Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीमारुतीनन्दन पञ्चाङ्गमाथि कोलम्बसमा छलफल सम्पन्न

मारुतीनन्दन पञ्चाङ्गमाथि कोलम्बसमा छलफल सम्पन्न

नेपाली सम्वाददाता / कोलम्बस, ओहायो       

विगत पाँच वर्षदेखि प्रकाशनमा ल्याएको मारुतीनन्दन नेपाली पञ्चाङ्ग तथा भित्तेपात्रोको छैठौ प्रकाशन गत आइतबार (डिसेम्बर ८) एक समारोहबीच कोलम्बसस्थित बि. सी. सी. ओ. को कार्यालयमा सार्वजनिक गरियो । यस पञ्चाङ्गले जनमानसमा जन्माएको भ्रमलाई निवारण गर्न पनि यो कार्यक्रम राखिएको थियो । 

हिन्दु परम्पराअनुसार प्रयोग गरिने पञ्चाङ्गको भुटानी र नेपाली हिन्दुहरुले आफ्ना चाडपर्व र जन्म-मृत्युका संस्कार गर्न व्यापक प्रयोग गरिरहेको र अमेरिकाको भूमिमा यसको समय-सापेक्ष प्रयोग गरिनु पर्छ भन्ने मूल सन्देश जनाउन यो कार्यक्रम आयोजना गरिएको थियो ।  ज्योतिष तथा आध्यात्मिक अनुसन्धान केन्द्रका निर्देशक डा. लक्ष्मीनारायण ढकालका अनुसार नेपाल या भारतमा प्रयोगका लागि लेखिएका पञ्चाङ्गले अमेरिकी महादेशमा ज्योतिष गणना फरक हुने र तिथिहरूभिन्न ठाउँमा भिन्न समयमा पर्ने भएकाले यो पात्रो आवश्यक भएको हो । 

मारुतीनन्दन पञ्चाङ्गबारे धेरै भ्रम र प्रश्न भएको सन्दर्भमा पनि यो कार्यक्रम आयोजना गरिएको थियो ।  पञ्चाङ्ग लेखक ज्योतिष पद्मलाल ढकालले यी भ्रम र साधारण प्रयोगकर्ताले बुझ्नुपर्ने कुरालाई प्रष्ट पार्दै भन्नुभयो, “यो पात्रो अमेरिकाको पूर्वीय समय क्षेत्र (न्यु योर्क ) मा आधारित छ र पश्चिमका अरु समय क्षेत्रमा हुने प्रयोगकर्ताले दिएको फरक समय-तालिकाअनुसार यो पञ्चाङ्ग हेर्नु पर्छ।”

यस वर्षको पञ्चाङ्ग नेपाली नयाँ वर्षबाट शुरु हुने गरी बनाएकाले पन्ध्र महिनाको भएको जानकारी लेखक ज्योतिषी पद्मलाल ढकालले भेलामा गराउनु भयो । 

”तिथिहरू प्राय: अमेरिकी भू‍-भागमा पहिले नै आउने कारण उहाँले अक्षांश र देशान्तरका आधारमा गरिएको समय गणना, पृथ्वीको चक्रिय घुम्ने क्रिया र चन्द्रमाले पृथ्वीको वरिपरि घुम्दा बनिने कोणका आधारमा सुक्ष्म गणनाअनुसार निर्धारण गरिन्छ”, भन्नु भयो। 

सो कुराको पुस्टि गर्न नर्वेमा भएका रमेश गौतमले लेखेको अंग्रेजी सोध-लेखको सार बुद्धमणि ढकालले कार्यक्रममा प्रस्तुत गर्नुभयो । 

कार्यक्रमको अवसरमा मारुतीनन्दन पंन्चाङ्ग र भित्ते-पात्रो प्रकाशन समितिमा रहेर सल्लाह र सहयोग गर्ने ज्योतिषी लक्ष्मीनारायण मिश्र, भवानी बजगाईं, वयोवृद्द ज्योतिषी गोविन्द प्याकुरेल, निर्णायक समितिका सदस्य ज्यो. भिम प्र. लामीटारे र सह-सम्पादक ज्यो. राजेन्द्र खनाल र ज्योतिषी ओम नेपाललाई केन्द्रका तर्फबाट आभार-पत्र दिइएको थियो। 

पण्डित वेदनिधि सुवेदीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रम कोलम्बसबासी भुटानी समाजको तत्वाधानमा भएको थियो। 

आफ्नो मन्तव्यमा अतिथि वेदनिधि सुवेदीले मारुतीनन्दन पञ्चाङ्गले अमेरिकी समयअनुसारको गणना गरेर तिथि, मुहुर्त, पर्व किटान गरेकाले यसमा विवाद छैन भन्नुभयो, “त्यसै कारणले मैले अघि लेख्दै आएको भित्ते-पात्रोको कामसमेत उहाँहरुले नै गर्नुहोस भनेर जिम्मा लगाएको हुँ ।”

केन्टकी लुइभिल नगरमा कार्यालय रहेको ज्योतिष तथा आध्यात्मिक अनुसन्धान केन्द्रले सन् २०१५ यता पञ्चाङ्ग र भित्ते-पात्रो  प्रकाशन गर्दै आएको छ ।