Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारकोलम्बसमा १०९ औं लक्ष्मी जयन्ती सम्पन्न

कोलम्बसमा १०९ औं लक्ष्मी जयन्ती सम्पन्न

न्यु ह्याम्सर । ओहायो राज्यको कोलम्बस शहरमा आइतबार (४ नोभेम्बर २०१८) १०९ औं लक्ष्मी जयन्ती विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । श्याम खनालको सभापतित्वमा र डा. लक्ष्मीनारायण ढकालको आतिथ्यमा भएको कार्यक्रम मातृभाषा संरक्षण समूहले गरेको थियो ।

गीतकार रन खड्काले स्वागत मन्तव्य दिनु भएको थियो । निल अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ आयुर्वेदिक चिकित्सक गंगाप्रसाद ढकालको ‘स्वास्थ सुरक्षाका सुत्रहरू’ पुस्तक विमोचन भएको थियो । साथै देउसी कार्यक्रम, साना नानी-बाबुहरुबाट गीत प्रस्तुत, कार्यक्रममा विभिन्न राज्यबाट करिब ६०-७० जना साहित्यिक स्रस्टाको भेलाले कार्यक्रम रमाइलो भएको थियो । सुदर्शन अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा लागेर समाजको हितमा काम गर्ने विभिन्न समाजसेवीको सम्मान भएको थियो । सम्पूर्ण कोलम्बस र रिनल्स्बर्गमा नेपाली कक्षामा पढाउने शिक्षक शिक्षिका, मिडियामा रहेर योगदान दिने हरि सुवेदीलाई सम्मान आदि गरेको जानकारी कार्यक्रम आयोजक समूहका युवा साहित्यकार धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ ले दिनुभयो । उक्त समूहबारे पनि युवा साहित्यकार तिम्सिना ‘क्षितिज’ प्रकाश पार्नुभएको थियो ।

तेस्रो मुलुक पुनर्वासपछि आफ्नो भाषा–संस्कृति जोगाइ राख्न १४ डिसेम्बर २०१४ मा स्थापित युवाहरूको समूह ‘मातृभाषा संरक्षण समूह’ ले हालसम्म ८ वटा कृति प्रकाशित गरिसकेको छ ।

देवकोटा: छोटो परिचय
नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्णपक्ष लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।

उहाँको २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले निधन भएको थियो ।

(साहित्यकार केशव बैरागी माइलोको सहयोगमा)