Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचार'बधाई'भित्र-१

‘बधाई’भित्र-१

श्री ठाकुरसिङ पौडेलजी शिक्षामन्त्री भैसकेकोमा, हाम्रा धेरै नानीहरुका प्राचार्य हुनुभएकोले पनि साथै हालसालै उहाँले गुसी शान्ति पुरस्कार पाउनु भएकोमा ढिलै भए पनि भूटान समाचार सेवामार्फत बधाई दिन चाहन्छु । यसै सिलसिलामा विगतको यथार्थलाई विपना या सपना झैँ सम्झन मन लाग्यो। इश्वरीय दृष्टिकोण र निस्वार्थ सेवाको भावनाले जनताकै हितका खाँतिर भएका धेरै मध्ये एकदुई वटा विषय मात्र यहाँ समावेश गर्न चाहन्छु । आ-आफ्नै भावना, दृष्टिकोण र प्रकृति हुन्छन् , तथापि, सम्पूर्ण भुटानी मातापिता , गाउँ-ठाउँ का शिक्षित भाइ-बहिनीहरु, अरु समस्त विद्वान बुद्धिजीवीहरुमा पनि यी यथार्थ भावनाहरु बाँड्न खोजेको पनि हुँ अन्यथा नसम्झी, विशाल हृदयका साथ ग्रहण गरिदिनुहोला !

सन् १९७१ मा तत्कालीन राजा श्री जिग्मे सिङ्गे वाङ्चुक को पालामा, दक्षिण भुटान गेलेग्फुगमा सर्वप्रथम राष्ट्रिय दिवस मनाइएको थियो। भावनाले मानिसलाई राम्रा-नराम्रा, दु:ख-सुखका विषयमा अघि बढ्न प्रेरित गर्दो रहेछ । राजालाई बागवान विष्णुको अंश मान्ने हामी जनाताको पवित्र भावना, राजा खुसी भए चौतर्फी बिकास हुन्छ र जनताहरु सुखी हुन्छन् भन्ने दृढ निश्चय भएकाले दु:ख- सुख , लाभ- हानीको वास्ता नगरी सामाजिक काममै भए पनि जहाँसम्म जनतालाई पीर नपरोस् र जनताबाट अर्थ सङ्कलन गर्ने र दुरुपयोग गर्ने अभ्यास नबनोस् भन्ने उद्देश्यले दु:ख-सुख जस्तै भए पनि आफ्नै माताजीलाई प्रर्थना गरी खुसी पारेर अत्यन्तै ऐतिहासिक सम्झिएर हिफजत गरी राखेको पुरानो हस्थ दन्ती भएको सम्पूर्ण चाँदीको र केही सुन लगाएको “कोथिमुडा ” मागेर, त्यहिका श्री रेतिलाल सुनारलाई (जो अहिले गोलधाप शिविरमा बस्छन्) , राष्ट्रिय दिवसको उपलक्ष्यमा दागापेलाका जनताकोतर्फबाट भनी खुकुरीमा खोलेको अक्षरमा लेख्न लगाएर सुनले पेन्टिङ गरी तयारी गरिएको थियो। सोही ब्लकका मण्डल स्व. श्री जे० बि० गुरुङको नैतिक समर्थन थियो । गुरुङ अत्यन्तै धार्मिक भावना भएका आत्मीय मित्र थिए |

