Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचार"बधाई"भित्र-२

“बधाई”भित्र-२

….क्रमश:

दागापेलाका तत्कालिन डुङ्पा श्री ठिन्लेले आफूलाई बोलाएर ” तपाईंलाई उप-गृहमन्त्रीको सन्देश छ, यो समयमा सरकारलाई मद्दत गर्नु पर्यो सरकारले आवश्यक सुबिधा,सहयोग दिइनेछ” भन्नुभयो। उत्तरमा आफूले जहिले पनि आफ्नो देश र जनताकै हितमा यथार्थ दु:ख-सुख कुराकानी प्रस्तुत गर्दै आफ्नो कर्तब्य निभाएको मात्र हो, अन्यथा नलिन निवेदन टक्राउँदै बिदा लिएँ । जनताको अहितमा सोच्न नसक्ने आफ्नो प्रकृति भएकाले क्षमताअनुसार जीवनमा कमाएको यथार्थतालाई सक्नु थिएन, सुनुवाइ नभए पनि जनताकै हितमा कुरा गर्नु पर्दा , जीवन खतराको सङ्केत पाएर घर परिवारलाई अत्यन्तै संकटकालीन अवस्थामा छोडी लगभग राती १० बजे समयमा वृद्ध माताजी र घरपरिवारको रुवाबासी भइरहेको समय, सानो छोराको ” बाबा थिम्पुबाट मिटिङ सकेर छिट्टै आउनु ल ” भनेको त्यही आलो शब्द लिएर, पृथ्वी मातालाई ढोगी , मातृभूमिको सानो डल्लो झोलामा लिएर ईष्ट-मित्रहरुको सहयोगमा केही साथीहरुसँग बनबास को यात्रा शुरु गरेर १९९० मै निर्बासित हुन पुगियो ।

त्यसपछि भएका जटिल अवस्था र घटनाको बारेमा सुन्दा, जति वर्णन गरे पनि कमि नै हुन्छ, वर्णन गरी साध्य पनि छैन । श्रीमतीलाई बिमारी अवस्थामा छोडेको, ६० वर्षीय सिधा दाजुलाई बजारमा सैनिकले कुटेर दात फुकाली घरमा थला परेको, त्यही समय किरण गौतम (शिक्षक )लाई पनि बजारमा कुटेको खबर , मानिसहरुलाई पक्रेको, गुरु पण्डितहरुलाई पनि पक्रेर चेमगाङ जेलमा लगिएको र गाउँगाउँबाट अरु अरु ठाउँबाट पनि मनिसहरु पक्रेर जेलमा लगेको खबर, यातना पाएको खबर, श्री धर्मराज गुरुङ्लाई डम्फु जेलमा र स्व० श्री पुन्य ढकालको यातनाका कारण चेमगाङ जेलमा मृत्यु भएको यस्तै अरु धेरै ठाउँबाट शारिरीक र मानसिक रुपले यातना पाएको सुन्दा हृदय छियाछिया भयो। यस दुखद् अवस्थामा मेरो ईश्वरसंग प्रर्थना गर्नुबाहेक अरु केही उपाय थिएन।

घरमा वृद्ध माताजी बिरामी, श्रीमती र नानीहरु दु:ख आपदमा, सहयोग गर्ने कोही हुँदैनथ्यो रे । घरको भाइलाई पनि जेलमा लगिएछ। त्यही समयमा भाइका २ जना पाँच र सात वर्षका बच्चाहरुको मृत्यु भएछ । पक्रन्छ भनेर डरले घरमा कोही देखा पर्दैनथे रे । गाउँमा राखिएका चम्चाले, सैनिकले बोलाउन पठाको भन्ने खबर लिएर आफ्नो घरमा आउँदा बढेकी एउटा छोरी (जसका हातले पञ्चकन्याको रुपमा महाराजधिराज जिग्मे सिङ्गे वाङ्चुकलाई दागापेलामा आफ्नै घरमा आफ्नै हातले उनेको माला र टिका प्रदान गरी स्वागत गरेकी थिइन् ) र छोरा ( वर्तमान राजाको लुङ्तेनजाम्पा स्कुल “मेट” थियो) स्कुलबाट निकालिएर घरमै रहेछ | त्यसरी २ जना छोरा र छोरी आफ्नो ईज्जत र ज्यान जोगाउन आपद-बिपदमा रुँदै रुँदै राती नै भागेर केही दिनमा भारत हुँदै माई नदीको किनारमा आइपुगे ।

