Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीलेखनाथ जयन्ती सम्पन्न

लेखनाथ जयन्ती सम्पन्न

ह्यारिस्बर्गः २९ दिसम्बरः

आइतवारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५ औं लेखनाथ जयन्ती सम्पन्न गरेको छ ।

मातृभाषा संरक्षण समूहका संस्थापक अध्यक्ष धर्मेन्द्र तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न सो जयन्ती समारोहमा प्रिस्टाइन डे-केयरका टीका सुवेदी, त्रि.सा.म.का अध्यक्ष नवीन भट्टराई, कवि गण्डकी पुत्र, देविका बराल भण्डारीलगायतले विशेष अथितिको आसन लिएका थिए ।

गीतकार तथा गजलकार शेखर कोइरालाको संयोजनमा उद्घाटित सो कार्यक्रमले वैरागी माइलोद्वारा कवि लेखनाथको जीवनी पढेर सुनाइएपछि औपचारिकता लिएको थियो ।

कार्यक्रममा स्थानीय सामुदायिक संस्था बीसीएचको तर्फबाट पनि प्रतिनिधि सहभागिता जनाइएको थियो । बीसीएच प्रतिनिधि विनय लुइँटेलले समाजमा आपसी सहकार्य, भाषाको संरक्षण र साहित्यको उन्नतितर्फ विचार पुऱ्याउने मानिसहरुको संख्या कम भएकाले यसबारे चिन्तन गर्नुपर्ने बताए । यसरी नै अर्की बीसीएच प्रतिनिधि तिर्थ बाँस्तोलाले कवि पौडेलको ‘काल महिमा’ शीर्षकीय कविता पढेर सुनाएकी थिइन् ।

कवि पौडेलको सो स्मृति तथा जन्मजयन्ती समारोहमा प्रेम खनाल, देवी दाहाल ‘दागाने’, वैरागी माइलो, शेखर कोइराला, पातलो अन्तरे, पर्मा अधिकारी ‘कान्छा’, देविका बराल भण्डारी, डीबी सारु, एन्थन नेपाल, बालकृष्ण नेउपाने, खगेन्द्र रिजाललगायतले विभिन्न कविता, गजल तथा सांगीतिक प्रस्तुति दिएका थिए ।  यसरी नै कार्यक्रममा सबैभन्दा कम उमेरकी प्रस्तोता प्रशंसा आचार्यले पनि महाकवि लक्ष्मीप्रसाद दोवकोटाको ‘किसानको रहर’ कविता पढेर सुनाइन् !

“ राजा, रंक सबै समान उसमा वैसम्य गर्दैन त्यो…” को उद्घोष गर्दै कविता लेख्ने कविको जन्मजयन्ती न्यून सहभागिता भए पनि गजब प्रकृतिको थियो । स्रष्टा प्रेम खनालद्वारा प्रस्तुत ‘आफ्नै नेपाल प्यारो छ’ शीर्षकीय कविता र धर्मेन्द्र तिम्सिनाको ‘शरणार्थी’ कविता दुइ अलग चिन्तनधाराका थिए । विचारमा साँच्चै नै वैसम्य थियो र नै कार्यक्रमले नजाँनिदो ढंगमा ‘विभिन्नतामा एकताको नमूना’ पनि पेश गरिरहेको थियो । सर्जक नारद सुदामाद्वारा सञ्चालित सो कार्यक्रममा कवि गण्डकी पुत्रले साहित्यिक सहकार्य र सहिष्णुताको अभ्यासबारे चर्चा पनि उठाउनुभएको थियो । “अब भूटानी र नेपाली भनेर होइन, सिंगो अमेरिकन नेपाली समाज बनेर हामीले अब संयुक्तरूपमा साहित्यको खेती गर्नथालौं”, उहाँको भनाइ थियो !