त्यो चडाउने सम्बन्धमा गाउँका मेम्बर र जोङ्दा श्री एन्० बि० छेत्रीलाई देखाई सोधपुछ गरी सल्लाह माग्दा इर्श्याको भावनाले जस्तो वास्तै नगर्दा, हरेस खाइसकिएको थियो तथापि चित्त नबुझेर सोथपुछ गर्दै गर्दै कसो कसो स्व० डाशो लामपेन्जोरलाई भेटी सबै कुरा बताउँदा उहाँले हेरी मलाई पहिले नै भन्नु पर्ने थियो भन्नुभयो | “यो अति राम्रो कुरा रहेछ | म राजालाई भन्ने छु | भोलि सार्वजनिक भेला हुँदैछ | त्यही बेला म तपाईंलाई सङ्केत गर्छु अनि चडाउनु”, उहाँले थप्नु भयो | तरै पनि के हो के हो , ठूला मान्छेको भनाइ | बिर्सने हुन् कि, यत्रो दु:ख गरेको, निष्फल पो हुन्छ कि भन्ने दोचिन्ता थियो। नभन्दै भोलि पल्ट दक्षिण भुटानका सारा जनतासँग राजाको भेट भयो। सबै ठाउँका कारन्दारहरुलाई सोधपुछ गर्दै सबैले आ- आफ्ना मागहरु राख्तै गए । राजाबाट दागापेला भन्ने बित्तिकै चाहेको कुरा भन्ने मौका पाइँदैन होला भनी अचानक स्वयंले उठेर भन्न सुरु गरिएछ ।

दागापेलामा मन्दिरको कुराबाट सुरु गरी पुरानो मन्दिर र पाठशालाको जीर्णोद्धारको माग गर्दा १० बण्डल जस्तापाता, काँटी, कब्जा दिने फैसला भयो। ५ ऐकरभन्दा कम्ती जमिन हुनेलाई नगद फसल सुन्तला, अलैँची लगाउने ठाउँ प्रदान भए दु:खी-गरीवको ठूलो कल्याण हुने थियो भन्ने निवेदन राखियो । ऐले सुकुम्बासी पट्टा बाँडिदैछ | त्यस पछि हेरेर दिइनेछ भन्ने हुकुम भयो। दागापेलामा गाडीको बाटो नभएर त्यहाँका मानिसहरुले कैयौँ वर्षदेखि हरेक विकास निर्माणको काममा पिठ्युंका भरले काम गर्नु पर्दा ठूलो कष्ट बेहोर्नु परेको छ | त्यो दु:खलाई हेरी गाडीको बाटो ब्यवस्था होस् भन्ने निवेदन गरियो । कहाँबाट भन्ने प्रश्न भयो, कालिखोलाबाट भन्दा धेरै लामो व्याख्या गर्दै चिराङ् बाट दागापेलामा बाटो हुनेछ भन्ने हुकुम भयो । अरु के भनी प्रश्न गर्दा दागापेलामा महाराज धिराजको भ्रमण होस् जसले गर्दा दागापेलाका सम्पूर्ण बुढाबुढी- केटाकेटी सबै जनताले दर्शन पाउनेछन्, भन्दा हाँस्तै हाँस्तै “बाटो नभै म दागापेलामा आएँ भने, मेरो साथमा अरु धेरै मनिस आउनु पर्ने हुन्छ र धेरै जनतालाई दु:ख हुन्छ। त्यसोसले गाडीको बाटो बनिना साथ म दागापेला आउनेछु” भन्नु भयो ।

त्यसरी नै भेलाको अन्तिम हुँदै जाँदा बडो बेचैनीका साथ डासो लाम पेन्जोरको सङ्केतको बाटो हेरिरहेको थिएँ | उहाँले हातले इसारा गर्दै चडाउने सङ्केत दिनु भयो । (मनको भावना बुझ्ने, धन्य थिए स्व. डासो लाम पेन्जोर) सुन्तले रङ को कपडामा राखेको कोथिमुडा ब्यागबाट निकाली राजाका हातमा अर्पण गरियो । सबैको जय जयकार भयो। राजाले हातमा लिएर हेर्दैहेर्दै बाहिरिनु भयो र हामी पनि बहिर निस्क्यौँ । निस्कन साथ दक्षिण भुटानको ठूलो इज्जत राख्नु भयो भनी धेरैले प्रशंसाका शब्दहरु ले ढाप मारेको आलो याद आउँछ । सायद त्यसैको फल लागेर होला सर्वस्व गुमाएर निर्बासनमा जन्मभूमिको सम्झनाले तड्पीतड्पी दिनहरु बिताउनु परेको छ ।

