Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारकृति विमोचन तथा साहित्य लेखन कार्यशाला

कृति विमोचन तथा साहित्य लेखन कार्यशाला

एट्लान्टा (जर्जिया) । विश्व भूटानी साहित्य संगठन (ग्लोबल भूट्निज लिटरेरी अर्गनाइजेसन; जिबिएलओ) को जर्जिया च्याप्टरले डिसेम्बर २३, २०१८ आइतबार एट्लान्टामा कृति विमोचन तथा साहित्य लेखन कार्यशाला गरेको छ ।

कार्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको थियो । पहिलो खण्डमा शेरू राई उदासको गजल-संग्रह ‘बन्द खाम’ र राजु सुब्बाको गजल-काव्य ‘स्मृतिका छालहरू’ को विमोचन र कृतिहरूमाथि समीक्षा भएको थियो । साहित्य परिषद्, भूटानका अध्यक्ष गंगाराम लामिटारे, कार्यक्रमका प्रमुख-अतिथि साहित्यसेवी गोविन्द गिरी प्रेरणा, कवयत्री दिपा राई पुन, साहित्यकार खेम रिजाल, आदिले कृतिहरूको सामूहिक विमोचन गर्नुभएको थियो । ‘बन्द खाम’ को समीक्षा सविन शर्मा र ‘स्मृतिका छालहरू’ को समीक्षा पशुपति शर्माले गर्नुभएको थियो ।

दोस्रो खण्ड साहित्य-लेखन कार्यशालामा केन्द्रित रह्यो । गजल-लेखन तथा यसका विविध पक्षमा सविन शर्मा, आख्यान लेखनमा गोविन्द गिरी प्रेरणा, र कविता-लेखन दिपा राई पुनले लेखाइका सिद्धान्तका विषयमा तथा आफ्ना अनुभव आदि सुनाउनुभएको थियो । छलफलमा अग्रज तथा प्रमुख अतिथि साहित्य परिषद्, भूटानका अध्यक्ष गंगाराम लामिटारेमा भाषा संकट परेकाले भाषा संरक्षणमा जोड दिनु पर्ने बेला आएको बताउनुभयो ।

”तेस्रो खण्डको कार्यक्रमलाई साहित्यिक साँझ नाम दिइएको थिए, जसमा रचना वाचनहरू भएका थिए,” जिबिएलओ जर्जिया च्याप्टरका सदस्य जय बान्तवाले बताउनुभयो । साँझ ६:३० देखि करिब ४ घन्टा चलेको साहित्यिक साँझ खण्डमा स-साना छलफल पनि भएका थिए ।

जिबिएलओले स्थानीय श्रष्टाहरूलाई कृति सार्वजनिकलगायतका विषयमा मद्दत गर्दै आएको पनि सदस्य बान्तवाले बताउनुभयो ।

जिबिएलओको स्थापना सन् २००९ मा भएको हो । संगठनले संगठन विस्तार गर्दै ठाउँ-ठाउँमा आधा दर्जनभन्दा बढी च्याप्टरहरू बनाएको छ ।