सोह्रौ शताव्दीमा गोस्वामी तुलसीदासद्वरा रचित ‘श्रीरामचरितमानस ’ ग्रंथ विश्व प्रसिद्ध मधुरतम ग्रंथ हो।वर्तमान समयमा हिन्दू जगतमा सर्वाधिक लोकप्रिय रामचरितमानसले भक्तियोगको अद्भतु स्वरुपलाई सुमधुर शैलीमा उजागर गरेको छ। जसमा डुबेर करोडौं भक्तजनहरु आनन्दविभोर भएका छन्। सबै दर्शन र सबै शास्त्रको निचोड़ हो श्री रामचररतमानस । यो ग्रन्थ अबधि भाषामा तुलसीदासले रचना गर्नु भएको थियो । तर त्यो नेपालीहरुलाई बुझ्न अलि कठिन भएको हुँदा आचार्य तुलसीराम शर्माले जस्ताको तस्तै सम शैली र सम छन्दमा नेपाली भाषामा छाया अनुवाद गर्नु भएको छ। भखरै जन्मिएको नेपाली श्री रामचरितमानसलाई धेरै नेपाली गायकहरुले विभिन्न देशहरुबाट समु धुर आवाज़ले सजाइ सक्नु भएको छ।
नेपालको पूर्वांचल झापाको शताक्षी धाममा सम्पन्न उदाहरणीय ऐतिहासिक कोटि होम महायज्ञमा अन्तर्राष्ट्रीय वैदिक विद्वद् समाजका अध्यक्ष प्रवक्ता श्री घनश्याम खनालज्यूको विशेष पहलमा व्यासपीठबाट भागवत निकुन्ज ट्रष्ट वृन्दावनका सँस्थापक अनन्त श्री विभूषित सुप्रसिद्ध स्वामी भागवत शरण महाराजजीका श्रीमुखबाट कोकिलकण्ठीय सुमधुर आवाज़मा भएको संगीतमय पाठले नेपाली रामचरितमानसलाई गौरवान्वित तुल्याएको छ।अवधी भाषामा रचित विश्वकै सुन्दरतम महाकाव्य श्रीरामचरितमानस नेपाली भाषामा प्रकाशन भएको छ ।
आचार्य तुलसीराम शर्माद्वारा नेपालीमा समछन्द र समशैलीमा अनूदित नेपाली रामचरितमानसलाई हरिहर सन्न्यास आश्रम देवघाटले प्रकाशन गरी हरिहर मन्दिर धापासीमा एक समारोहबीच उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा लोकार्पण गरेको छ । मन्दिरका अध्यक्ष दिवाकर दाहालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा लोकार्पित काव्यमाथि प्रकाश पार्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले हरिहर आश्रमको यस प्रकाशनले नेपाली समाजलाई ठूलो गुन लगाएको बताउँदै ग्रन्थले जनजनमा पुगेर आदर्श नेपाली समाज निर्माण गर्न सकोस् भनी शुभकामनासमेत दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जजमान गुरुङले नेपालीमा रामचरितमानसको इतिहासलाई केलाउँदै प्रस्तुत ग्रन्थले नेपाली साहित्यको श्रीवृद्धिमा ठूलो योगदान पुर्याएको बताउनुभयो । यसैगरी, भारतीय राजदूतावासको प्रतिनिधित्व गर्दै प्रा. केदारनाथ शर्माले भारतीय राजदूतावास, भारतीय राजदूत र भारतीय जनताको तर्फबाट शुभकामना दिँदै भारतमा तुलसीदासद्वारा रचित यो ग्रन्थ नेपालमा तुलसीरामद्वारा अनुवाद हुनु अनौठो संयोग परेको उल्लेख गर्नुभयो । ‘जसरी भारतमा रामचरितमानसको लोकप्रियता र अनुष्ठेयता छ त्यसैगरी नेपालमा पनि नेपाली रामचरितमानसले लोकप्रियता प्राप्त गरोस् र घर–घरमा यसलाई गाइयोस्,’ शर्माले भन्नुभयो ।
यसैगरी, टोखा नगरपालिका धापासीका नगरप्रमुखले नेपाली भक्ति साहित्यमा यस ग्रन्थले वर्तमान युगको प्रतिनिधित्व गरेको बताउनुभयो । कार्यक्रममा कालिका संस्कृत विद्यापीठका प्राचार्य सह–प्रा. रामचन्द्र कँडेलले कार्यक्रममा स्वागत मन्तव्यका साथै परमानन्दीय परम्परा र अनुवादकको परिचय प्रस्तुत गर्नुभएको थियो । नेपाली रामचरितमानसका अनुवादक आचार्य तुलसीराम शर्माले सबै नेपालीभाषीलाई बुझ्न सजिलो होस् भनेर यो विश्वप्रसिद्ध सुमधुर काव्य नेपाली भाषामा जस्ताको तस्तै छन्दमा छायानुवाद गरिएको बताउनुभयो । यसैगरी, ग्रन्थका प्रधानसम्पादक सह–प्रा.डा वासुदेव खनालले यस महान् ग्रन्थको आफूलाई प्रधानसम्पादक बन्ने सौभाग्य प्राप्त भएकोमा खुुसी व्यक्त गर्दै सीता, जनक र जनकपुरधाम वर्णनद्वारा यस ग्रन्थले नेपाली मन–मुटुलाई छोएको बताउनुभयो ।
कार्यक्रमको शुभारम्भ परमानन्द संस्कृत गुरुकुलम्का वटुकहरूबाट स्वस्ति वाचनसहित प्रमुख अतिथिद्वारा पानसमा बत्ती बालेर गरिएको थियो भने लगत्तै पौराणिक मंगलाचरणको रूपमा प्रस्तुत ग्रन्थबाटै सुप्रसिद्ध साध्वीद्वय आचार्या सरस्वती चौलागाईं र आचार्या गार्गी चौलागाईंले सुमधुर रागमा दोहा चौपाई गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए । नेपाल टेलिभिजनका सदस्य–सचिव टंक पन्तद्वारा सञ्चालित सो कार्यक्रममा सिद्धाश्रम शक्ति केन्द्रका संयोजक रामजी अर्याललगायत धार्मिक साहित्यिक सामाजिक र राजनीतिक विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
श्रीरामचरितमानसका नेपाली अनुवादक शर्माको जन्म बाग्लुङमा भएको हो भने हाल अमेरिकाको डालसमा बस्दै आउनुभएको छ । यो पुस्तक अब छिटै नै अमाजोनबाट विश्वभरि नै प्राप्त गर्न सकिने अनुवादक शर्माले बताउनुभयो ।अहिले यस ग्रन्थको चर्चा नेपाल, भारत, भूटान र अमेरिका आदि देशका नेपाली भाषीहरुका बीचमा तीव्र रुपमा बढी रहेको छ।