“बधाई”भित्र-२

26644
732

….क्रमश:

दागापेलाका तत्कालिन डुङ्पा श्री ठिन्लेले आफूलाई बोलाएर ” तपाईंलाई उप-गृहमन्त्रीको सन्देश छ, यो समयमा सरकारलाई मद्दत गर्नु पर्यो सरकारले आवश्यक सुबिधा,सहयोग दिइनेछ” भन्नुभयो। उत्तरमा आफूले जहिले पनि आफ्नो देश र जनताकै हितमा यथार्थ दु:ख-सुख कुराकानी प्रस्तुत गर्दै आफ्नो कर्तब्य निभाएको मात्र हो, अन्यथा नलिन निवेदन टक्राउँदै बिदा लिएँ । जनताको अहितमा सोच्न नसक्ने आफ्नो प्रकृति भएकाले क्षमताअनुसार जीवनमा कमाएको यथार्थतालाई सक्नु थिएन, सुनुवाइ नभए पनि जनताकै हितमा कुरा गर्नु पर्दा , जीवन खतराको सङ्केत पाएर घर परिवारलाई अत्यन्तै संकटकालीन अवस्थामा छोडी लगभग राती १० बजे समयमा वृद्ध माताजी र घरपरिवारको रुवाबासी भइरहेको समय, सानो छोराको ” बाबा थिम्पुबाट मिटिङ सकेर छिट्टै आउनु ल ” भनेको त्यही आलो शब्द लिएर, पृथ्वी मातालाई ढोगी , मातृभूमिको सानो डल्लो झोलामा लिएर ईष्ट-मित्रहरुको सहयोगमा केही साथीहरुसँग बनबास को यात्रा शुरु गरेर १९९० मै निर्बासित हुन पुगियो ।

त्यसपछि भएका जटिल अवस्था र घटनाको बारेमा सुन्दा, जति वर्णन गरे पनि कमि नै हुन्छ, वर्णन गरी साध्य पनि छैन । श्रीमतीलाई बिमारी अवस्थामा छोडेको, ६० वर्षीय सिधा दाजुलाई बजारमा सैनिकले कुटेर दात फुकाली घरमा थला परेको, त्यही समय किरण गौतम (शिक्षक )लाई पनि बजारमा कुटेको खबर , मानिसहरुलाई पक्रेको, गुरु पण्डितहरुलाई पनि पक्रेर चेमगाङ जेलमा लगिएको र गाउँगाउँबाट अरु अरु ठाउँबाट पनि मनिसहरु पक्रेर जेलमा लगेको खबर, यातना पाएको खबर, श्री धर्मराज गुरुङ्लाई डम्फु जेलमा र स्व० श्री पुन्य ढकालको यातनाका कारण चेमगाङ जेलमा मृत्यु भएको यस्तै अरु धेरै ठाउँबाट शारिरीक र मानसिक रुपले यातना पाएको सुन्दा हृदय छियाछिया भयो। यस दुखद् अवस्थामा मेरो ईश्वरसंग प्रर्थना गर्नुबाहेक अरु केही उपाय थिएन।

घरमा वृद्ध माताजी बिरामी, श्रीमती र नानीहरु दु:ख आपदमा, सहयोग गर्ने कोही हुँदैनथ्यो रे । घरको भाइलाई पनि जेलमा लगिएछ। त्यही समयमा भाइका २ जना पाँच र सात वर्षका बच्चाहरुको मृत्यु भएछ । पक्रन्छ भनेर डरले घरमा कोही देखा पर्दैनथे रे । गाउँमा राखिएका चम्चाले, सैनिकले बोलाउन पठाको भन्ने खबर लिएर आफ्नो घरमा आउँदा बढेकी एउटा छोरी (जसका हातले पञ्चकन्याको रुपमा महाराजधिराज जिग्मे सिङ्गे वाङ्चुकलाई दागापेलामा आफ्नै घरमा आफ्नै हातले उनेको माला र टिका प्रदान गरी स्वागत गरेकी थिइन् ) र छोरा ( वर्तमान राजाको लुङ्तेनजाम्पा स्कुल “मेट” थियो) स्कुलबाट निकालिएर घरमै रहेछ | त्यसरी २ जना छोरा र छोरी आफ्नो ईज्जत र ज्यान जोगाउन आपद-बिपदमा रुँदै रुँदै राती नै भागेर केही दिनमा भारत हुँदै माई नदीको किनारमा आइपुगे ।

