हालै दक्षिण एशियाको भ्रमणमा रहेकी एशियाली मामिलासम्बन्धी अमेरिकी विदेश उपमन्त्रिसमक्ष थिन्ले पेञ्जोर नेतृत्वको ड्रूक नेशलन कंग्रेस-प्रजातान्त्रिक (डीएनसी-डी)ले भूटानी शरणार्थी समस्याको न्यायिक तथा दीर्घकालीन समाधानको लागि पहल गर्न आग्रह गरेको छ ।
भूटानको दुई दिवसीय भ्रमणाका लागि शुक्रबार भारतबाट थिम्पू पुगेकी अमेरिकी वैदेशिक मामिलासम्बन्धी उपमन्त्रि मारिया ओटेरोलाई डीएनसी-डीले एउटा अपीलमार्फत सो आग्रह गरेको हो । भूटानी शरणार्थीहरूको उल्लेख्य संख्यालाई पुनर्स्थापित गराउन पहल गरेकोमा अमेरिकाको प्रशंसा गर्दै पुनर्स्थापित भएरै पनि स्वदेश फिर्न चाहनेहरूको अधिकारलाई सम्मान गर्न र अझै नेपालमा रहेका शरणार्थीहरूलाई ससम्मान स्वदेशफिर्तीको वातावरण बनाइदिनसमेत अपीलमा आग्रह गरिएको छ । यसै गरी सन् २००८ मा सम्पन्न निर्वाचनमा भूटान सरकारले करिब ८० हजार नागरिकहरूलाई मतदानको अधिकारबाट वञ्चित गरेको अभियोगसहित त्यहाँको निर्वाचन आयोगले राजतन्त्रको पक्षमा वकालत गर्ने राजनीतिक दलहरूलाई मात्र दर्ता गराएको समेत दाबी गरिएको छ । सो अपील नेपाल तथा भारतका लागि अमेरिकी राजदूतमार्फत मारियालाई पठाइएको डीएनसी-डीले जनाएको छ ।
