केही साताअघि एउटी किशोरीको मृत्युको घटनालाई दोहोऱ्याउँदै खुदुनाबारी शिबिरमा फेरि अर्को दुर्घटना भएको छ । समयमा बिमारको पहिचान र उपचार हुन नसक्दा खुदुनाबारी, सेक्टर सी 1, छाप्रा नम्बर 49 का 40 वर्षीय भागिमान गुरुङको असामयिक मृत्यु भएको छ। शरणार्थीहरूको स्वास्थ्य रक्षामा काम गर्ने संस्था आम्दा-नेपालको चासो र संवेदनशीलता कम भएको कारण सो मृत्यु भएको परिवारजनको गुनासो छ।
हाम्रा शिबिर समाचारदाताका अनुसार बुधबार मुखबाट रगत आएपछि गुरुङ शिबिरस्थित स्वास्थ्य केन्द्रमा देखाउन गएका थिए। उनलाई ‘टी.बी.’ भएको आशंकामा अर्को दिन रगतजाँच गर्ने भनी स्वास्थ्य केन्द्रबाट फर्काइयो, बिहीबार बिहान 7.30 मा उनको मृत्यु भयो! खुदुनाबारी सचिव भानु ढुङ्गानाको भनाइमा गुरूङ स्वास्थ्य केन्द्रबाट फिरेपछि सिकिस्त भए। तर, ‘टीबीको आशंका’ भनिएकोले उनी तत्काल फेरि त्यहाँ गएनन्। जब बिहीबार बिहानै उनलाई स्वास्थ्य केन्द्र लगियो, शिविरमा उनको उपचार नहुने भएकोले उनलाई अन्यत्र पठाउने निधो भयो। यद्धपि, आम्दाका शिबिरस्तरीय कर्मचारी जफत सिंह राईले बिरामीको लागि आपत्कालीन एम्बुलेन्स बोलाउन मानेनन्। राईले बिरामीका परिवारजनलाई आम्दाको दैनिक कर्मचारी बोक्ने गाडी आउन्जेल, 8 बजेसम्म पर्खिन भने। तर, दुर्भाग्य! सिकिस्त भागिमान गुरुङले आम्दाको गाडी आउन्जेल पर्खन सकेनन्। सो गाडी आउनभन्दा एक घण्टाअघि नै उनले अन्तिम सास लिए।
भागिमान गुरुङको मृत्यु हुनासाथै आम्दाको लापरबाहीबाट आजित भएका शरणार्थीहरूले शिविरस्तरीय स्वास्थ्य केन्द्रअगाडि नारा तथा धरना दिँदा शिविर व्यवस्थापन समितिका कार्यकर्ता र सशस्त्र प्रहरीबलका जवानहरू आएर स्थिति नियन्त्रणमा नलिएसम्म त्यो स्थल केही क्षणलाई तनावग्रस्त पनि भयो।
आम्दा नेपालको भूटानी शरणार्थी प्रथमिक स्वास्थ्य शाखाकी परियोजना प्रबन्धक डा.मधुरिमा भाद्रले पनि गुरुङको मृत्युमा गम्भीर समवेदना प्रकट गरेकी छन्। ‘‘यस घटनामा प्रतिक्रिया दिनभन्दा पहिले म मेरो टीमले पठाएको रिपोर्ट हेर्छु,’’ घरविदामा रहेकी डा.भाद्रले भूटान समाचार सेवालाई भनिन्, ‘‘मैले सकेसम्म चाँडो सो घटनासम्बन्धी रिपोर्ट पठाउन भनेकी छु।’’ घटनासम्बन्धी छानबिन-अनुसन्धान गर्ने र यदि उपचारमा कमजोरी वा लापरबाही गरेको पाइएमा तत्काल आफ्ना कर्मचारीलाई कारबाही गर्ने आश्वासन पनि डा. भाद्रले दिएकी छन्।
‘‘समयमै सघन उपचारका निम्ति अन्यत्र पठाउने काम गरिएको भए गुरुङलाई मृत्युको मुखबाट जोगाउन सकिन्थ्यो,’’ डा. भाम्पा राईले भने,‘‘ग्यास्ट्रिकका पीडित रोगीहरूको पनि यस्तो संकेत हुनसक्छ र तत्काल मृत्यु हुनसक्छ, म यस घटनाको मूल्याङ्कन गर्छु र कमजोर पत्तो लाग्यो भने म पनि कडा गरी बोल्छु।’’
(हाम्रा समाचारदाता तिलक निरौलाको सहयोगमा)