त्यसपछि उता श्रीमतीलाई बिमारी नै भए पनि मानसिक प्रताडना दिन धेरै पल्ट जोङ मा बोलाइएछ | भुटान नछोड्ने कुरा गर्दा अन्तमा १० दिनभित्र देश छोडिसक्नू भन्ने आदेस भएछ र खाली हात, वृद्ध माताजी, बिमारी , मसिना नानीहरुसँग रुँदै कराउँदै ४-५ दिनको पैदल बाटो हिँडेर कालिखोला, भारत हुँदै नेपालस्थित शनिश्चरे शिविरमा आइपुगे । सरकारबाट पहिला नै त्यो बजारको घरमा ताला लाग्यो रे, ती सबै डायरी सरकारले हेर्यो होला, ती प्रत्येक डायरी हेर्न हार्दिक अनुरोध गर्दछु । तीन पुस्तासम्म खुन पसिना बगाई आर्जन गरेको श्री सम्पत्ति सर्वस्वहरण भए पनि मेरो जीवनमा विशुद्ध भावनाले जनता र देशप्रति समर्पित भएर गरेको कर्तब्य र भएका भावनाहरु जस्ताको तस्तै तिनै डायरीमा समावेश गरेको थिएँ । आफ्ना कार्यकाल भरिका र अरु पनि जति कागज पत्र थिए, तिथि, मिति , कहाँ ,कहिले , के ,कस्ता इत्यादी इत्यादी। त्यो मेरो निम्ति सबैभन्दा ठूलो सम्पत्ति गुमाउनु परेको सम्झिरहेछु । जीवनमा हरेकका आ-आफ्नै इच्छा हुन्छन् त्यस अन्तर्गत आफ्नो अन्तिम इच्छाको रुपमा रहेको २ वटा मध्ये १, स्व० माताजीको नाउँमा किताव प्रकाशित गर्नु थियो। दागपेलाका धेरै मान्यजन, जसले माताजीलाई राम्ररी जान्दथे , अरु पनि इष्ट मित्रहरुले उहाँको बारेमा यथार्थ लेखहरु लेखिदिनु भएको थियो त्यसलाई उपहार सम्झी किताब प्रकाशित भइसकेको छ। अब रह्यो दोस्रो, भुटानी मातापिता, दाजुभाइ, दिदीबहिनीहरुसँग दु:ख सुख कोपवित्र यात्रा, त्यो ईश्वरको कृपा र ईष्टमित्रहरुको पवित्र भावनाको उपहार, आशिर्वादमा नै सफलता हुनेमा विश्वस्थ छु। यदी मैंले ती डायरीहरु पाउनु हो भने म आफैँले आफैँलाई फर्केर हेर्ने थिएँ कि बिहानदेखि बेलुकीसम्म कस्तो कस्तो सामाजिक कृयाकलाप र जनताप्रति कस्तो दृष्टिकोण र भावनामा दिन बिताए ? केही लेख्न सक्ने थिए । सर्वस्व गुमाएको ठूलो घाउमा मलमपट्टि हुने थियो होला ।

