ओहायो । पुनर्वासमा भाषा, संस्कृतिको रक्षा गर्ने सामूहिक अभियानअन्तर्गत ओहायो राज्यको सिन्सिन्याटीमा भूटानी समुदायले ‘हाम्रो नेपाली कक्षा’ को थालनी गरेका छन् । सिन्सिन्याटीमा बसोबास गर्ने भूटानी समूदायको आफ्नो स्थानीय संस्था भूट्निज कम्युनिटी अफ सिन्सिन्याटी (बिसिसी) ले यो कार्यारम्भ गरेको हो ।
डिसेम्बर १५ शनिबारका दिन समूदायकै कार्यालय भवनमा उक्त नेपाली भाषा-कक्षाको आरम्भ भएको छ । भाषा अभियन्ता डा. लक्ष्मीनारायण ढकालको मुख्य आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भयो । उपस्थित अभिभावक र कार्यकर्ताहरूलाई सम्बोधन गर्दै डा. ढकालले भन्नुभयो, ‘घर-परिवारमा आफ्ना नानीसँग भाषाको निरन्तर प्रयोग गरिरहनु र उनीहरूका लागि नेपाली भाषात्मक वातावरण निर्माण गरिदिनु हामी अभिभावकको प्रथम दायित्व हो । भाषा कक्षाहरूमा नानीहरूलाई ल्याउनु हाम्रो दोश्रो दायित्व हो ।’
उहाँले हाम्रो केन्द्रीकृत पाठ्यक्रम नभएको र विभिन्न प्रदेशमा आ-आफ्नै तरिकाले कक्षा संचालन भइरहेका हुँदा अब उसो हाम्रो उर्जा र अर्थको संरक्षण तथा संयोजन गर्न एकमुष्ट सहकार्य हुन जरूरी छ भन्दै सबैलाई आह्वान गर्नुभयो । ‘भाषा सिकाइका मनोवैज्ञानिक आधारहरूको चर्चा पनि गर्नुभयो र यसलाई आ-आफ्ना स्थानबाट निरन्तरता दिनुपर्छ । तत्कालका विभिन्न भूटानी लेखकद्वारा लिखित पाठ्यपुस्तकको प्रयोग गर्दै गरौँ भविष्यमा अन्य थप पुस्तक तथा डिजिटल पाठ्यक्रमका विधा तयार गर्ने दिशामा हामीले अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।
अर्का अथिति सदस्य बुद्धमणि ढकालले भाषा शिक्षणमा अभिभावकको ठूलो जिम्मेवारी रहेको र केवल शिक्षक तथा कार्यकर्ताले मात्र यो अभियान पूर्ण नहुने कुरा राख्नु भयो । विकसित देशहरूमा सामाजिक क्षेत्रमा जनताको आफ्नो लगानी हुन्छ र मात्र उक्त देशहरू यति अगाडी बढ्न सकेका हुन्,अत: भाषा संरक्षणमा हाम्रो तन, मन र धनको लगानी हुन आवश्यक छ भन्नुभयो ।
आरम्भमा बिसिसी अध्यक्ष प्रकाश गड्तौलालगायत अतिथिहरूद्वारा शिक्षण बोर्डको अनावरण गरियो । नानीहरूलाई डा. ढकालले नेपाली वर्णहरूको उच्चारण गराएर कक्षा आरम्भ गर्नुभयो भने संस्थाका सदस्यहरूद्वारा कापी-कलम वितरण गरियो । स्वयंसेवकद्वय गोविन्द सुवेदी र श्रीमती तिला फुँयलले बालबालिकाहरूलाई स्वयंसेवीका रूपमा अध्यापन गराउने बचनबद्धता जनाउनु भएको छ । कार्यक्रममा बिसिसीका कार्यकारी निर्देशक यादव सापकोटाले आगामी कार्य-योजना प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा समुदायमा आवद्ध कर्मचारी गोपाल फुँयल र परमानन्द बाँस्तोलाले घर-घरमा गएर नेपाली कक्षाको जानकारी तथा विद्यार्थी ल्याउनमा ठूलो भूमिका खेल्नु भएको थियो । पत्रकार हरि सुवेदीलगायत स्थानीय समाजसेवी तथा अभिभावकहरूको उपस्थिति थियो । पहिलो दिन ५५ जना नानीको उपस्थिति रहेको र अन्य थुप्रै अभिभावकहरूले ल्याउने बचनबद्धतामा नाम संकलन भएको छ । नेपाली कक्षा हरेक शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म बिसिसी कार्यालय (1253 Kemper Meadow Dr. Suite 325, Cincinnati) मा सञ्चालन गरिने छ ।
बिसिसीको स्थापना सन् २०१२ मा भएको हो । बृहत्तर सिन्सिन्याटी क्षेत्रमा बसाइँ सरेका कारण अहिले नेपाली-भाषी भूटानीको संख्या करिब २० हजार र ओहायोभर ४० हजारभन्दा बढी पुगेको अनुमान गरिदैंछ । तर अमेरिकी सरकारले ओहायो राज्यभरमा ९ हजार ३ सय ५४ लाई मात्र बसोबास गराएको हो । अहिलेसम्म अमेरिकाका विभिन्न ४१ राज्यमा ९६ हजारभन्दा बढी भूटानीको पुनर्स्थापना गरिएको छ ।
(खगेन्द्र भण्डारी ‘जन्तरे’ को सहयोगमा)