पुन: सन् १९८३ मा महाराजधिराज जिग्मे सिङ्गे वाङ्चुकबाट डासो जङ्दा कर्मा शेर्पालाई ( हामी साथै थियौँ ) दागाजोङमा राष्ट्रिय दिवस मनाउन हुकुम भयो । त्यस बेलासम्म बाटो निर्माण कार्य पुरा भएको थिएन । त्यती बेला राती दिउँसो नभनी खटेको आलो सम्झना आउँछ , बल्ल रफटफ बाटो तयार भएको थियो । चिराङबाट दागापेला भएर दागाजोङ् जाने बाटो र त्यही बाटो चिराङबाट डुजेगाङ् चाङ्खा र बाना हुँदै दागाजोङ लाने । धेरै टाढाबाट शाखा सडक ल्याएर दागापेलालाई जोड्ने विषयमा धेरै लामो कथा, ब्यथा छ कहाँ भन्नु ? कसले सुनिदिने, त्यस मर्मलाई कसले बुझिदिने? विगतलाई अब बिर्सिसकेका छौँ सम्झने फुर्सद पनि कहाँ छ र अब ! डुजेगाङका गप चिमीहरुले बाटो दागापेला भएर दागाजोङ् गएकाले जहिले आफूमाथि निर्देशकलाई फकाएको भनी आरोप लगाइ रहे जोङ्दामार्फत राजालाई उजुरी चडाएकाले, राजाले निर्देशक दोजी नर्बुलाई बोलाई हामी सबै भएको ठाउँमा सोधपुछ गर्नु भयो | आफूलाई चिन्ता छ हाइरोडमा परिने हो कि, फिडररोडमा । पवित्र भावनाले सजाएको कलशको जल र जलाएको धुपकाँटीको भरले ईश्वर खुसी भएछन् क्यारे, बाटो दागापेला भएरै जाने फैसला भयो । किन भने तिनै निर्देशक संरेखण हेर्दै जोङबाट फिर्ती हुँदा अचानक थाहा पाएर गोशी अफिस छेउ बजारमा दर्शनभेट गरेका थियौँ। त्यही रात वहाँ साथै डासो कुन्जाङ डुङ्पा हामी टाशिदिन ब्लकमा बसी आफैँले जनताकोतर्फबाट निवेदन लेखी चाडाएका पनि थियौँ ।

