Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारतिहार यसपाली विश्वभरि मनाए भूटानीहरूले

तिहार यसपाली विश्वभरि मनाए भूटानीहरूले

वर्तमान परिवेशमा विश्वभरि छरिएर रहेका भूटानीहरूले विभिन्न कार्यक्रमहरूमार्फत भव्यताका साथ वार्षिक चाड तिहार मनाएका भूटान समाचार सेवाका सम्बन्धित क्षेत्र-प्रतिनिधिहरूले जनाएका छन् । 

अमेरिकाका विभिन्न राज्यस्थित प्रतिनिधिहरूले जनाएअनुसार केही राज्यमा पुनर्स्थापित भूटानीहरूले तिहार मनाउन सार्वजनिक भेला आयोजन गरे भने अधिकांश परिवारहरूले आ-आफ्नै भाडाका घर वा अपार्टमेन्टहरूमा पारिवारिक हिसाबले तिहार मनाए ।

समाचार स्रोतहरूका अनुसार केही राज्यका भूटानीहरू त कोषौं टाड़ासम्म पैदल हिँडेर पनि आफ्ना मित्रहरूका घर-डेरामा देउसी-भैली खेल्न पुगेका थिए ।

यसरी नै नेपालका शरणार्थी शिविहरूमा रहेका भूटानीहरूले पनि यसपालीको तिहार मनाएका हाम्रा समाचारदाताहरूले जनाएका छन् ।

क्यानाडास्थित हाम्रा समाचारदाता यादव नेउपानेका अनुसार त्यहाँ पुनर्स्थापित भूटानीहरूले विभिन्न कार्यक्रम गरी सामूहिक तिहार मनाए पनि अल्बर्टामा पुनर्स्थापित भूटानीहरूले आ-आफ्नै घर-डेरामा पारिवारिक तिहार मनाएका छन्। त्यहाँ धेरै युवा तथा बालबालिकाले भूटानीका अन्य अपार्टमेन्ट तथा घरहरूमा गई देउसी-भैलो खेलेका हाम्रा प्रतिनिधि लक्ष्मी तिमसिनाले जनाए ।

यसरी नै बेलायतको टोरोनो भन्ने स्थानका भूटानीहरूले नेपालमा भन्दा उत्कृष्ट तरिकाले तिहार मनाएका बताइएको छ । कृष्ण तिवारीले टोरोनोबाट जनाएअनुसार त्यहाँ युवाहरूको टोलीले मध्यम स्वरमा धेरै घरहरूमा गई देउसी खेलेका थिए। अझ अमेरिकाबाट निरु पौडेल तिहार मनाउनकै लागि त्यहाँ पुगेकीले तिहार अधिक रमाइलो बनेको तिवारीले बताए ।

सास्कातुनका भूटानीहरूले पनि यसरी नै सार्वजनिक देउसी र भैली खेलेर नेपालमाझैं तिहार मनाएका मंगलसिंह मगरले भूटान समाचार सेवालाई जनाएका छन्।  

यता क्युबेकमा रहेका भूटानीहरूले पनि उसैगरी देउसी-भैली खेल्दै तिहार मनाउँदै छिमेकी घरहरूमा देउसी खेलेर चार सय केनिडियन डलर संकलन गरेको त्यहाँका लोकनाथ मौतमले भूटान समाचार सेवालाई जानकारी दिए । यूरोपबाट तिहारबारे विस्तृत रिपोर्ट प्राप्त हुन अझ बाँकी नै   छ ।

यसैबीच भूटान मिडिया सोसाइटीले पनि उसको पूर्व सञ्चालित ‘शरणार्थी सरोकार’ नामक रेडियो कार्यक्रमको निरन्तरताका लागि आर्थिक लागत संकलन गर्ने उद्दश्यमा तिहारकै मौका पारि अनलाइन देउसी धमाका  जारी गरेको छ ।

अक्टोबर अथवा नोभेम्बर महिनाको सेरोफेरो मा आउने यो दीपावली अथवा बत्तीहरूको पर्व, फूलको महोत्सव  वा तिहार भनिने यो उत्सव दशैंभन्दा दोस्रो ठूलो चाडका रूपमा चिनिन्छ । पाँच दिनमा सकिने यो चाडमा नेपालीहरूले मूलरूपमा धनधान्यकी देवी लक्ष्मीको पूजा-अर्चना गर्छन् । घरहरू सफा, रंगरोगन गरिएका, चिटिक्क देखिने पारेपछि लक्ष्मीले सम्पन्नताको शुभाशिष दिने विश्वास गरिन्छ । त्यसर्थ घरका चौतर्फी बत्ती बालेर कुना कुना उज्यालो पारिएको हुन्छ ।  वस्त्रादि पनि नयाँ नयाँ लगाएर सबै सजिने र चेली-माइतीबीच सम्बन्ध प्रगाढ बनाउने  यो पौराणिक आस्थामा आधारित रहे पनि आज-भोलि सामाजिक एकताको धरोहर बन्दै गएको छ ।

यमपञ्चक (तिहार)-का पाँच दिनमध्ये शुरुका तीनदिनमा काग, कुकुर, गाई, गोरुलाई मानव सेवामा योगदान पुर्याएबापत पूजा गरी सम्मान र मिठो खान दिने गरिन्छ भने त्यसपछिका दुई दिनमा  धनकी देवी लक्ष्मी पुकार्दै सम्पन्नताको माग गरिन्छ भने अन्तिम दिनमा भाइ ( दाजु पनि) –को पूजा गरी चेलीहरूले आफ्नो रक्षार्थ भाइहरूमा सबल, सफल र दीर्घायुको कामना गर्छन् ।