सिन्सिन्याटी (ओहायो) । भूटानी अमेरिकी खेलकुद परिषद् (भूट्निज अमेरिकन स्पोर्ट्स काउन्सिल; बिएएससी) ले ९ औँ बिएएससी टुर्नामेन्ट जर्जियाको एट्लान्टामा गर्ने भएको छ । यसै साता जारी संस्थाको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो । विज्ञप्तिमा भनिएको छ, ” बिएएससीको हालैको बोर्ड बैठकले २०१९ जुलाई ५, ६ र ७ मा एट्लान्टा, जर्जियामा ९औं बिएएससीको राष्ट्रिय टुर्नामेन्टको आयोजना गर्ने निर्णय गरेको छ ।”
बिएएससीले गराउँदै आएको यो राष्ट्रिय फुटबल प्रतियोगिता (नेसनल सकर टुर्नामेन्ट) वर्षेनि हुन्छ । सन् २०१८ को आठौं टुर्नामेन्ट भूटनिज कम्युनिटी अफ सिन्सिन्याटी (बिसिसी) को आयोजनामा ओहायोको सिन्सिन्याटीमा जुलाई ६-८ मा भएको थियो । त्यसअघिका प्रतियोगिताहरू: टेक्सस, सियाटल, मिनेसोटा आदि स्थानमा भएका थिए ।
पछिल्लो समयमा संस्थाको पारदर्शितामा उठेका प्रश्नको जवाफ पनि उक्त विज्ञप्तिमा दिइएको छ, भनिएको छ, “बिएएससी बोर्ड सदस्यहरू पनि विभिन्न फुटबल खेलाडी, टोली कोच र टोलीका प्रबन्धकहरू आफ्नै खर्चमा यात्रा गर्ने गर्छन् । बिएएससीले सरकार वा कुनै सहयोगी संस्थाबाट कुनै आर्थिक-सहयोग वा अनुदान प्राप्त गरेको छैन । यसको मुख्य स्रोत यसको वार्षिक सदस्यता शुल्क (एक सय पच्चीस डलर) हो, जसले संस्थाका लागि कानुनी सेवा र अन्य आधारभूत सेवाहरूको शुल्क खर्च टार्न मद्दत गर्छ । बोर्ड सदस्यहरूको व्यक्तिगत योगदानको सहयोगमा हरेक वर्ष लाइफ-टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने गरेको छ ।”
विज्ञप्ति अगाडी भन्छ, “वार्षिक अन्तर-राज्यस्तरको टुर्नामेन्ट र ति कार्यक्रमहरूको आर्थिक पारदर्शिता छर्लङ्ग छ । आजसम्म संस्थाले कुनै पनि रकम आफ्ना लागि लिने गरेको छैन, तर आयोजक राज्यका आयोजक संस्थाहरू यसका लागि जिम्मेवार हुन सक्छन् कि सक्दैनन् भनि निश्चित गरेर टुर्नामेन्ट आयोजनाको जिम्मा लगाउने गरिएको छ । आयोजक राज्यका आयोजक संस्थाहरू आर्थिक सङ्कलनमा बिएएससीले दिएका दिशानिर्देशहरू कडा रूपमा पालना गर्दै आएको जानकारीसमेत गराइन्छ ।”
संस्थाले गत वर्षदेखि भूटानी शरणार्थी विद्यार्थीहरूलाई नेपालमा उच्च माध्यमिक शिक्षाको लागि आर्थिक सहयोग गर्दै आएको तथ्यसमेत विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
सन् २०११ मा बिएएससी सन् २०१६ मा गैरनाफामुखी संस्थाका रूपमा दर्ता भएको छ ।