आफ्नो देशलाई प्राणभन्दा प्यारो, राजालाई विष्णु औतार सम्झिने आफू स्वयम्,आफ्ना परिवार साथै दागापेलाका हजारौँ अरु सिधासादा मानिसहरुले के अपराध गरेका थिए ? देशभरिका लाखौं मानिसहरु देशविहिन हुनु पर्यो। धेरैले जेलको यातना भोग्नु पर्यो , देशको निम्ति धेरैले जीवन बलिदान गर्नु पर्यो। याद आउँछ दागानामा राष्ट्रिय दिवस मनाएको दिन कार्यक्रम स्थलमा भेला भएका मानिसहरुकाबीचमा हामी एसेम्ब्ली मेम्बरहरुलाई पनि साथै बोलाएर राजा घुम्दै जाँदा हाम्रा मनिसहरु प्रत्येकले पुष्प, अक्षता, भेटी राजाका हातमा चढाउँदै ढोग्दा, हाँस्तै ” यसरी सबै जनताले पैसा दिए भनेता म त भयङ्कर धनी हुने रहेछु ” राजाले भने । यस्ता श्रद्धाले भरिपूर्ण भएका सिधासादा मानिसहरुले आफ्नो खुन पसिना बगाएको जन्मभूमिमा बाँच्न र दिन पुगेर मर्न पाएनौ हाम्रो राजा भन्दा भन्दै पनि आफ्नै देशमा बस्न पाएनौँ कस्तो विडम्वना ? देश हराभरा बनाएपछि उखान झैँ “काम सर्यो भाँडो, आफल तेरो ठाँडो” भने झैँ भयो ।

१९९० मा राजा र उप-गृहमन्त्रीको दागापेलामा भ्रमण भएको थियो, त्यहाँका प्रत्येक घरका मनिसहरु भेला हुनु पर्ने हुकुम थियो । गोशी स्कुलको मैदानमा, मनिसहरुको अत्यन्तै ठूलो उपस्थितिमा , श्री टेकनथ रिजालज्यूको विरुद्धमा भाषण भयो, पम्प्लेट बाँडियो । जनताकोतर्फबाट सभामा बोल्ने १० जना घुमाई फिराइ छानिएको थियो, जसमा केही मन्डल पनि थिए । आफूलाई त्यसभित्र पारिएन, त्यहाँ जनताको पक्षमा बोल्ने आट गर्नु पनि अति कठिनको कुरा र भयङ्कर वातावरण थियो। तथापि चित्त नबुझी, सत्य र साँचो कुरालाई प्रकट गर्दा जो हुन्छ इश्वर जानुन् भन्ने सम्झी जनप्रतिनिधिको हैसियत हराइ सकेको भए पनि, अन्तिम समयसम्म पनि जनप्रतिनिधिको हैसियत र धर्मलाई पालन गर्दै जस्ताको तस्तै यिनै बिन्ती जवर्जस्ती पाराले बिसाइयो । १) राष्ट्रिय पोशाक बख्खुलाई अफिस र जोङमा मात्र अनिवार्य लागु भए जनताको निम्ति ठूलो कल्याण हुने थियो । २) चुनिडोम र सेप्तोलोमी ( झारा झारलङे ) तिर्दातिर्दै साधारण खेतिवाल मनिसहरुले राम्रो खेती किसानी गर्न पनि पाएका छैनन् । राजनीति के हो तिनीहरु कसैलाई केही थाहा छैन। ३) धेरै जसो मानिसहरुले टेकनाथ रिजाललाई राम्रो चिनेका पनि छैनन् । यस्ता सिधासादा मानिसहरुलाई कुनै प्रकारको प्रताडित नहोस् सरकार ! भनी बिन्ती चडाइयो । आफ्नो वक्तब्यमा दागानाका धेरै मित्रहरु, खिबेसा मण्डल र अरु पनि एकदमै डराएका थिए । आफूसँग कुनै क्लेश थिएन, आफ्नो कर्तब्य र धर्म पालन गर्दा जो होला भन्ने थियो । अन्तमा परिस्थितिवश ज्यान जोगाउन सर्वस्व गुमाएर भाग्नु पर्यो ।

इश्वरले बचाउन त बचाए तर तर कथा ब्यथाले पीडित,देशविहिन भएर १९ वर्षसम्म शरणार्थी शिविरमा कष्टकर दिन बिताएर आफ्नो जन्मभूमि साथै खुन पसिना बगाएको ठाउँ कर्मभूमि भुटान फर्कने आशाले बचेँका दुर्भाग्यवश, आ-आफ्नै डम्फु बजाएर होकी, अन्तर हृदयबाट एकता भई केही गर्न सकेनौ त्यो एउटा परिस्थिति नै भनौँ विकल्पको बाटो लिन बाध्य भएर बिउ छरिए झैँ विभिन्न देशमा छरिन पुग्यौँ ।

