Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीपरिचय-पत्रका लागि शरणार्थी अनसनमा

परिचय-पत्रका लागि शरणार्थी अनसनमा

डिकेश लामा, झापा नेपाल

माघ १२ गते, २०७३ बेलडाँगी । परिचय-पत्र नभएका शरणार्थीहरूले आफूहरूलाई परिचय-पत्र दिलाउन माग गर्दै बुधवार देखि भूटानी शरणार्थी शिविर बेलडाँगीमा अनसन शुरू गरेका छन् ।

लामो समयदेखि परिचय-पत्रका लागि शरणार्थीसम्बन्धी दातृ निकाय युएनएचसीआरले फोटो खिच्ने काम गरे पनि हालसम्म शरणार्थी परिचय-पत्र नदिएको भन्दै करिब १ सय शरणार्थीले रिले अनसन शुरू गरेका छन् । ”सन् २०१२ मा परिचय-पत्रका लागि हाम्रो फोटो खिचियो तर हालसम्म परिचय-पत्र पाएनौं,” शरणार्थी महिला अनसनकी अगुवा सनमाया गुरूङ्गले बताउनुभयो ।

अनसनमा सहभागीहरु / फाइल फोटो : डिकेस लामा
अनसनमा सहभागीहरु / फाइल फोटो : डिकेस लामा

पछिल्लो पटक परिचय-पत्र नभएका १ हजार ६ सय ४१ जना शरणार्थी रहेको परिचय-पत्र नभएको समूहले जानकारी दिएको छ । परिचय-पत्र नभएका शरणार्थीका विषयमा सरोकारवाला निकायले उचित जवाफ नदिएसम्म अनसन जारी रहने अनसन समूहले जानकारी दिएको छ ।

कटौती राशन लिन अस्वीकार

भूटानी शरणार्थीलाई वितरण गर्दै आएको राहतमध्ये दाल र तेल कटौती गरेको भन्दै शरणार्थीले राशन लिन मानेका छैनन् । हिजोदेखि सधैं वितरण गर्दै आएको २० ग्राम तेल र ६० ग्राम दाल कटौती गरेकाले शरणार्थीले आफूहरूले पाउँदै आएको राशन लिन अस्वीकार गरेका हुन् । ”शरणार्थीहरूको राशन दिन प्रतिदिन कटौति भइरहेको र हाल आएर यो राशनले बाँच्न नसक्ने अवस्था आएकाले हामीले राशन लिन अस्वीकार गरेका हौं,” महिला फूलमाया सुब्बाले बताउनुभयो ।

अनसनमा लामो समय गोलधाप शिविरमा बसेर शरणार्थी राहत पाएको तर हाल राशन काटिएर विजोग भएकी बेलडाँगी २ सेक्टर जी२ की ८१ वर्षिया रूक्मिणी न्यौपानेले आँखाबाट आँश झार्दै दुखेसो पोख्नुभयो । वृद्धा न्यौपानेका अनुसार आफ्नो श्रीमान् होम न्यौपाने र छोरा कृष्ण न्यौपाने तेस्रो मुलुक पुनर्वास भईसकेका छन् ।

यस विषयलाई लिएर शिविर व्यवस्थापन समितिले दिँदै आएको राशन कटौतिको निर्णय फिर्ता नलिएसम्म शरणार्थीहरूले दातृ निकायलाई दिँदै आएको स्वयंसेवक सेवा उपलब्ध नगर्ने शिविर सचीव सन्चहाङ्ग सुव्बाले बताए ।

यता विश्व खाद्य कार्यक्रमकी संचार प्रमुख सितास्मा थापाले भन्नुहुन्छ, ”हाल विश्वमा शरणार्थीको संख्या बढ्दै गएकाले सहयोगी दाताको सहयोगको अभावमा राहत कटौती गर्न बाध्य भएका हौं ।” थापाका अनुसार हालै शरणार्थीलाई कटौती गरेको राशन धेरै पहिलेदेखि जानकारी गराउँदै आएको र हालै दिन नसक्ने अवस्था रहेको प्रष्ट पार्नुभयो ।

हाल शिविरमा रहेका करिब १० हजार शरणार्थीमध्ये ३ हजार असक्तलाई भने पूर्ण राशन दिँदै आएको खाद्य कार्यक्रमले जानकारी दिएको छ । दुई दिनदेखि चामल नपाएका शरणार्थीहरू हातमा झोला र बोरा बोकेर राशन गोदाम आसपासमा झुम्मिएर बसेका छन् । कहिले सहयोगी दातृ निकायका मानिसहरू आउलान् र चामल थापेर लगेर जाऊँ भन्ने उनीहरूको व्यग्र पर्खाइ रहेको भोकै बस्न बाध्य भएको बेलडाँगी २ की फुलमाया तामाङले बताउनुभयो ।