Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारभूटान फर्काउन युएनएचसिआरले शरणार्थीको अन्तर्वार्ता थाल्यो

भूटान फर्काउन युएनएचसिआरले शरणार्थीको अन्तर्वार्ता थाल्यो

दमक (नेपाल) । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर) ले भूटान फर्कन चाहने भूटानी शरणार्थीको अन्तर्वार्ता सुरु गरेको छ । यसअघि भूटान फर्कन इच्छा राख्ने शरणार्थीका माझ फाराम वितरण गरेको युएनएचसिआरले उक्त फाराम भर्ने शरणार्थीहरूको अन्तर्वार्ता लिन सुरु गरेको हो ।

हालसम्म भूटान फर्कन चाहने ६ सय ४० परिवारको विवरण प्राप्त गरेको युएनएचसिआरले जानकारी दिएको छ । संस्थाले अन्तर्वार्ताका लागि पहिलो ५६ परिवारको सूची सार्वजनिक गरेको थियो । उक्त ५६ परिवारको अन्तर्वार्ता जनवरी ७ देखि ९ तारिखभित्र, जम्मा ३ दिनमा सक्ने बताइएको छ । अन्तर्वार्ता हप्तामा ३ दिन गरिने स्रोतले जनाएको छ ।

अन्तर्वार्ताका लागि शरणार्थीहरूले शरणार्थी परिचय-पत्र र जनगणना कार्डका साथै भूटानको कागज-पत्र साथै लिएर आउन भनिएको छ । त्यस्तै अन्तर्वार्तामा १८ वर्ष माथिका परिवारका सदस्य अनिवार्य रुपमा उपस्थित हुनुपर्ने स्रोतले जनाएको छ ।

बेलडाँगी र पथरी शिविर गरी जम्मा ६ सय ४० परिवारको विवरण युएनएचसिआर पुगेकोमा पथरी शिविरबाट ८ परिवारको मात्र प्राप्त गरेको स्रोतले जनाएको छ । जनवरी २१ लाई अन्तिम म्याद तोकेर हाल फाराम भर्न लगाउने क्रम जारी छ । यसअघि डिसेम्बरभर मात्र फाराम भर्ने मिल्ने जनाइएको थियो ।

युएनएचसिआरको भनाइ
युएनएचसिआरले अहिले भूटान फर्कन चाहनेको संख्या र विवरण जान्न चाहेको तथा त्यसैका आधारमा भूटानलगायत अन्तर्राष्ट्रिय देशसँग पहल गर्ने संस्थाको स्रोतले बताउँदै आएको छ । यसअघि, १९ डिसेम्बरका दिन भूटान फिर्तीका लागि शरणार्थीहरूलाई फाराम भराउन लागेको जानकारी गराउँदै युएनएचसिआर, दमकका संरक्षण अधिकारी माधव गौतमले संस्थाले पहलकदमी लिन लागेको तर त्यसमा सफल हुने वा नहुने भन्न नसकिने बताउनुभएको थियो । सोही कुरा अन्तर्वार्ता लिने क्रममा युएनएचसिआरका तर्फबाट खटाइएका अन्तर्वार्ताकारहरू शरणार्थीलाई बताउँदै आएका छन् ।

पुरानै थलोमा फर्कन चाहन्छन शरणार्थीहरू
उक्त फाराममा भूटान फर्कन इच्छुकले घरमूलीको नाम, शिविरको ठेगाना, परिवार संख्या, सम्पर्क नम्बरलगायत विवरण भर्नुपर्ने उल्लेख छ । फाराममा एक ठाउँ भूटानमा आफ्नो पहिलेको ठेगाना र अर्को ठाउँमा हालमा फर्केर जान इच्छा लागेको भूटानको कुनै एक ठेगाना भर्नुहोस् भनिएको छ । तर, फाराममा आफूलाई फर्केर जान इच्छा लागेको भूटानको कुनै पनि नयाँ ठाउँको नाम उल्लेख गर्न स्वतन्त्रता भए पनि शरणार्थीहरूले पुरानै थातथलो उल्लेख गरेको भूतपूर्व सचिव सञ्चहाङ सुब्बाले जानकारी दिनुभयो । ‘आफ्नै थातथलोसँग भावानात्मक नाता जोडिएको, त्यहाँ मात्रै हक दाबी गर्न सक्ने र निमुखा शरणार्थीहरूलाई आफ्नो थातथलोको तुलनामा अन्य ठाउँको जानकारी कम भएकाले सबै पुरानै थलोमा फर्किने इच्छा व्यक्त गरेका छन्,’ सुब्बाले अगाडि भन्नुभयो ।

‘फाराममा भूटानको कुनै अर्को ठाउँमा जाने भनेर उल्लेख गर्दा पनि हुने रहेछ, किन पुरानै ठाउँमा जाने भन्नु भएको ?’ भन्ने प्रश्नमा, बेलडाँगी २ का भिमबहादुर क्षेत्री भन्छन्, ‘किनभने त्यहाँको ठाम (लालपुर्जा) छ मसँग । अर्को ठाउँको त अर्कैसँग हुन्छ नि ।’

पूर्वी नेपालका शिविरमा ६ हजार ६ सय ५६ जना भूटानी शरणार्थी बस्दै आउनुभएको छ भने पुनर्वासमा हालसम्ममा १ लाख १३ हजार १९६ जना गइसक्नुभएको छ ।