त्यसपछि उता श्रीमतीलाई बिमारी नै भए पनि मानसिक प्रताडना दिन धेरै पल्ट जोङ मा बोलाइएछ | भुटान नछोड्ने कुरा गर्दा अन्तमा १० दिनभित्र देश छोडिसक्नू भन्ने आदेस भएछ र खाली हात, वृद्ध माताजी, बिमारी , मसिना नानीहरुसँग रुँदै कराउँदै ४-५ दिनको पैदल बाटो हिँडेर कालिखोला, भारत हुँदै नेपालस्थित शनिश्चरे शिविरमा आइपुगे । सरकारबाट पहिला नै त्यो बजारको घरमा ताला लाग्यो रे, ती सबै डायरी सरकारले हेर्यो होला, ती प्रत्येक डायरी हेर्न हार्दिक अनुरोध गर्दछु । तीन पुस्तासम्म खुन पसिना बगाई आर्जन गरेको श्री सम्पत्ति सर्वस्वहरण भए पनि मेरो जीवनमा विशुद्ध भावनाले जनता र देशप्रति समर्पित भएर गरेको कर्तब्य र भएका भावनाहरु जस्ताको तस्तै तिनै डायरीमा समावेश गरेको थिएँ । आफ्ना कार्यकाल भरिका र अरु पनि जति कागज पत्र थिए, तिथि, मिति , कहाँ ,कहिले , के ,कस्ता इत्यादी इत्यादी। त्यो मेरो निम्ति सबैभन्दा ठूलो सम्पत्ति गुमाउनु परेको सम्झिरहेछु । जीवनमा हरेकका आ-आफ्नै इच्छा हुन्छन् त्यस अन्तर्गत आफ्नो अन्तिम इच्छाको रुपमा रहेको २ वटा मध्ये १, स्व० माताजीको नाउँमा किताव प्रकाशित गर्नु थियो। दागपेलाका धेरै मान्यजन, जसले माताजीलाई राम्ररी जान्दथे , अरु पनि इष्ट मित्रहरुले उहाँको बारेमा यथार्थ लेखहरु लेखिदिनु भएको थियो त्यसलाई उपहार सम्झी किताब प्रकाशित भइसकेको छ। अब रह्यो दोस्रो, भुटानी मातापिता, दाजुभाइ, दिदीबहिनीहरुसँग दु:ख सुख कोपवित्र यात्रा, त्यो ईश्वरको कृपा र ईष्टमित्रहरुको पवित्र भावनाको उपहार, आशिर्वादमा नै सफलता हुनेमा विश्वस्थ छु। यदी मैंले ती डायरीहरु पाउनु हो भने म आफैँले आफैँलाई फर्केर हेर्ने थिएँ कि बिहानदेखि बेलुकीसम्म कस्तो कस्तो सामाजिक कृयाकलाप र जनताप्रति कस्तो दृष्टिकोण र भावनामा दिन बिताए ? केही लेख्न सक्ने थिए । सर्वस्व गुमाएको ठूलो घाउमा मलमपट्टि हुने थियो होला ।

