Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारसाहित्य परिषद्लाई नयाँ नेतृत्व

साहित्य परिषद्लाई नयाँ नेतृत्व

न्यु ह्याम्सर । भाषा-साहित्यसेवी गंगा लामिटारे (ओहायो, अमेरिका), साहित्य परिषद्, भूटानको अध्यक्षमा निर्वाचित हुनुभएको छ । परिषद्ले केही पदमात्र पूर्ति गर्न सकेको छ ।

हाललाई लक्ष्मण भण्डारी (भर्जिनिया, अमेरिका) कोषाध्यक्ष, पाठ्यक्रम विकासको निर्देशक खिम खतिवडा (मिनेसोटा, अमेरिका), र खगेन्द्र गौतम (क्यानडा डिरेक्टर) तथा दुर्गाप्रसाद रिमाल (अस्ट्रेलिया डिरेक्टर) मात्र छानिनुभएको छ । उपाध्यक्ष, सचिव, केही विभागका निर्देशक आदिको चयन बाँकी रहेको नयाँ अध्यक्ष लामिटारेले बताउनुभयो । अब युरोप, नेपाल, भारत, भूटान आदिका प्रतिनिधि पनि छानिनेछन् ।

‘तेस्रो मुलुक पुनर्स्थापनापछि अंग्रेजी-माध्यमले काम गर्न सजिलो भए पनि कालान्तरमा आफ्नो चिनारीका लागि नेपाली बचाउन जरूरी हुने भएकाले परिषद् यसतर्फ जुट्ने छ,’ अध्यक्ष लामिटारेले भूटान न्युज सर्भिसलाई भन्नुभयो । मुख्य रूपमा भाषा संरक्षणमा नै जुट्नु आवश्यकता भएको उहाँको बुझाइ छ ।

सन् १९९३ मा स्थापित साहित्य परिषद्, भूटान भूटानी साहित्यको सबैभन्दा जेठो संस्था हो । स्थापना हुँदा यसको नाम नेपाली भाषा परिषद्, भूटान थियो । शिविरमा परिषद्को परिकल्पना भारतस्थित ‘नेपाली साहित्य प्रचार समिति’ जस्तो गरिएको थियो । शिविरमा यसले १० हजारलाई साक्षर बनायो ।

सन् २००४ मा यस संस्थालाई नेपाली साहित्य परिषद्, भूटानमा रूपान्तरण गरियो । यसलाई सन् २०११ मा भूटान साहित्य परिषद्का रूपमा रुपान्तरित गरियो । सन् २०१४ को डिसेम्बरमा साहित्य परिषद्, भूटानले नयाँ निर्देशक–मण्डली (बोर्ड अफ् डाइरेक्टर्स) र कार्यसमितिसहितको नयाँ नेतृत्त्व पाएको थियो । संस्था ओहायोमा गैरनाफामुखी संस्थाका रूपमा दर्ता छ ।

परिषद्ले गत जून ९-१० मा ओहायो राज्यको सिन्सिन्याटीमा भूटानी साहित्य महोत्सव तथा साहित्य परिषद, भूटान सम्मेलन आयोजना गरेको थियो । सम्मेलनले शिवलाल दाहाललाई परिषद्को अन्तरिम नेतृत्व दिएको थियो ।
(तस्बिरमा घडी घुम्ने दिशामा क्रमश: लामिटारे, भण्डारी, खतिवडा, रिमाल र गौतम ।)