न्यु ह्याम्सर । गएको दशैं-तिहारको तिथि-मितिका विषयमा निकै खैलाबैला मच्चिए पनि सन् २०१९ का तयार पारिएका पात्रो र भित्तेपात्रोमा उक्त तिथि-मितिमा एकरूपता देखिएको छ । अमेरिकामा निकालिएका एक पात्रो र तीन भित्तेपात्रोले भूटान न्युज सर्भिसलाई दिएको जानकारीअनुसार सन् २०१९ को दशैंको टिका अक्टोबर ७ र भाईटिका अक्टोबर २९ मा लगाउनु पर्नेछ ।
पात्रो निकाल्ने एउटा मात्र संस्था ‘ज्योतिष एवम् आध्यात्मिक अनुसन्धान केन्द्र’ छ भने भित्तेपात्रो उक्त संस्थालगायत विश्व भूटानी हिन्दू संगठन (GBHO) र हिन्दू धर्म तथा सांस्कृतिक संगठन (OHRC) छन् । अरू संस्थालाई हामीले यसपटक समेट्न सकेका छैनौं ।
भित्तेपात्रोको विगत हेर्दा हिन्दू धर्म तथा सांस्कृतिक संगठन सबभन्दा जेठो देखिन्छ । तर संगठनको यो भित्तेपात्रो व्यावसायिक नभएर मुख्य पेन्सलभेनियाको ह्यारिशवर्ग बस्ने आफ्नो समुदायका लागि मात्र प्रकाशन तथा नि:शुल्क वितरण हुँदै आएको छ । ”हामीलाई यहाँका व्यापारिक संस्थाहरूले विज्ञापन दिनुहुन्छ, त्यही रकमबाट हामी भित्तेपात्रो छाप्दै आएका छौं । सन् २०१९ को यो भित्तेपात्रो ६ औं संस्करण हो,” संगठनसँग आवद्ध ज्यो. खेम धिताल बताउनुहुन्छ, ”हामीले पोहोर जस्तै १ हजार प्रति छाप्यौं र नयाँ वर्ष नलाग्दै वितरण पनि गरिसक्यौं । यसको उद्देश्य समुदायका सदस्यहरूलाई औंसी, पूर्णिमा, बार, तिथि आदि देखाइदिनु मात्र हो ।”
दशैं-तिहारको विवादका विषयमा धिताल भन्नुहुन्छ, ”अक्षांश-देशान्तर, समय आदिमा पात्रो तयार हुन्छ । तर यो कस्तो भने नेपालमा मनाएपछि यता मनाउनु जस्तो लाग्छ । उता नमनाई यता मनाउँदा खल्लो पनि लाग्छ ।” ज्यो. धितालले दशैंको टिका अक्टोबर ७ र भाईटिका अक्टोबर २९ मा परेको बताउनुभयो ।
ज्योतिष एवम् आध्यात्मिक अनुसन्धान केन्द्रले प्रकाशन गर्दै आएको सन् २०१९ को मारूतिनन्दन पात्रो र भित्तेपात्रो डिसेम्बर १५ मा बजारमा आएको छ । केन्टकी राज्यमा दर्ता भएको उक्त केन्द्रले उत्तर अमेरिका (संयुक्त राज्य अमेरिका र क्यानडा) का लागि यो पात्रो र भित्तेपात्रोको प्रकाशन सन् २०१५ देखि गर्दै आएको छ ।
पात्रो गत वर्ष जस्तै १ हजार ५ सय र भित्तेपात्रो २ हजार प्रति प्रकाशन गरिएको छ भने मूल्य क्रमश: ८ डलर (क्यानडामा १० डलर) र ५ डलर (क्यानडामा ७ डलर) राखिएको छ । ६० पृष्ठको पात्रोको आवरण मात्र रंगीन छ भने भित्तेपात्रोका १२ पृष्ठ रंगीन छन् ।