सात समुन्द्रपारि नै रहे पनि समुन्द्रले मनलाई रोक्न सक्दैन रहेछ । देशबाट लखेटिएर अश्रुपूर्ण दिनहरु बिताउनु परे पनि, हाम्रा पलामा जन्मभूमि र जनताकै हितमा, समर्पित भएर ल्याएका विकाशका योजनाहरु, खुन पसिना बगाएर हाम्रा मानिसरुले गरेका कामहरु, थालनी गरेका कामहरु, एकदिन जनतालाई सुख होला भनेर ठूलो प्रयासद्वारा भएका पारित विकाशका योजनाहरुको कार्यन्वयन भएको देख्न र त्यसको उपभोग गर्न नपाए पनि, आफ्नो जन्मभूमि तथा देशको माया, भएको प्रगति र त्यहाँका जनताले प्रजातन्त्रको उपभोग गर्दै, सुख, शान्तिले बाँचेको देख्न र सुन्न पाए हुन्थ्यो भन्ने भित्र आत्माले चाहन्छ ।

साथै उपरोक्त विश्वविद्यालयका सम्बन्धमा स्वयं प्रधानमन्त्रीज्यूलाई, सम्पूर्ण जानकारी भएकाले , यो स्वयं राजाको हुकुम थियो, प्रधानमन्त्री श्री जिग्मे वाइ ठिन्लेको वचन थियो । त्यसैले शिक्षामन्त्रीका हैसियतमा ल्यन्पो पौड्याल कै पलामा उक्त विश्वविद्यालय दागपेलामै बनिने छ भन्नेमा प्रतिक्षा गर्न सकियोस् । हेरौँ त्यहाँ साँच्चै प्रजातान्त्रिक परिवर्तन र विकास हुन थालेको हो भने, सुन्दै अनि देख्तै जानेछौँ ।

यसै सिलसिलामा (बि.एन्.एस्) मार्फत प्रधानमन्त्रीज्यूलाई पनि प्रजातान्त्रिक प्रधानमन्त्री हुनु भएकोमा परिस्थितिवश ढिलै भए पनि बधाई दिँदै निर्बासित हामी सम्पूर्ण भुटानीहरु यहाँलाई के अनुरोध गर्छौ भने हाम्रो देशमा धेरै नै परिवर्तन आउँदैछ रे भन्ने सुन्नमा आएकोले , साँच्चै हो भने , देशको माया गर्ने, देशबाट खेदिएका भुटानी जनता जहीँ रहे पनि इच्छा हुनेलाई स-सम्मान आफ्नो देश फर्किने वातावरण बनोस् । सरकारबाट फर्काउने घोषणा गरियोस् । जसले गर्दा भुटान देश , बुद्धको उपदेश , एउटा शान्तिको नमूना बन्नेछ । यदी यो जन्ममा हामीले साँचो न्याय पाउन सकेनौँ भने पनि (जिच मिला रेपाको कथा झैँ) इश्वरको न्यायलयमा अवश्य नै उचित न्याय पाउनेछौँ भन्ने पूर्ण विश्वाश छ । ईश्वरले सबैलाई सदबुद्धि देउन् |

(समाप्त )

