- अर्जुन प्रधान
भूटानको राष्ट्रिय प्रतीक दिवसको उपलक्ष्यमा निर्वाशनका भूटानीहरुले राष्ट्रिय पोषाक तथा खेलकुद प्रदर्शनका साथ १०४ औं उत्सव सम्पन्न गरेका छन् । सन् १९०७ को १७ डिसेम्बरमा बाङचुक वंसजको वंशपरम्परा केन्द्रित राजतन्त्र शुरु भएको दिन हो । त्यसपछि १७ डिसेम्बरलाई भूटानले राष्ट्रिय दिवशको रुपमा मनाँउदै आएको छ ।
रोचकताका साथ, बेल्डाँगी शिविरमा गएको शनिबार मनाइएको यसपटकको राष्ट्रिय दिवसमा १०८ वर्षिय, सम्भवतः निर्वासनमा रहेका भूटानीहरूमध्ये ज्येष्ठ इन्द्र बहादुर सुब्बाले छ वटा दीप प्रज्वलन गरी सुख, शान्ति र संवृद्धिको कामना गर्दै ससम्मान स्वदेश फिर्तीको अभिलाषा व्यक्त गरेका थिए । पत्रकारहरुको प्रश्नमा सुब्बाले भने, “मेरो आजको उपस्थिति नै ससम्मान स्वदेश फिर्तीका लागि केन्द्रित होस् भनी हो ।” त्यसो त उपस्थित सहभागीहरुको एउटै आवाज थियो -“नेपाल भारत बाटो देऊ, भूटान माटो देऊ’’ । यो नारामा स्वदेशफिर्तीको उत्कट आशा र त्रिपक्षीय वार्ताको कामना पनि थियो ।
२२ वर्ष शरणार्थी शिविरमा कष्टकर जीवन यापन गरी स्वदेशफिर्तीको यात्रामा आश राखेका भूटानीहरुको आवाज विश्वमा फैलियोस् भन्छन् भूटान सोलिडारिटी समूहका प्रतिनिधि शैलेन्द्र सिंह अरोरा । अरोरा भन्छन्, “ निर्वाशनको प्रजातन्त्रिक अभियानलाई असफलताको यात्रामा पुर्याउने संयुक्त राष्ट्रसघंको प्रसार प्रचारले हो । तर एक दिन तपाईहरुलाई सरकारले आफ्नो नागरिक हो भनि जिम्मा बुझ्ने छ ।”
उपस्थित सहभागीहरुले निर्वाशनमा रहेका भूटानी पनि भूटानका नागरिक हुन भनी आवाज व्यक्त गरेका थिए । सहभागीहरुलाई सम्बोधन गर्दै भूटानी नेता डाक्टर भम्पा राईले भन्नु भयो, “ हरेक व्यक्तिमा परिभाषित नागरिकको पहिचान हुन्छ, तसर्थ नागरिकहरुले पनि राजा महाराजाले जस्तै गरी संविधानका अधिकारहरु उपभोग गर्न पाउँछन् ।” त्यस्तै भूटानी युवा नेता छवि खरेल भन्छन्, “राष्ट्रिय दिवश मनाउनु भनेको निरंकुश राजसत्ताले जग गाडेको दिनलाई निर्वाशनमा रहेका तपाई हामीले सम्वर्द्धन दिनुमात्र हो । तर, वाक स्वतन्त्रताको लडाइँ लड्न बाँकि नै छ, तसर्थ राजतन्त्रको स्थापना दिवस मनाएर केही हुनेवाला छैन, त्यसविरुद्ध लडाइँमा अग्रसर हुनुपर्छ ।”
कार्यक्रममा भूतपूर्व भूटानी सैनिक अधिकारी एनबी गिरी, भूपू सांसद नारदमुनी सन्याशी, टि.आर.रेग्मी, हर्कजोङ सुब्बा आदिले स्वदेशफिर्तीको आवाजमा मन्तव्य व्यक्त गरेका थिए । भूटानी नेता डाक्टर भम्पा राईको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा भूटानी ज्येष्ठ नागरिक, अधिकारकर्मी तथा राजनीतिक व्यक्तिहरु वक्ता थिए भने एक सय बढी भूटानीको सहभागिता थियो ।