सन् १९८३ मा स्वयं राजा राष्ट्रिय दिवस मनाउन दागापेला भएर हो ! त्यही बाटोबाट दागाजोङ जाँदा दागापेलामा त्यहाँका जनताले भब्य स्वागतको ब्यवस्था गरेका थिए । सुरक्षाकर्मीले पनि नियन्त्रण गर्नै नसक्ने गरी सम्पूर्ण जनताले गाडीबाट उत्रन साथ राजालाई हातैमा बोकेर ढोग्दै केही पर स्वस्तिक चिन्हसम्म पुर्याइ ठूलो श्रद्धा र भक्तिका साथ स्वागत गरेका थिए । स्वस्तिक चिन्हमा उभिएका राजालाई, पाँचकन्या द्वारा टिका ( आफ्नै घरमा गुथेका सयपत्री र मखमलीका माला ) गलामा लगाइदिएर , गुरु पन्डितजीहरुबाट स्वस्ति वाचन गर्दै मन्त्रद्वारा अभिशेक गरिएको थियो। यदी कसैले हेर्न चाहन्छ भने , राजाका गलामा लगाएका माला, हाम्रा मनिसका आँसुले भिजिरहेको देख्न सकिन्छ। लाग्छ यी अमिट छाप राजाको मनमा आलै होलान् ।
राष्ट्रिय दिवसका औसरमा जनताकोतर्फबाट के चडाउने भन्ने प्रश्नले पुन: आफैँले आफैँलाई दु:ख दिएर आफ्नै ब्यक्तिगत खर्चमा , ठूलो परिश्रमद्वारा , जनताको नाउमा एउटा सुन र चाँदीको रोगन लगाइएको धातुको फ्रेम बनाई चडाइएको थियो। सायद राजाप्रति जनताको श्रद्धाभक्तिले प्रभावित भएर हो या ईश्वर जानुन्, डुङ्पा र अरुहरुबाट आफूलाई अलग पारी जोङ्खा, अंग्रेजीमा सोधपूछ गर्दै अन्तमा उल्था गर्ने मनिस (श्री मानधोज तमाङ जस्तो लाग्छ ) बोलाउन लगाइयो । कुरा गर्दै जाँदा चित्त नबुझेर होला, स्व० श्री आर० बि० बस्नेतलाई र सायद भनेजस्तो नभएर होला, तेस्रो पल्ट डशो नादो रिन्छेनलाई उल्था गर्न लाएर, विकास र योजनाका कुरा गर्दै हुकुम भयो कि – यहाँ दागापेलामा एउटा ठूलो संस्कृत विश्वविद्यालय र मन्दिर बनिने छ। उस बेलामा लागेको हर्षको सीमा थिएन। निस्वार्थ जनताको हितको निम्ति जति प्रयास भएका थिए , धेरै नै तुब तुब भएका थिए । तर ती क्षणिक थिए, स्वप्न सरि थिए भन्ने कुरा कल्पनासम्म भएन । कहाँ र कुन ठाउँमा बनाउने सम्बन्धमा पछिपछि भित्रभित्रै तानातान हुँदै, पछि चिराङ (डम्फु) मा भएको ठूलो भेलामा राजाबाट पुन: हुकुम भयो “मेरो विचरमा दगापेलामै बनाएको ठीक छ | तपाईंहरु सल्लाह गरेर बीचमा जहाँ बनाउँदा ठीक हुन्छ बनाउनुहोस् ” । तन, मन, धन, बचन र भक्तिको शक्ति लगाएर भए पनि दागापेलामै बनियोस् भन्ने आफ्नो प्रयास !

सन् १९८७ को कुरा हो | एसेम्ली (तत्कालीन भूटानी परिप्रेक्ष्यमा विधानसभा सरह ) को समयमा वर्तमान प्रधानमन्त्री श्री जिग्मे वाइ थिन्ले शिक्षा विभागमा प्रमुख निर्देशक थिए । त्यही समयमा राजाबाट रातो कम्नी र डासो पदवी पाए श्री ठिन्लेले । त्यस खुसियालीमा समयको सदुपयोग गर्दै दागापेलाको जनताकोतर्फबाट वरदान माग्न त्यो बेलुकी सर्वप्रथम म एक्लै उहाँको घरमा पुगें । खाममा भेटी, एउटा राम्रो खादा तयारी गरेको थिएँ दिनलाई। तत्कालीन उप-गृहमन्त्री परिवार र राजपरिवारका पनि केही सदस्य थिए । खुसी भएर श्री जिग्मे वाइ ठिन्लेले केही सोधपुछ गरे | त्यही औसरमा खादा अर्पण गरियो । केही भन्नु छ भनी प्रश्न गर्दा भूमिका बाँधीवरी दागापेलामै विश्वविद्यालय बनिने कुराको वरदान माग्दा एकैचोटी “रिजालले मार्छ” भने । कुराकानी हुँदै जाँदा अन्तमा दागापेलामै बनिने कुरामा पक्का कोसिश गर्छु भनी वचन दिएका थिए । रातको प्राय: ११ बजेतिर आफैँ “ड्राइभ” गरी मेरो गन्तव्य ठाउँनेर छोडिदिएका थिए । त्यसबेला लागेको खुसीको वर्णन गरी साध्य छैन । जनताकै हित र बिकासको निम्ति कहिले काहीँ हामी साथी-भाइबीचमा शीतयुद्ध नै हुन्थ्यो । केही दिनपछि श्री रिजालजीले थाहा पाएर “जहाँ खायो त्यहीं हग्नु ल साथी ! लौ भइगयो” भन्ने वचन पनि खाइयो, किन भने म उनीसंगै बसेको थिएँ ।