श्री चौहान भूटानका पूर्व सांसद हुन् |

26644 COMMENTS

  1. श्री प्रिय युग दबाडी भा०
    तपाईंको मान्यता, सल्लाहा,सुझाव र टिप्पणी मा देखाउनु भएको शाहस को निम्ती धेरै धेरै धन्यवाद! विश्वबिद्यालय मात्र हैन, भाग्यले साथ दिनु थियो भने आफ्नै देशमा फर्केर सानो देशलाई सुन्दर बनाएर हाँक्न सक्ने क्षमता भएका हाम्रोमा राजनीतिज्ञ, बुद्धीजिबी दु:ख सुख अनुभव बटुलेका तपाईं यिवा भाई बहिनीहरु , डाक्टर, ईन्जिनीयर, लवेर , टिचर इत्यादी जो विद्वान हुनुहुन्छ , गर्व साथ आफ्नो ठाउमा उच्च स्तर को सरकारी काम , त्यहाँको जनप्रतिनिधी (M P ) मन्त्री र प्रधान मन्त्री बन्नलाई कुनै असम्भव थिएन । यिनै कुराले गर्दा आउने पिडिको निम्ती सुन्दर भुटान को कल्पनाले आफुलाई चित्त नबुझी सदैब दुखी बनाएको छ । हेरौ आउने दिनहरुलाई, त्यहाँ रहेका हाम्रा मानिसहरुले त्यस लाई उपभोग गर्दै लानेछन भन्ने आसा गर्नु परेको छ । युगौ युग सम्म तपाईंको भावना बडीरहोस। शुभकामना ।

  2. श्री गणेशजी , सबैलाई सुमंगल रहोस।
    आर्टिकललाई मनपराइ सल्लाह दिनु भएकोमा धेरै धेरै धन्यवाद !।

  3. श्री डा० लक्ष्मी भाई , जन्म भुमिलाई सम्झाउने लेख भनी मान्यता दिएर, ममा लेख्ने कुराहरु थुप्रै छन भनी गुणग्राही बन्दै, जोडदार हौसला दिनु भएकोमा धेरै धेरै धन्यवाद!। भएका केही घटनाहरु सनक्षिप्त रुपमा थपेको छु, हेर्नु होला । यस्ता धेरै धेरै भएका घटना र कथा ब्यथाहरुको बर्णण कहाँ बाट थालेर कहाँ समाप्त गरु ? अलमल्ल परेको छु तथापी तपाईंहरु बाट पाएको हौसलानै मेरो अगाडि बडने प्रेरणा हो । प्रयासरत रहने छु। धन्यवाद।

  4. आदरनीय श्यामजी नमस्कार ।
    महान कार्य, सुन्दर लेख भनी कमेन्ट्स मा सम्बोधन गर्नु भएकोमा बिलम्ब साथ भए पनि हजुरलाई र अरु मित्र हरुलाई पनि हार्दिक धन्यवाद नदीइ बस्न सक्तिन। आभार प्रकट गर्दछु। गेलेग्फुगको प्रथम राष्ट्रिय दिवस १९७८ भनी सम्झाइ दिनु भयो मैले १९७१ लेखेकोलाई सबैले सुधारी पढ्नु होला धन्यवाद।
    उमेर र अज्ञान ले गर्दा पनि मानिसमा रिस राग घमणड हुदो रहेछ। मेरो लेखमा राजालाई बिष्णु अङ्श मान्ने, तपाईंको असहमतीलाई त्यती अस्वभाबिक ठान्दिन किनभने केही भएका राम्रा कुरा थिए भने पनि लाखौं मानिसका आसुँले बगाइ दियो । घरमा पालेका जीब जन्तु जस्तै खसी बाख्राहरुलाई सधैं घास दाना पानी दिएर राम्रो स्यार सम्हार गर्‍यो, पछी एकै चोटि च्वाट्टै पारे जस्तो त भयोनी हैनर ?।
    परमात्माको अद्रिश्य शक्ती द्वारा संसार को सन्चालन भएको छ । सबैमा कर्म को साक्षी भएर ईश्वर बसेका छन भन्ने आफुमा एउटा सिद्धान्त रहेको छ। राम्रा कर्मले मनुश्य पनि देवता बन्दछन, जस्तै माहात्मा गान्धी गौतम बुद्ध महापुरुषहरु । नराम्रा कर्मले मनुश्य पनि राक्क्षस समान बन्दछन जस्तै मान्छेले मान्छेलाई काटनु कुटनु मार्नु दु:ख दिनु इत्यादी। देवताहरुलाई पनि रक्षसहरुले दु:ख दिएर हा हा कार तितर बितर बनाएका थिए । सबै देवताहरु मिली इश्वर बाट शक्ती प्राप्त गरी बिजय पाएका थिए । सत्य मेव जयते भन्छन । हामीचै केही गर्न नसकी बिभिन्न देशमा छरिन पुग्यौ । त्यही कमजोरिले गर्दा हो या ” कसैले दाइने गालामा चडकन दियो भने देब्रे गालो पनि थापी देउ ” भन्ने उपदेशलाई मानेर हो, ज्यु , हजुर, तपाईं, मौसुफ , हुकुम भन्ने आएको होला श्यामजी धन्यवाद ।

