चिराङको याद,
सर्भाङ्ग, थिम्पू, पारो आदि आदि
हुँदै हुर्किएको मेरो मन
कहिले फोछु, मोछुको कविता भन्थ्यो
कहिले कुलगांग्री र जुमोल्हारी गाउँथ्यो
ओहायो राज्यको क्लिभल्याण्ड शहरकी नेपाली–भाषी भूटानी स्रष्टा तिलारूपा आचार्य (अधिकारी) को कविता हो, यो । उहाँको यो रचना कविता–संग्रह ‘गल्ली गल्लीका गीत’ बाट लिइएको हो । उक्त संग्रह गत महिनाको २० तारिख (मे २०) मा सार्वजनिक गरिएको हो ।
तीलारूपाको आफ्नो पहिलो कविता–संग्रहमा उनका भावनाहरू फैलिएका छन् । भावनाले सिंगो पृथ्वीको एक फन्को मारेका छन् । भावनाको यात्रा जन्मभूमि भूटानमा शुरु भएको भेटिन्छ, नेपालको शरणार्थी शिविरमा करिब २ दशक भौतारिन्छ र सपनाजस्तो अमेरिकामा उत्रन्छ ।
नेपालरहँदाकोमूलभूमिकानेपालीप्रतिकोव्यङ्ग्ययस्तोछः
‘तिमी’ घरभित्रै शरणार्थी
‘म’ माटो हराएको शरणार्थी
एउटा कविता आमाको सम्झनामा लेख्नुभएको छ । आमाजस्तै अरु धेरै महिला प्रतिनिधि कवितामा छन् । कवितामा अरु यस्ता धेरै प्रतिनिधिहरू भेटिन्छन्, जस्तोः राइनी बज्यू, कार्कीबा, मिश्रेनी भाउजू, मिजारनी आन्टी, दाहाल बा, शर्माजी, खरेल्नी आमा, शेर्पा दाइ आदि आदि ।
गाउँप्रति मायालु कृतिकार शहरप्रति उनको दृष्टि अलि कठोर देखिनुहुन्छः
असत्यको बजारमा
धर्मको किनबेच
हुन थालेपछि
हेर्दाहेर्दै मेरो सहरमा
सत्यको हत्या भयो ।
कृति साहित्य परिषद्– भूटान र डिस्कोर्स पब्लिकेसनले संयुक्त रुपमा प्रकाशन गरेका हुन् । यस संग्रहमा जम्मा ४८ वटा कविता छन् । पुस्तकमा कूल पृष्ठ संख्या १६०+४ छन् ।
आवरण कला राम राईको, आवरण सज्जा रेवत राउत र सेटिङ रमेश महर्जनले गर्नुभएको छ । आवरण कला र पेज सेटिङमा त्यति व्यावसायिकता देखिन्न ।
भाषिक सच्याउने काममा अलि ध्यान नपुगेको देखिन्छः मोरै (मेरै), स्वातन्त्रता (स्वतन्त्रता), सान्तवना (सान्त्वना), निरनतर (निरन्तर), प्रशन (प्रश्न) आदि ।
कविता कुन मिति र स्थानमामा लेखेका हुन् भन्ने लेखेको भए पाठकले मनमा अर्को तस्बिर बनाउन सक्थे ।
यसै वर्ष २०७४ साल (सन् २०१७) मा प्रकाशित यस कृति कति प्रति छापिएको भने उल्लेख छैन । कृतिमाथि साहित्य परिषद्– भूटान, शिवलाल दाहाल, कृतिकार आफैं, गंगा लामिटारे, डा. तारालाल श्रेष्ठ, कृष्ण धरावासी, मणिराम धिमाल, भोला शिवाकोटी पुरानाघरेका लामा–छोटा मन्तव्य छन् ।
साभार: अक्षरिका