत्तर सिन्सिन्याटी क्षेत्रमा बसोबास गर्ने ६५ वा सोभन्दा बढी उमेरका वृद्ध-वृद्धाको सम्मान गरेको छ । करिब ९० जना वृद्ध-वृद्धा सम्मानित भएको आयोजक संस्थाले जनाएको छ ।
८० भन्दा बढी उमेरका वृद्ध-वृद्धालाई बर्को ओडाइयो भने सबैलाई खादा ओडाएर सम्मान गरियो । कार्यक्रममा उहाँहरूले पनि मुरली बजाउने, श्लोबक भन्ने, गजल भन्ने खालका प्रतिभाहरू देखाउनुभयो । वृद्ध-वृद्धाले आफ्ना अनुभवहरू पनि सुनाउनुभयो । उहाँहरूका लागि लुँडो, बाघचाल, आदि राखिएको थियो । कार्यक्रममा जानकारी सत्र, खेल, नृत्यहरू प्रस्तुत भएका थिए ।
‘संस्थाको युवा लियाजनका १५ युवाको अथक प्रयासले दिनभरको कार्यक्रम सफल भयो । घरबाट कार्यक्रम स्थलसम्म वृद्ध-वृद्धालाई ल्याउने-लैजाने, सरसफाइ गर्ने, खाजा तथा खाना वितरण गर्ने, आदि गर्नुभएको थियो,’ संस्थाका नवनियुक्त कार्यकारी–निर्देशक यादव सापकोटाले भूटान न्युज सर्भिसलाई जानकारी दिनुभयो, ‘वृद्ध-वृद्धाले निकै प्रशंसा गर्नुभयो । कार्यक्रम सफल भएको अनुभव भएको छ । खुसी लागेको छ ।’ वृद्ध-वृद्धालाई जलपान पनि गराइएको थियो ।
बिसिसीले एउटा सांस्कृतिक केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । सामान्यत: बिहानदेखि बेलुकासम्म उक्त केन्द्रमा सबै उमेरका लागि खेल्ने तथा वृत्ति-विकासमा मद्दत गर्ने सामग्री राखिने कार्यकारी–निर्देशक सापकोटाले बताउनु भयो, ‘परिवारका अन्य सदस्य व्यस्त रहने भएकाले एक्लिएका वृद्ध-वृद्धालाई हामीले समेट्ने प्रयास गरेका हौं ।’
बिसिसीको स्थापना सन् २०१२ मा भएको हो । बृहत्तर सिन्सिन्याटी क्षेत्रमा बसाइँ सरेका कारण अहिले नेपाली-भाषी भूटानीको संख्या करिब २० हजार र ओहायोभर ४० हजारभन्दा बढी पुगेको अनुमान गरिदैंछ । तर अमेरिकी सरकारले ओहायो राज्यभरमा ९ हजार ३ सय ५४ लाई मात्र बसोबास गराएको हो । अहिलेसम्म अमेरिकाका विभिन्न ४१ राज्यमा ९६ हजार १ सय ४२ भूटानीको पुनर्स्थापना गरिएको छ ।