अन्तमा दागापेलामै बनिने निश्चय भयो । उक्त विद्यालय बनाउने ठाउँको निम्ति सुन्तले ब्लकअन्तर्गत ब्रह्मलाल निरौलाको राम्रो जमिन तयार गरी नापजोख भइसकेको थियो । जुन ठाउँबाट दगापेलाको धेरै भाग हुँदै दागाजोङ र चिराङतिरको दृश्य पनि देख्न सकिन्थ्यो । काम थाल्नको निम्ति राजाबाट जोङ्दामार्फत पाँच लाख (५०००००) रुपैयाँ क्रमश: हस्तान्तरण गर्दै काठहरु कटाउन थालिसकिएको थियो। भाग्यवश भनौं या दुर्भाग्यवश भनौं आफ्नो पनि भर्खरै घर बनाइसकेको ठाउँ नजिकै सिमानामा पर्ने हुनाले, आफ्नो वृद्ध कालमा विद्यालय र मन्दिरको घण्टी, हाम्रा नानीहरुका पठनपाठनका आवाज, वेदका ध्वनि कानमा सुन्दैसुन्दै , जनता जनार्दन सम्झी भएका कामहरु, प्रयासहरु, उदाहरणसहित जहीँ तहीँ विकास भएर हाम्रा मानिसहरुले सुख र शान्ति पाएको देखेर अन्तिम सास फेर्ने मुटुभित्रका यस्ता धेरै-धेरै इच्छाहरु लथालिङ्ग भताभुङ्ग स्वप्न भएका छन् । त्यो समयमा लागेको खुसीको वर्णन गरी साध्य छैन । गहिरो छाप बसेको छ । त्यस बेलाको खुसी, अन्तत: आएर यसरी धेरैको आँसुमा परिणत होला भनेर कसैले कल्पना गरेको थिएन ।

अन्तिम समयसम्म पनि देश र जनताको हित सोचेर आफ्नो धर्म र कर्तब्य निभाएको आफूलाई पूर्ण विश्वास छ। यथार्थ उदाहरण कति दिउँ ? जो धेरै छन् । कसले सुनिदिने, कसले बुझिदिने, कसले न्याय दिने? । १९७९ देखि १९९० सम्मको अथवा आफ्नु कार्यकाल भरिको तारिक, बार र समय दैनिक बिहान देखि बेलुकीसम्म जनताहरुसँगको आफ्नो कृयाकलाप जस्ताको तस्तै आफ्ना विचारहरु दैनिकीमा समावेश गरेको थिएँ। लगभग तिनै ७-८ वटा डायरीको सुरक्षा गरी गोशी बजारको घरमा राखेको थियो। जब दागापेलामा शोषण, दमनको नीति बढ्न थाल्यो पूर्व-सैनिकहरुलाई काममा फर्काएर गाउँ घरका सिधासादा मनिसलाई हिंड्दै गरेको बेला कुटपिट गरी जहीँ तहीँ जनतामा ठूलो त्रास फैलिरहेको थियो , त्यहीँ सिलसिलामा गाउँकै एक पूर्व-सैनिकले त्यही गाउँका श्री रेतिलाल सुनारलाई राती घाँटीमा डोरिले बाँधी घिसार्दै एकान्त ठाउँमा खुकुरीले काटन आँट्दा घर परिवारको रुवाबासी थाहा पाएर स्व० श्री पुन्य ढकालजीको ठूलो प्रयासले मण्डल र हामीलाई खबर गरी राती गएर शान्त तरिकाले छुटाएर बचाउन सफल भयौँ ।

क्रमशः……….

श्री चौहान भूटानका पूर्व सांसद हुन् |