- राजेश कोइराला
न्यु ह्याम्सर – ‘रामायण’ पाठ गर्दै न्यु ह्याम्सरको कंकर्डमा शनिबार (जुलाई २०) २०० औं भानु जयन्ती मनाइयो । भूट्निज कम्युनिटी अफ न्यु ह्याम्सर (बिसिएनएच) ले मनाउँदै आएको भानु जयन्तीलाई यसपटक यो राज्यका नेपालीले पनि साथ दिए । कार्यक्रममा सन् २०१३ मा हाइस्कूल ग्य्राजुयट गरेका भूटानी छात्र-छात्रालाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व बिसिएनएचका निर्देशक टिका आचार्यले गर्नुभएको थियो । अतिथिले आसन-ग्रहण गरेपछि आयोजकतर्फ बाट लाक्पा तामाङ्गले स्वागत मन्तव्य दिनुभएको थियो भने दुई बालिका भीमा तामाङ्ग र सविता तामाङ्गले ‘हरिया चुरा मेरा हातै भरी …’ गीतमा स्वागत नृत्य गरेका थिए ।
आदिकवि भानुभक्तबारे एउटा वृतचित्र देखाइएको थियो र भानुको फोटोमा माल्यार्पण गरिएको थियो । आयोजकका तर्फबाट रोहित सुवेदीले न्यु ह्याम्सरको साहित्यिक गतिविधिबारे बोल्नुभएको थियो । चन्द्र राई र उहाँका साथीहरूको आमा-समूहले ‘रामायण’ पाठ गर्नुभएको थियो ।
भानु जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगिताको पहिलो कविता मदन पोखरेलले वाचन गर्नुभयो । आमा-समूहले ‘फूलको आँखामा फूलै संसार …’ गीत गायो । घनेन्द्र रसाइली ‘फुत्रुके’ ले ‘वारी जमुना पारी जमुना …’ र ‘पोस्टेकी आमा …’ गीतमा नृत्य गर्नुभयो ।
न्यु ह्याम्सर कलेज एन्ड युनिभर्सिटी काउन्सिलका अध्यक्ष टम हज्यन (Tom Hougen) र साउदर्न न्यु ह्याम्सर युनिभर्सिटीको बिजिनेस स्कूलका डिन र इन्टरनेसनल इन्स्टिच्युट अफ न्यु इंगल्याण्डका बोर्ड प्रमुख बिल गिलेट (Bill Gillette) ले आफ्ना अनुभव सुनाउँदै सन् २०१३ मा ग्य्राजुयट गरेका भूटानी छात्र-छात्रालाई बधाई तथा शुभकामना दिनुभयो ।
नेपाली समाजबाट इश्वरी भट्टले भानुसम्बन्धी अप्रतियोगी कविता सुनाउनु भयो । युवक तारा आचार्यले ‘जाग लम्क चम्क हे नौ-जवान हो …’ गीत गाउनु भयो । भवानीशंकर निरौलाले प्रतियोगी कविता प्रस्तुत गर्नुभयो । घनेन्द्र रसाइली ‘फुत्रुके’ ले नेपाली नेता केपी शर्मा ओलीको ‘क्यारिकेचर’ गर्नुभयो । धामीको अभिनय गर्दै रवि विश्वले नृत्यबाट मनोरञ्जन गराउनु भएको थियो ।
चित्रकला प्रतियोगिताका प्रतियोगी चित्रमा हस्ताक्षर गरी अतिथिहरूले पहिलो, दोस्रो र तेस्रो छनौट गरिदिनुभएको थियो । कन्सास बस्दै आएका कवि/गजलकार युवा भोला शिवाकोटी ‘पुरानाघरे’ को अप्रतियोगी कविता वाचन गरिएको थियो । तनहुमा नै जन्मेका नेपालीका तर्फबाट सुरेन्द्रदेव आचार्यले बोल्नुभएको थियो । उहाँले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको अर्को चरणमा सन् २०१३ मा ग्य्राजुयट गरेका ३६ जनामध्ये उपस्थित भूटानी छात्र-छात्रालाई उपहारसहित सम्मान गरिएको थियो । कुसुम आचार्यले सम्मानित छात्र-छात्राका तर्फबाट बोलेकी थिइन् । भानु जयन्ती किन संयुक्त रूपमा भूटानी-नेपाली एक भएर पहिलोपटक मनाइयो भनेर भगिरथ खतिवडाले बोल्नुभयो ।
पेमा शेर्पाले दुई अप्रतियोगी कविता वाचन गर्नुभयो । रवि विश्वले गीत गाउनुभएको थियो । लक्ष्मी निरौला र रवि मिश्रले प्रतियोगी कविता सुनाउनुभयो । सुवास गुरूङले ‘दर्शन नमस्ते …. ‘ गीत गाउनुभयो । गोपाल भण्डारीले भानुका बारेमा अप्रतियोगी कविता सुनाउनुभयो । धनमाया अधिकारीले अप्रतियोगी कविता सुनाउनुभयो ।
कविता प्रतियोगितामा लक्ष्मी निरौला, भवानीशंकर निरौला र मदन पोखरेल पहिला, दोस्रा र तेस्रा हुनुभयो । दुवै प्रतियोगीताका विजेतालाई पुरस्कार प्रदान गरियो ।
कार्यक्रम बीच-बीचमा विभिन्न अप्रतियोगी कविता सुनाइएको थियो । कार्यक्रमका विभिन्न चरण सिएम निरौला, श्याम गौतम, रूद्र तिम्सिना र विधान कालिकोटीले सञ्चालन गर्नुभएको थियो ।