ह्यारिसवर्ग (पेन्सलभेनिया) । पेन्सलभेनियाको ह्यारिसवर्गमा आइतबार (डिसेम्बर ३०, २०१८) मा १३५ औं लेखनाथ जयन्ती एक कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रम त्रिवेणी साहित्य मञ्चले गरेको थियो ।
कार्यक्रममा भाषा-साहित्यका क्षेत्रमा गरेको उल्लेखनीय योगदानका लागि एक संस्था र दुई व्यक्तिलाई सम्मान गरियो । सम्मानित हुनेमा हिन्दू धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी), तथा डब्ल्युयुडिजी एफएम रेडियो (कोलम्बस) का सञ्चारकर्मी हरि सुवेदी, र डिसी क्षेत्रको नेपाल एजुकेशन एन्ड कल्चर सेन्टर (एनइसिसी) को १४ वर्षदेखि स्कूल निर्देशक रहेका दीपकजंग विश्वकर्मा हुनुहुन्थ्यो ।
मञ्चका अध्यक्ष नवीन शर्मा भट्टराईको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा नारद आचार्य ‘सुदामा’ को शब्द तथा सुनिल राईको स्वरको ‘एकान्तमा ती लजालु नजर जुधाएर …..’ बोलको गीतको अडियो सार्वजनिक गरियो । धेरै स्रष्टाहरूले रचना-वाचन गर्नुभयो । तेस्रो पुस्तामा भाषा बचाइराख्न वक्ता भूट्निज कम्युनिटी अफ ह्यारिशवर्ग (बिसिएच) का अध्यक्ष अशोक राई, सम्मानित व्यक्तित्व श्री विश्वकर्मा, सम्मानित संस्था ओएचआरसीका अध्यक्ष तुलाराम न्यौपाने आदिले जोड दिनुभयो ।
केशव घिमिरे (वैरागी माइला) ले सञ्चालन गरेको उक्त कार्यक्रममा नयाँ वर्ष २०१९ को शुभकामना पनि आदान-प्रदान गरिएको थियो । मञ्चले पहिलोपटक लेखनाथ जयन्ती आयोजना गरेको हो । संस्थाले विभूतिहरूलाई सम्झदै कार्यक्रम गर्दै आएको छ ।
त्रिवेणी साहित्य मञ्चको स्थापना सन् २०१७ मा भएको हो । यसले महिनाको अन्तिम आइतबार नियमित सामूहिक रचनावाचन गर्दै आएको छ । यसै वर्ष भएको उद्घोषण कार्यशालाबाट ८ जना उद्घोषक तयार भएका छन् । एउटा छन्द प्रशिक्षण गरिसकेको छ, अर्को गर्ने तयारीमा छ । सन् २०१९ मा गजल प्रशिक्षण गराउँदैछ । ह्यारिसवर्ग र यस आसपासका क्षेत्रमा नेपाली-भाषीको आवादी बाक्लिंदै गएको छ ।
कविशिरोमणि लेखनाथ पौड्याल: चिनारी
कविशिरोमणि लेखनाथ पौड्यालको जन्म वि. सं. १९४१ पुस शुक्ल एकादशीका दिन नेपालको कास्की जिल्लाको अर्घौं अर्चले भन्ने ठाउँमा पिताको दुर्गादत्त र माता वसुन्धरादेवीका सन्तानका रूपमा भएको थियो । उहाँले तत्कालीन परम्पराअनुसार घरबाटै अक्षरारम्भ गर्नुभएको थियो । सग्ला अक्षर चिनेपछि उहाँले घरमै दुर्गासप्तशती, चण्डी, वेद, रुद्री, अमरकोश आदिको अध्ययन गर्नुभएको हो । औपचारिक शिक्षातर्फ काठमाडौं तीनधारा संस्कृत पाठशालाबाट मध्यमासम्म पूरा गर्नुभयो ।
साहित्य सिर्जनामा समर्पित लेखनाथका प्रशस्त फुटकर कविता, खण्डकाव्य, नाटक आदि प्रकाशित छन् । ‘पिजराको सुगा’, ‘कालमहिमा’, ‘सत्य-सन्देश’, ‘जीवन-चङगा’, ‘गौंथलीको चिरिबिरि’ आदि कविता अविस्मरणीय छन् । त्यस्तै ‘गीताञ्जली’ (१९८६), ‘लक्ष्मीपूजा’ (नाटक, १९९४),’त्याग र उदयको युगल प्रकाशन’ (स्तुतिकाव्य, २००२) ‘अमर ज्योतिको सत्य स्मृति’ (शोक काव्य, २००८), तरुण तपसी (नव्यकाव्य, २०१०), ‘मेरो राम’ (खण्डकाव्य, २०११), ‘अभिज्ञान शाकुन्तल’ (नाटक, २०१५), ‘भर्तृहरि निर्वेद’ (नाटक, २०२०) र ‘गङगा गौरी’ (महाकाव्य) आदि अमर र अमूल्य कृति मानिन्छन् ।
उहाँलाई वि.सं. २००८ असार २९ गते तत्कालीन राजा त्रिभुवनबाट कविशिरोमणि उपाधि प्रदान गरिएको थियो । २०११ सालमा नेपाली शिक्षा परिषद्को आयोजनामा उहाँको रथारोहण तथा अभिनन्दन गरियो । उहाँको निधन २०२२ फागुनमा ८२ वर्षको उमेरमा चितवनको भरतपुरस्थित देवघाटमा भयो ।