Homeनेपालीफिचरधूमिल जून: अलमलिएको स्रष्टा ऐना जिस्काउँछ (कृति-परिचय)

धूमिल जून: अलमलिएको स्रष्टा ऐना जिस्काउँछ (कृति-परिचय)

युवा सर्जक खेम रिजालको गद्य कविताको पुस्तक ‘धूमिल जून’ मा स्रष्टा अलमलमा परेको हो भन्ने जस्तो लाग्छ । छरिएको भेटिन्छ, छरपस्ट विचारहरूको टिपोट जस्तो । बिहान उठ्दाको कवि, बेलुका हुँदासम्म अर्कै भएको अवस्था हुन्छ । यो कविहरूको प्रकृति हो, कवित्व हो । अलमलिएको स्रष्टा ऐना जिस्काउँछ । रिजालले ऐनालाई जिस्क्याएका छन्, ऐना मौन छ ।

कृतिमा ५१ कविता छन् । अनि ५१ रंगहरू छन् । सिर्जनाको संख्यामा रिजालको यो पहिलो कविता–संग्रह र चौथो कृति हो ।

उनका गीति–एल्बम ‘पहिलो भेट’, ‘रिया–रिद्म’ र गजल–संग्रह ‘किनाराको छाल’ जति सरल थिए, यो कृति त्यति छैन । यसरी अघिल्ला सिर्जना र यो संग्रहबीच तुलना गर्दा कविले आफ्ना पाठकलाई कित्ता छुट्याइदिएको देखिन्छ । यो कृति आमपाठकका लागि होइन भन्ने जस्तो भान हुन्छ । समीक्षा गर्दै महेश पौड्यालले लेख्नुभएको प्रसंगले पनि यसै भनेजस्तो लाग्छ, ‘चित्रकलाजस्ता छन् कविता, जसको छेउटुप्पो पत्तो लाउन धेरै पल्ट पढ्नुपर्छ ।’

कविताहरू धौलागिरी, सगरमाथा, अन्नपूर्ण, कुम्भकर्ण, पुमोरी, मनास्लु आदि हिमाल झैं आफ्नो ठाउँमा आफ्नो रुपमा उभिएका छन् । पाठकले बुझेअनुसार आकारको व्याख्या गर्छ । कृतिमा शुभेच्छा दिँदै डा. रामप्रसाद ज्ञवालीले कविताहरूलाई अभिधात्मक, विम्बात्मक, प्रतीकात्मक, आलङ्कारिक र व्यञ्जनात्मक जस्ता संज्ञा दिनुभएको छ । कविताहरूले कहिकतैं भूटान, नेपाल, अमेरिका दृश्यहरू पनि देखाएका छन् ।

थप समीक्षा, र शुभेच्छाले कृतिलाई गतिलै सँग केलाएका छन् । कविलाई आफ्ना अग्रज भक्त घिमिरेले लेख्नुभएको छ, ‘गजलकार, गीतकारले कवि बनेर देखाइदिएका छन् ।’ घिमिरेले कवितामा समाजका विसङ्गति, अन्याय, समानता र उच्च आदर्शको मानव–समाजको चाहनाभित्र कवित्व चेतना प्रखर बनेर उठेको देख्नुभएको छ ।

अर्का समीक्षक विकास थापाले लेख्नुभएको छ, ‘कविता छोटा, मीठा बिम्बको प्रयोग यस संग्रहभित्रका कविताहरूको सवल र सक्षम पक्ष हो । कुनै कुनै कविता उत्कृष्ट चेतको भावमा लेख्न खोजिएको छ ।’

यो कृति सन् २०१८ जून १० मा विमोचन भएको हो । पुस्तकको प्रकाशक मस्क–भिजन्स एलएलसी (Musk-Visions LLC) हो भने यसै वर्ष प्रकाशित यो संग्रह १ हजार प्रति छापिएको हो ।

कृतिको मूल्य ५ डलर ९९ सेन्ट्स छ । श्याम–श्वेत देखिने आवरण लक्ष्मण दियालीले सजाएका छन् भने पुस्तकको मुद्रण शब्दघर छापाखाना, बागबजार, काठमाडौंमा गरिएको छ ।

एक सय १२ (आवरणमा ४ पृष्ठ) पृष्ठको पुस्तकमा समीक्षा, शुभेच्छा, र मन्तव्य गरेर २८ पृष्ठ खर्चिएको छ ।

(अक्षरिकाको सन् २०१८ को डिसेम्बर अंकबाट)