Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसाझा भवन निर्माणार्थ एक लाख अधिक डलर संकलन

साझा भवन निर्माणार्थ एक लाख अधिक डलर संकलन

ह्यारिसवर्ग (पेन्सलभेनिया) । १९ जनवरी । 

नेपालीभाषी स्थानीय वासिन्दाहरूको आस्था र सामाजिक सद्भावनालाई कायम राख्तै स्थायित्व दिने उद्देश्यमा सक्रिय हिन्दू धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) ले एक महिनाव्यापी धनुर्मास व्रतकथा आयोजन गरेर धार्मिक/साझा सामाजिक भवन निर्माणका लागि एक लाखभन्दा बढी डलर-रकम संकलन गरेको छ ।

प्राप्त जानकारीअनुसार जनवरी १४, २०१९ मा आयोजित एक महिने श्री व्रतम् कथावाचन कार्यक्रम समापनको क्रममा ओएचआरसीका अध्यक्ष तुलाराम नेउपानेले सो जानकारी दिएका हुन् ।

Photo Courtesy: OHRC Harrisburg

हिन्दू धर्मदर्शन अथवा वैष्णव परम्पराअनुसार वृन्दावनमा श्री कृष्णद्वारा रचित रासलिलाझैं भगवान रंगनाथ र गोदा माताबीचको कथामहिमा दर्शाउँदै भक्तहरूलाई ईश्वरीय लिलाको प्रेरणा बुझाउने व्रतकथालाई श्री व्रतम् वा धनुर्मास कथा भनिन्छ ।

सो समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेउपानेले धनुर्मासको कथा शुरुदेखि समापनको दिनसम्म मन्दिर निर्माण अनुदान राशीमा कुल एक लाख दुइ हजार चार सय २१ डलर ७० सेन्ट्स संकलन भएको जनाएका ओएचआरसीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

Photo Courtesy: OHRC, Harrisburg

अध्यक्ष नेउपानेलाई उद्धृत गर्दै विज्ञप्तिमा जनाइएअनुसार एक महिने सो कार्यक्रममा उपस्थित श्रोता र दर्शनाभिलाशीले गरेको आर्थिक अनुदानका अतिरिक्त कथावाचक आचार्य स्वयंले एक हजार आठ (१००८) डलर मन्दिर निर्माण कोशमा दान गरेका थिए ।

”समाजका लागि भनेर एक महिनासम्म आफ्नो समयको नि:शुल्क लगानीका साथमा यसरी कार्यक्रम सकिएपछि आफ्नै तर्फबाट यति ठूलो रकम अनुदानमा प्रदान गरेर स्वामी चक्रपाणीले हाम्रो समाजका लागि एउटा बलियो उदाहरण पेश गर्नुभएको छ”, अध्यक्ष नेउपानेलाई उद्धृत गर्दै विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ”धार्मिक-सांस्कृतिक कार्यक्रमहरुमा पठन-पाठन तथा प्रवचन गर्ने धेरै गुरु-आचार्यमध्ये स्वामी श्री चक्रपाणी समाजमा नयाँ परम्पराको नजिर बसाल्ने एक सूत्रधार बन्नुभएको हामीले महसुस गरेका छौं । समाजलाई दिशानिर्देश गर्न चाहनेहरूले यसरी नै ऐतिहासिक अडान लिएर अघि बढ्नुपर्छ । यस्ता अनेक उदाहरणीय कार्यका साथै एकताबद्ध समाजको अस्तित्वनिर्माणमा महत्वपूर्ण योगदान गर्नुभएका स्वामीजीप्रति हामी विशेष आभार व्यक्त गर्दछौं ।”

पण्डित श्री चक्रपाणी आचार्य (सिताराम अधिकारीजी) बाट कथा प्रवचन भएको सो एक महिने कार्यक्रम ह्यारिसबर्ग नगरकै स्थानीय हरे-कृष्ण मन्दिरमा सम्पन्न भएको थियो भने समापन कार्यक्रममा एक महिनाभरि व्रतकथा व्यवस्थापनमा लगातार योगदान दिने महानुभावहरूलाई अभिनन्दन पनि गरिएको थियो ।

अभिनन्दित हुनेहरूमा कथावाचक गुरु स्वयं, स्वयंसेवी ठाकुर घिमिरे, कैलाश धिताल, श्याम धिताल र सुमन अधिकारी थिए ।

धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रमहरूको आयोजना गर्नलाई साझा सामाजिक भवन नभएका कारण हिन्दू-विशेष गरी नेपालीभाषीका सामाजिक/सांस्कृतिक महत्वका कार्यक्रमहरू गर्नै नसकिएको अवस्थामा अब चाँडै सो साझा भवन बन्ने आशा व्यक्त गर्दै सो भवन निर्माणका लागि प्रत्यक्ष/अप्रत्यक्ष योगदान गर्ने सबै व्यक्तित्वहरूलाई अध्यक्ष नेउपानेले धन्यवाद ज्ञापन गरेका पनि विज्ञप्तिमा उल्लेख छ ।

हिन्दू धर्म तथा संस्कृतिप्रेमी सारा स्थानीयवासीहरूका लागि हुने गरी ह्यारिसवर्गमा एउटा सामुदायिक भवन स्थापना गर्ने उद्देश्यमा नव-हरिहरधाम परियोजना लिएर ओएचआरसी द्रूत्ततर गतिमा केही वर्षदेखि नै क्रियाशील छ ।