आफ्नो देशलाई प्राणभन्दा प्यारो, राजालाई विष्णु औतार सम्झिने आफू स्वयम्,आफ्ना परिवार साथै दागापेलाका हजारौँ अरु सिधासादा मानिसहरुले के अपराध गरेका थिए ? देशभरिका लाखौं मानिसहरु देशविहिन हुनु पर्यो। धेरैले जेलको यातना भोग्नु पर्यो , देशको निम्ति धेरैले जीवन बलिदान गर्नु पर्यो। याद आउँछ दागानामा राष्ट्रिय दिवस मनाएको दिन कार्यक्रम स्थलमा भेला भएका मानिसहरुकाबीचमा हामी एसेम्ब्ली मेम्बरहरुलाई पनि साथै बोलाएर राजा घुम्दै जाँदा हाम्रा मनिसहरु प्रत्येकले पुष्प, अक्षता, भेटी राजाका हातमा चढाउँदै ढोग्दा, हाँस्तै ” यसरी सबै जनताले पैसा दिए भनेता म त भयङ्कर धनी हुने रहेछु ” राजाले भने । यस्ता श्रद्धाले भरिपूर्ण भएका सिधासादा मानिसहरुले आफ्नो खुन पसिना बगाएको जन्मभूमिमा बाँच्न र दिन पुगेर मर्न पाएनौ हाम्रो राजा भन्दा भन्दै पनि आफ्नै देशमा बस्न पाएनौँ कस्तो विडम्वना ? देश हराभरा बनाएपछि उखान झैँ “काम सर्यो भाँडो, आफल तेरो ठाँडो” भने झैँ भयो ।

१९९० मा राजा र उप-गृहमन्त्रीको दागापेलामा भ्रमण भएको थियो, त्यहाँका प्रत्येक घरका मनिसहरु भेला हुनु पर्ने हुकुम थियो । गोशी स्कुलको मैदानमा, मनिसहरुको अत्यन्तै ठूलो उपस्थितिमा , श्री टेकनथ रिजालज्यूको विरुद्धमा भाषण भयो, पम्प्लेट बाँडियो । जनताकोतर्फबाट सभामा बोल्ने १० जना घुमाई फिराइ छानिएको थियो, जसमा केही मन्डल पनि थिए । आफूलाई त्यसभित्र पारिएन, त्यहाँ जनताको पक्षमा बोल्ने आट गर्नु पनि अति कठिनको कुरा र भयङ्कर वातावरण थियो। तथापि चित्त नबुझी, सत्य र साँचो कुरालाई प्रकट गर्दा जो हुन्छ इश्वर जानुन् भन्ने सम्झी जनप्रतिनिधिको हैसियत हराइ सकेको भए पनि, अन्तिम समयसम्म पनि जनप्रतिनिधिको हैसियत र धर्मलाई पालन गर्दै जस्ताको तस्तै यिनै बिन्ती जवर्जस्ती पाराले बिसाइयो । १) राष्ट्रिय पोशाक बख्खुलाई अफिस र जोङमा मात्र अनिवार्य लागु भए जनताको निम्ति ठूलो कल्याण हुने थियो । २) चुनिडोम र सेप्तोलोमी ( झारा झारलङे ) तिर्दातिर्दै साधारण खेतिवाल मनिसहरुले राम्रो खेती किसानी गर्न पनि पाएका छैनन् । राजनीति के हो तिनीहरु कसैलाई केही थाहा छैन। ३) धेरै जसो मानिसहरुले टेकनाथ रिजाललाई राम्रो चिनेका पनि छैनन् । यस्ता सिधासादा मानिसहरुलाई कुनै प्रकारको प्रताडित नहोस् सरकार ! भनी बिन्ती चडाइयो । आफ्नो वक्तब्यमा दागानाका धेरै मित्रहरु, खिबेसा मण्डल र अरु पनि एकदमै डराएका थिए । आफूसँग कुनै क्लेश थिएन, आफ्नो कर्तब्य र धर्म पालन गर्दा जो होला भन्ने थियो । अन्तमा परिस्थितिवश ज्यान जोगाउन सर्वस्व गुमाएर भाग्नु पर्यो ।