  5. श्यामजी ! भुलेछु
    तपाईंका अन्तिमका २ लाइन वाक्य ले मलाई खुशी लाग्यो । केही भन्ने मौका पाए । राजा सँग को हाइ हुइ को मत्लब हैन उदेश्य र स्वार्थ भनेको जनता को हित् ( सुख सुबिदा ) हुनु मात्रा हो। जस्तै – १, राजालाई दागापेलामा भिजिट होस् भन्ने अनुरोद गरियो । बाटो भए पछी आउछु भने साथै बाटो बनिने निश्चित कुरा कानी भयो। २, १९८३ मा दागानामा राष्ट्रिय दिवस हुनेछ, बाटो छिटो सक्नु भन्ने आदेश भयो । ३, बाटो निर्माण भयो, लाखौं मानिसहरुको अबर्णनिय फायदा र सुबिदा भयो । राष्ट्रिय दिवस पनि भयो। ४, उक्त दिवसको उपलक्षमा दागापेलामा विश्वबिद्यालय र मन्दिर बनिनेछ भन्ने आदेश भयो । राजाको आदेशलाई बजेट र प्लान पर्खिनु पर्दैनथ्यो, स्पिसियल बजेट बाट खर्च हुन्थोरे। याद आयो, साम्ची दोराखाको बाटोको कुरा,दागापेला को कुरा चल्नु धेरै पहिले राष्ट्रिय सभामा पास भएको थियो, काम कती भयो ? यहाँहरुलाई बिदितै छ। तपाईंको सल्लाह अनुसार, सभामा कुरा चलेका र भएका बिकाशका कुराहरु धेर थोर सम्जेका जती यथार्थ रुपमा भन्दै जानेछु,मपाई भएको नसम्जी दिनुहुन अनुरोद गर्दै दोषमा नीर थपी सुझाव, सल्लाह र हौसला को आशा गर्दछु पुन: धन्यवाद! श्यामजी ।

  6. जय ॐ
    प्रिय ओम भाई बन्दना । मैले आफ्नो पालामा गरेको कर्तब्यलाई मुल्याङ्कण गर्दै, तपाईंका अन्तर आत्मा भित्र रहेका स्वर्णिम शब्दहरु ” जननी जन्म भुमिश्च ” मार्मिक शब्दहरुले प्रशम्सा गर्नु भएकोमा हार्दिक धन्यवाद ! । भाई ! तपाईंको सानै उमेर थियो होला ? तथापी हाम्रा पालामा भएका कुरा कानीलाई, बिकाश सम्बन्धी, बाटो, घाटो इत्यादी बारेमा ठुलो चासो दिएर पीताजी बाट सुनेको कुरालाई, सत्य्लाई सत्य भनेर उदार हिर्दयले चरितार्थ गर्नु भयो, म अत्यन्तै आभारी छु। अब त्यस्तो बिगतको कुरा सुन्ने बुझ्ने र यथार्थतालाई केलाउने कसको ईच्छा र फुर्सद छ र?
    कबिको भनाइ ” गुण ग्राही जहाँ छैन, बेकम्मा छ उहा गुणी। कौडिमा पनि मिल्किन्छ भिल्लका देशमा मणी ” अब सबैको ब्यस्त जीवनमा भएपनी एथा सम्भव ईतिहासको सत्य तथ्य खोजने अबिभार भाईहरु जस्तो यथार्थ बादी युवाहरुको ठुलो खाचो छ।
    दु:ख सुख जस्तै भए पनि जुनै अवस्थामा रहे पनि भुटानको निम्ती खुन पसिना बगाएका पित्रिहरु र देशको परिवर्तन को लागि जीवनको आहुती दिने शाहीदहरु, जेल र यातनाको जीवन भोगेका, १९ बर्ष सम्म कष्टकर शरणार्थी जीवन बिताइ मात्री भुमिलाई बिर्सन नसक्ने सम्पूर्ण भुटानी माता पीता दाजु भाई दिदी बहिनी हरुलाई र भाबी पिडी को समयमा सुन्दर भुटानको सम्भावित पारीकल्पनालाई नबिर्सन का लागि लेखमा अलिक बडी भावना बगेको छ । यी यथार्थ पनि हुन। ऐलेलाई यतिनै ओम भाई धन्यवाद !।

