कोलम्बस (ओहायो) । समीक्षा, विमोचन, स्रस्टा सम्मान तथा रचनावाचनसहितको साहित्यिक कार्यक्रम यहाँ आइतबार (जनवरी ६, २०१९) भएको छ । कार्यक्रम मातृभाषा संरक्षण समूह र साहित्य परिषद्, भूटानको संयुक्त आयोजनामा भएको थियो ।
कार्यक्रममा रमेश दियालीद्वारा लिखित उपन्यास छाप्रो नम्बर ५५ को समीक्षा, भिम-सुशिलको एल्बम ‘पिडा’ को विमोचन, दियालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य रन खड्काले दिनुभएको थियो ।
स्रष्टा प्रतिमान शिवाले उपन्यासको समीक्षा गर्नु भएको थियो । गीतकार भिम अधिकारी (कश्यप) को एकल शब्द र सुशिल विश्वकर्माको एकल संगीतमा रहेको कर्णप्रिय गीतहरूको एल्बम ‘पिडा’ को विमोचन भएको थियो भने आयोजक संस्थाहरूका तर्फ बाट समूहका धर्मेन्द्र तिम्सिना क्षितिज र साहित्य परिषद् अध्यक्ष गंगा लामिटारेले संयुक्त रूपमा उपन्यासकार दियालीलाई सम्मान-पत्र प्रदान गर्नुभएको थियो ।
सुशील रेग्मीको सभापतित्व तथा कर्ण गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्ण गुरुङले साहित्य परिषद्, भूटान र विश्व भूटानी साहित्य संगठन (ग्लोबल भूट्निज लिटरेरी अर्गनाइजेसन; जिबिएलओ) मिल्नुको विकल्प नरहेको प्रष्ट पार्नुभयो । मातृभाषा संरक्षण समूहको बारेमा धर्मेन्द्र तिम्सिना, परिषदको बारे गंगा लामिटारेले बोल्नुभएको थियो ।
करिब साढे पाँच घन्टा चलेको कार्यक्रममा सानी नानी सोफिया अधिकारीले नेपाली लिपिमा लेखेको गीत सुनाएर सबैलाई चकित पारेकी थिइन । निल अधिकारी र धर्मेन्द्र तिम्सिनाले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो ।
मातृभाषा संरक्षण समूहको स्थापना सन् २०१४ मा र साहित्य परिषद्, भूटानको स्थापना सन् १९९३ मा भएको हो ।