दमक । तेस्रो मुलुक पुनर्वासमा नगई शिविरमै रहेका बाँकी भूटानी शरणार्थीका सम्बन्धमा जिम्मेवारीपूर्वक जवाफदेही बन्न संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई भूटानी शरणार्थी स्वदेश फिर्ती प्रतिनिधि समिति (बि.आर.आर.आर.सी.) ले आग्रह गरेको छ । खाद्य कार्यक्रमले १६ नोभेम्बर २०१८ का दिन सार्वजनिक सुचना जारी गर्दै सन् २०१९ को प्रारम्भ (जनवरी) देखि भूटानी शरणार्थीलाई पुर्याउँदै आएको खाद्य सहयोगबाट क्रमिक रूपमा बहिर्गमन हुने घोषणा गरेसँगै बि.आर.आर.आर.सीले आज (१८ नोभेम्बर २०१८) एक प्रेस विज्ञप्तिमार्फत उक्त आग्रह गरेको हो ।
बिआरआरआरसीका अध्यक्ष डा. भम्पा राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा शरणार्थी समस्याको निकास नआएसम्म गाँस, बाँस र कपासको निरन्तर व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
संस्थाले दात्तृ-संस्थाहरूमाथि शरणार्थी समस्यालाई निकासविहिन बनाउने निरंकुश भूटानी शासकको इरादालाई सत्य सावित गर्न सहयोगी भूमिका खेलेको आरोप समेत लगाएको छ ।
पूर्वी नेपालका शिविरमा ६ हजार ६ सय ५६ जना भूटानी शरणार्थी बस्दै आउनुभएको छ भने पुनर्वासमा हालसम्ममा १ लाख १३ हजार १९६ जना गइसक्नुभएको छ । बिआरआरआरसीले शिविरका शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गर्न नहुनेमा जोड दिँदै आएको छ ।