कोलम्बस (ओहायो) । शितो र्यु कराँते डोजो काई इन्टरनेशनल नामक संस्थामा कराँते सिकिरहेका १७ जना बालबालिकाको डिसेम्बर २२, २०१८ मा कोलम्बसमा ग्रेडिङ्ग गरिएको छ ।
कराँतेमा ६ बालबालिका ह्वाइट (सेतो) बेल्टबाट यल्लो (पहेंलो), चार जना पहेंलोबाट अरेन्ज (सुन्तला रंग), चार जना अरेन्जबाट ब्ल्यु (नीलो), २ जना नीलोबाट पर्पल (बैजनी) र एक जना ग्रिन (हरियो) बाट ब्राउन बेल्टमा ग्रेडिङ्ग गरिएका हुन् । ग्रेडिङ्ग गरिएका आधा नानीहरू सिन्सिन्याटी र कोलम्बसका नेपाली-भाषी छन् । ह्वाइट बेल्टबाट ग्रेडिङ्ग हुँदै ब्ल्याक बेल्ट पाउन कम्तीमा ३ वर्ष लाग्छ । नानीहरूको ग्रेडिङ्ग निर्धारण ६-६ महिनामा हुने डोजो बैठकले निर्णय गर्छ ।
”नानीहरूको खेलको स्तर राम्रो भएको डिस्ट्रिक्ट तहदेखि नेसनल क्वालिफाइङ्गमा देखाएको प्रदर्शनबाट थाहा हुन्छ । हाम्रा नानीहरू कमजोर छैनन्,” मुख्य प्रशिक्षक शिव योगीले बताउनुभयो । यसपटकको ग्रेडिङ्गको खर्च संस्थाले नै गरेको योगीले बताउनुभयो ।
नानीहरूको ग्रेडिङ्गको परीक्षा मुख्य प्रशिक्षक योगीसहित एसिस्टेन्ट सिनियर ब्ल्याक बेल्ट शाजित तामाङ्ग र सविता माझीले गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी खगेन्द्र भण्डारी जन्तरे हुनुहुन्थ्यो ।
शितो र्यु कराँते डोजो काइ इन्टरनेशनल (Shito Ryu Karate Dojo Kenwa Kai International) को स्थापना सन् २०१३ मा भएको हो । नेपालमा निकै सक्रिय रहँदै गर्दा पुनर्स्थापनामा अमेरिका आएपछि फ्लोरिडामा तालिम शुरू गरेका संस्थाका मुख्य प्रशिक्षक योगीले ओहायो आएर यो संस्थाको स्थापना गर्नुभएको हो । योगीलाई नेपाली-भाषी भूटानीमध्ये अमेरिकामा कराँते शुरूआत गर्ने अगुवामध्येको एक व्यक्तिका रूपमा पनि चिनिन्छ ।
यसका तीन डोजोहरू: ओहायोको सिन्सिन्याटी र कोलम्बस तथा भर्जिनियाको रिचमण्डमा छन् । यो संस्था निहोन कराँते डोजो काई इन्टरनेशनल र युएसए नेसनल कराँते डोजो फेडरेशनसँग आवद्ध छ । नेसनल कराँते डोजो फेडरेशनसँग आवद्ध भएपछि इच्छुक सबै नानीलाई तालिम दिन आवश्यक हुन्छ ।
नेपाली-भाषी भूटानी नानीहरू अमेरिकाका जर्जिया, नर्थ क्यारोलाइना, भर्जिनिया, पेन्सलभेनिया, ओहायो आदि राज्यमा कराँतेको प्रशिक्षणमा भाग लिइरहेका छन् ।