Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsकोलोराडोमा चौधरीको सम्मान

कोलोराडोमा चौधरीको सम्मान

आफ्नो निजी प्रयासमा “विश्व काव्य यात्रा”को नारा लिएर संसारभर रहेका नेपाली समुदायमाझ आफ्ना काव्यिक सिर्जनाहरु पस्किने क्रममा कोलोराडो आइपुगेका कवि तथा गीतकार वसन्त चौधरीलाई अरोरा, कोलोराडोनिवासी नेपालीहरूले साहित्यिक स्वागत गरेका छन्।

उपस्थित सहभागीका साथ कार्यक्रमका अतिथि चौधरी
उपस्थित सहभागीका साथ कार्यक्रमका अतिथि चौधरी

यही मार्च १० तारिक आइतबारका दिन अरोरा स्थित भारत भोजन रेस्टुरेन्टमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान केन्द्रीय अध्यक्ष गीतकार ज्ञानेन्द्र गदालद्वारा चौधरीको सम्मानमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा स्थानीय नेपाली साहित्यकारहरुको प्रतिनिधि समूहको उपस्थिति रहेको थियो।

कवि भोला सिवाकोटी “पुरानाघरे” को सञ्चालनमा सम्पन्न उक्त स्वागत सम्मान कार्यक्रममा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्यले चौधरी यौटा व्यापारी घरानाको सदस्य भएर पनि नेपाली साहित्यको सेवामा लागेकोमा मुक्त कण्ठले प्रशंसा गरे।

भेलामा बोल्दै गीतकार चौधरीले भने, “विश्व काव्य यात्राको सिलसिलामा म संसारको जहाँ-जहाँ पुग्छु, यसरी नै नेपाली दिदी-बैनी दाजुभाइहरूसँग बस्न पाएको छु, विदेशमा पाएको यस किसिमको माया र स्नेहले मलाई परिवारमै बसेको आभास हुन्छ ।”

धन, मन र उच्च विचारका धनी कवि वसन्त चौधरीको उक्त यात्राको सराहना गर्दै कार्यक्रम सञ्चालक पुरानाघरेले नेपाली साहित्यलाई गुणस्तरीय अनुवाद गर्ने कार्यमा आवश्यक लगानी गरिदिन वहाँसंग आग्रहसमेत गरे।

दर्जनौँको उपस्थितिमाझ कार्यक्रममा स्थानीय कविहरु पुरानाघरे, पदम विश्वकर्मा, साबु कार्की र ज्ञानेन्द्र गदालले अतिथिको सम्मानमा कविता सुनाए भने अतिथि बहुभाषिक कवि चौधरीले नेपाली र हिन्दीमा लेखिएका आफ्ना केही रचनाहरू सुनाए।