  7. डा: लक्ष्मी भाईका यिनै सहयोग रुपी बचन र हौसलालेनै अगाडि लेख्तै जाने प्रेरणा मिलेको छ । ” उखु बाङ्गो भएपनी रस बाङ्गो हुँदैन ” भन्ने सम्जी शुद्ध अशुद्ध जस्तई भएपनी सबैले सुधारी पढदै जानु हुनेछ भन्ने आसा गरेको छु। धन्यवाद !।

  8. जय श्रीमाननारायन तारा भाई गुरुजी ,
    बिगतलाई सम्जाउने आर्टिकलले, बर्तमान मा भाई र मलाई पनि यसरी मिलन गरी बिगतलाई अरु आलई बनाइ दियो। भाईको जमिन ठा: न० भित्र विश्वबिद्यालय र मन्दिर बनिने कुरा निश्चित भईसकेको, त्यती चानचुने कुरा पनि थिएना । तर के गर्नु भाग्यले साथ दिएन। यथार्थ हो भनी छर्लङ्ग बनाइ दिनु भयो । पुनर्जन्ममा हामीले अबश्य ठूला ठूला विश्वबिध्यालय र मन्दिरलाई र शान्तिलाई पाउने छौ भन्दै भाईलाई धन्यबाद दिन चाहन्छु ।

  9. मानानीय नारद भाई ,
    लेखमा शुद्ध अशुद्ध जस्तई भए पनि यथार्थ कुरालाई,कोमल भावनाले आत्मा साथ गर्नु हुँदै, आत्मियताका कारणले पनि तपाईंलाई आत्मा बिभोर अबश्य बनायो होला। कबिरदास को भजनमा ” प्रेम ढुडे मै ढुडु, प्रेम न ढुडे कोही । रोत हाँस दिलमे , सो तम प्रेमी होई ।। पुरानो याद आयो, हामी भारत भ्रमण मा जादा तपाईंलाई नालान्दा विश्वबिध्यालयमा भेटी कुरा कानी गरेको, साथै पछी थिम्पु सल्लाहकार बिद्यापतीज्यु को घरमा युक्ती साथ नेपाली निरिक्षक बेदनिधी गुरुज्युलाई तपाईंले लिएर आई दक्षिणमा बडदै गएको अत्याचार को बिषयमा के थिम्पुमा तपाईंहरुलाई थाहा छैन इत्यादी बिषयमा उहा हरु २ जनालाई कुरा गरी रहेका थियौ , त्यो समय साच्चै ठुलो भुइचालो आएको थियो । भुइचालाले कहाँ कहाँ पुर्यायो हामीलाई । भाईको त्यो समयको बिचार र पछी देश फर्कने सम्बन्ध को सबैको खटाइलाई पनि मुल्याङ्कण हुने दिन नआई सबैलाई परिस्थितीले कहाँ पुरायो । दु:ख सुख लेख्तै जानेछु, सल्लाह र सहयोग को निम्ती म पनि उत्तिकै आभारी रहने छु। धन्यवाद !।

  10. Hello Unmissedlove ji,
    Thankyou for going through my article. To preserve our language we need to encourage all the Bhutanese abroad to write an article in Nepali and read. I thank BNS for giving place for Nepali article. I respect your feeling towards our language.

  11. Sir, it would be wonderful if you could also published this write up in English. If possible try to publish your articles in New Your Time, WAshington Post, BBC, KCTS, PRI. Because our story should go beyond Bhutanese society, let the western society feel the irony of GNH.

    Keep our story alive and vibrant! Keep our history unturned!

    With Warm Regards

    Pradip