अष्ट्रेलियाको सिड्नीस्थित ब्ल्याकटाउन क्षेत्र र त्यसको वरिपरिका स्थानमा बसोबास गर्ने करिब २५ जना भुटानी वयोवृद्ध बा–आमाले एउटै स्वरमा भन्छन् –कहिले आउला शुक्रबार ! उनीहरुका निम्ति अति महत्वपूर्ण र रमाइलो दिन हो – प्रत्येक हप्ताको शुक्रबार । शुक्रबार आउला र वृद्धभेलामा भेट भई आपसी मनका कोसेली साटासाट गर्न पाइएला भनी आ–आफ्ना घरमा कुरेर बसेका हुन्छन् यी बा–आमाहरु ।

हप्तैभरि घरैमा बसिरहँदा, छोरा- नाति काममा बाहिरै व्यस्त भएको अवस्था र कोही भाषा मिल्नेसँग सम्बाद गर्न नपाउँदा मानसिक रुपमा बिरामी हुने अनुभव सुनाउँछन् उनीहरु । “मानसिक रोगी हुनबाट जोगाउँदै छ सिड्वेस्टले”, यसो भन्न पनि पछि परेनन् ‘असी पुगी बसी खाई’ भएका बा–आमाले ।
सिड्वेस्ट मल्टिकल्चर सर्भिसले एकवर्ष अघिदेखि यो भुटानी वृद्धभेला कार्यक्रम शुरु गरेको हो । वृद्धभेलाले उनीहरुलाई न केवल सामन्य भेट मात्र गराउँछ अपितु नयाँ कुराको जानकारी, अस्ट्रेलियाका विविध सांस्कृतिक–भाषिक समूहको गतिविधि, स्वास्थ्य शिक्षामूलक ज्ञान, नागरिक अधिकार जान्ने अवसर, नयाँ स्थानको भ्रमण, मन्त्री, उच्च पदस्थ व्यक्तित्व तथा मान्य जनहरुसँग भेटघाट र आफ्ना समस्या राख्ने अवसर, करेंसाबारीमा सामुहिक सहकार्य गर्ने अवसर प्राप्त भइरहेको बताउँछन् वृद्धभेलाका सदस्य ।
गत शुक्रबारे भेलामा टीकाराम भण्डारी भन्दै थिए, “हामीलाई सिड्वेस्टले राम्रा अवसरहरु प्रदान गरिरहेको छ, घरघरमा सिड्वेस्टको गाडी हामीलाई लिन र पुर्याउन जान्छ अनि साप्ताहिक भेला गराउँछ –जसले वृद्धावस्थाका सुख-दुःख आपसमा भन्ने मौका मिलिरहेको छ, समय समयमा मठमन्दिर तथा नयाँ स्थानको भ्रमण गराउँछ, हामी प्रायः को पृष्ठभूमि कृषि भएकाले हाम्रो मागअनुसार अस्थायी रुपमै भएपनि सानो करेंसाबारी सागसब्जीका निम्ति दिएको र प्रत्येक चौध दिनमा आफ्ना केरियसका साथ बारीमा पुग्छौं, हाम्रो उद्देश्य बारीबाट उत्पादन गरेर मनमुग्ध खाने भन्दा पनि बुढेसकालमा केवल सन्तोकका लागि बारीको प्रयोग गरिरहेका छौं भन्ने लाग्छ, समग्रमा हामी अति खुशी छौं सिड्वेस्टले दिइरहेको सेवाप्रति ।” बा–आमाको शुक्रबारे भेलाकक्षमा भेला भएका सम्पूर्ण सदस्यहरु बढो उत्साहका साथ कुरा गर्दै चियापान गरिरहेका देखिन्थे । भेलामा नेपाली भाषा र संस्कृति पनि केहीबेर चर्चाको विषय बन्यो । अधिकांश सदस्यले आफ्नो समाज बसेका स्थानमा अझ एउटा भाषा पाठशाला र एउटा मन्दिर पनि खडा गर्न पाए हुन्थ्यो भन्ने मत अघि सारेका थिए ।
करिब दुई महिना अघि मात्र सिड्नीमा बसोबास शुरु गरेकी विष्णुमाया खड्का साप्ताहिक भेलाको सदस्य भएकोमा गर्व गर्छिन् । नयाँ मुलुकमा यसरी भेला भएर एकै ठाउँमा बस्न पाइन्छ भन्ने सुनेकी भए तीन चार वर्षअघि नै आफू आइसकेको हुने बताउँछिन् उनी । यसपालिको तीन घन्टे भेलाको सबैभन्दा आकर्षक विषय रह्यो त्यहाँको अङ्ग्रेजी सिकाई । एक दिनको भेलामा दुई चार नयाँ शब्द बा– आमालाई केवल मनोरञ्जनका निम्ति भन्न प्रेरित गरिएको मात्र हो – सिड्वेस्ट मै कार्यरत हरि खतिवडाले बताए । “यो उमेरमा अङ्ग्रेजी पढेर केही गर्छु भन्ने त होइन तर कुनै कापी किताब बिना नै हँस्यौली र ठट्यौली गर्दै एक दुई कुरा सिकियो भने यसो छिमेकीलाई हाई र हेल्लो गर्न सकिन्छ कि भन्ने छ”, वृद्ध शिक्षार्थी बिर्खबहादुर विष्टले उनको भनाई थपे ।
सिड्नीको भुटानी समुदायलाई हेर्ने दृष्टिकोण अत्यन्तै सकारात्मक र पृथक रहेको बताउँछिन् सिड्वेस्ट संस्थाकी सिइओ सुजन भोगेल । उनले ब्ल्याकटाउनको आफ्नै कार्यकक्षमा भनिन् – “भुटानी समूहबाट हामीलाई गर्वको महसूस हुन्छ, कति अनुशासित छन् यिनीहरु, लगनशीलता नै यिनीहरुको परिचय हो, आएका चार वर्षमा धेरै प्रगति गरेका छन् यिनले, अधिकांशले जागिर गर्न शुरु गर्नु , छोटो बसोबासमै केहीले घर किनेर थन्किनु शुभ संकेत हो यो , यिनीहरुलाई सुन्दर भविष्यको कामना छ मेरो ।”
“सिड्वेस्टको मुख्य उद्देश्य भनेको नै विभिन्न पृष्टभूमि बोकेर आएका समूहलाई हातेमालो गर्दै सहकार्य गर्न उत्प्रेरित गर्ने र अग्रसर गराउने हो”, विभिन्न समुदायका उमेरगत समूहको आवश्यकतालाई ध्यानमा राख्तै कार्यक्रम तय गरी आफू कार्यरत संथाले समाजमा सेवा प्रदान गरिरहेको बताउँदै सुजनले भनिन् ।
- पदम काफ्ले, अष्ट्रेलिया