भारतको बनारसस्थित प्रभा प्रिन्टिङ्ग प्रेसमा मुद्रण गरेको यी पात्राहरू भूटानी तथा नेपालीका हिन्दू समाज भएका ठाउँमा बिक्रि हुने गरेको छ । क्यानडामा करिब २ सय प्रति जाने गरेको छ भने अरू अमेरिकामा विभिन्न राज्यमा बिक्रि हुने गरेको केन्द्रले जनाएको छ, “पात्रोको काम अझै सेवाका रूपमा छ ।”
संस्थाका निर्देशक डा. ढकाल बताउनु हुन्छ, ”स्थानीय समयअनुसार ज्योतिष विज्ञान र गणितका आधारमा पात्रो बनाउने हो भनेर हामी बुझाउने पनि प्रयासमा छौं ।” अमेरिकाको पूर्वीय समयलाई आधार मानेर तयार पारिएका यी पात्राहरूका सम्पादक तथा लेखक ज्यो. पद्मलाल ढकाल हुनुहुन्छ भने सम्पादन सहयोगी ज्यो. राजेन्द्र खनाल हुनुहुन्छ ।

‘ज्योतिष एवम् आध्यात्मिक अनुसन्धान केन्द्रले पनि दशैंको टिका अक्टोबर ७ र भाईटिका अक्टोबर २९ मा परेको बताएको छ ।
गएको दशैं-तिहारको तिथि-मितिको खैलाबैलाले समुदायका सदस्यको ध्यान विश्व भूटानी हिन्दू संगठनतर्फ मोडिएको यसका अध्यक्ष कमल धिमालको भनाइ छ । हिन्दू संगठन पहिलोपटक पात्रो तयारीमा लागेको हो ।
संस्था ज्यो. बालकृष्ण अधिकारीले भित्तेपात्रोको धेरै पक्षको जिम्मा लिनुभएको छ, उहाँ भन्नुहुन्छ, ”नेपालमा राजाले टीका लगाएपछि भूटान, नेपाल वा अन्यत्र टीका लगाउने चलन हो । दशैं हिन्दूहरूको चाड भए पनि भारत, वा अन्यत्र फरक रूपमा मनाइन्छ । टीका थाप्ने नेपालीले मात्र हो । त्यसैले दशमीदेखि पूर्णिमासम्म आफूलाई मिल्दो समयमा लगाउने हो ।”
हिन्दू संगठनका ज्यो. अधिकारीका अनुसार दशैंको टिका अक्टोबर ७ र भाईटिका अक्टोबर २९ मा नै हो । हामीले यस संस्थाको भित्तेपात्रोको तस्बिर पाउन सकेनौं ।
अमेरिकी महाद्विपमा जोडिएर रहेका ४८ राज्यलाई विभिन्न चार समय-क्षेत्रमा बाँढीएको छ: पूर्वीय, मध्य, पहाडी र प्रशान्त समय-क्षेत्र । पूर्वी समय क्षेत्रभर एउटै समय हुन्छ । तर मध्य समय-क्षेत्रमा एक घण्टा छिटो हुन्छ, पहाडी समय-क्षेत्रमा दुई घण्टा छिटो हुन्छ भने प्रशान्त समय क्षेत्रमा तीन घण्टा छिटो हुन्छ ।
अमेरिकाका नेपाली, नेपाली–भाषी बर्मेली, नेपाली–भाषी भूटानी आदिका लागि नेपाली पञ्चाङ्ग समितिले तय गरेको तिथि-मितिसहितको पात्राहरू पनि उत्तिकै मान्य छ ।
अमेरिकाको स्टेट डिपार्टमेन्टका अनुसार पुनर्स्थापित करिब ९६ हजार भूटानीमध्ये ५५ हजार हिन्दू धर्मावलम्बीहरू हुनुहुन्छ । अमेरिकामा ३ लाख नेपालबाट आउनुभएका नेपाली भएको अनुमान गरिन्छ । तर नेपालबाट आएका नेपालीलाई धर्मका आधारमा गणना गरिएको तथ्याङ्क पाइँदैन ।