इश्वरले बचाउन त बचाए तर तर कथा ब्यथाले पीडित,देशविहिन भएर १९ वर्षसम्म शरणार्थी शिविरमा कष्टकर दिन बिताएर आफ्नो जन्मभूमि साथै खुन पसिना बगाएको ठाउँ कर्मभूमि भुटान फर्कने आशाले बचेँका दुर्भाग्यवश, आ-आफ्नै डम्फु बजाएर होकी, अन्तर हृदयबाट एकता भई केही गर्न सकेनौ त्यो एउटा परिस्थिति नै भनौँ विकल्पको बाटो लिन बाध्य भएर बिउ छरिए झैँ विभिन्न देशमा छरिन पुग्यौँ ।

सात समुन्द्रपारि नै रहे पनि समुन्द्रले मनलाई रोक्न सक्दैन रहेछ । देशबाट लखेटिएर अश्रुपूर्ण दिनहरु बिताउनु परे पनि, हाम्रा पलामा जन्मभूमि र जनताकै हितमा, समर्पित भएर ल्याएका विकाशका योजनाहरु, खुन पसिना बगाएर हाम्रा मानिसरुले गरेका कामहरु, थालनी गरेका कामहरु, एकदिन जनतालाई सुख होला भनेर ठूलो प्रयासद्वारा भएका पारित विकाशका योजनाहरुको कार्यन्वयन भएको देख्न र त्यसको उपभोग गर्न नपाए पनि, आफ्नो जन्मभूमि तथा देशको माया, भएको प्रगति र त्यहाँका जनताले प्रजातन्त्रको उपभोग गर्दै, सुख, शान्तिले बाँचेको देख्न र सुन्न पाए हुन्थ्यो भन्ने भित्र आत्माले चाहन्छ ।

साथै उपरोक्त विश्वविद्यालयका सम्बन्धमा स्वयं प्रधानमन्त्रीज्यूलाई, सम्पूर्ण जानकारी भएकाले , यो स्वयं राजाको हुकुम थियो, प्रधानमन्त्री श्री जिग्मे वाइ ठिन्लेको वचन थियो । त्यसैले शिक्षामन्त्रीका हैसियतमा ल्यन्पो पौड्याल कै पलामा उक्त विश्वविद्यालय दागपेलामै बनिने छ भन्नेमा प्रतिक्षा गर्न सकियोस् । हेरौँ त्यहाँ साँच्चै प्रजातान्त्रिक परिवर्तन र विकास हुन थालेको हो भने, सुन्दै अनि देख्तै जानेछौँ ।

यसै सिलसिलामा (बि.एन्.एस्) मार्फत प्रधानमन्त्रीज्यूलाई पनि प्रजातान्त्रिक प्रधानमन्त्री हुनु भएकोमा परिस्थितिवश ढिलै भए पनि बधाई दिँदै निर्बासित हामी सम्पूर्ण भुटानीहरु यहाँलाई के अनुरोध गर्छौ भने हाम्रो देशमा धेरै नै परिवर्तन आउँदैछ रे भन्ने सुन्नमा आएकोले , साँच्चै हो भने , देशको माया गर्ने, देशबाट खेदिएका भुटानी जनता जहीँ रहे पनि इच्छा हुनेलाई स-सम्मान आफ्नो देश फर्किने वातावरण बनोस् । सरकारबाट फर्काउने घोषणा गरियोस् । जसले गर्दा भुटान देश , बुद्धको उपदेश , एउटा शान्तिको नमूना बन्नेछ । यदी यो जन्ममा हामीले साँचो न्याय पाउन सकेनौँ भने पनि (जिच मिला रेपाको कथा झैँ) इश्वरको न्यायलयमा अवश्य नै उचित न्याय पाउनेछौँ भन्ने पूर्ण विश्वाश छ । ईश्वरले सबैलाई सदबुद्धि देउन् |

(समाप्त )

श्री चौहान भूटानका पूर्व सांसद हुन् |