Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारअन्त्येष्टि मंगलबार हुने, सहयोगको आग्रह

अन्त्येष्टि मंगलबार हुने, सहयोगको आग्रह

गत मंगलबार अमेरिकाको एरिजोनास्थित आफ्नै घरमा आत्महत्याको प्रयास गरिरहेकी मेनुका पौडेललाई आपत्कालीन रूपमा अस्पताल भर्ना गरिए पनि उनको प्राण बचेन । एरिजोनास्थित भूटान समाचार सेवाका प्रतिनिधिको जानकारीअनुसार उनको अन्त्येष्टिक्रिया हिन्दू परम्पराअनुसार नजिकैको अन्त्येष्टिगृहमा आगामी मंगलबार हुने भएको छ ।

यसै क्रममा मृतकका परिवारको आवश्यक संकटकालीन सहायताको लागि मृतककी आमाको नाममा ब्यांक खाता खोलिएको छ । पौडेल परिवारलाई आपत्कालीन सहायता गर्न इच्छुक महानुभावहरूको सुविधाका लागि सो ब्यांक खाताको विवरणका लागि [email protected] मा सम्पर्क गर्नु होला ।

एरिजोनाकै सेन्ट जोसेफ अस्पतालका डाक्टरहरूले बुधबार बेलुकी करिब ६ . ३० बजेतिर मेनुकालाई मृत घोषित गरेका थिए । २० वर्षीया मेनुकालाई गत मंगलबार अपरान्ह आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थाबाट उद्दार गरिएको थियो ।

भूटानको दागानाबाट आएको सो परिवार नेपाल-झापाको बेल्डाँगी २ शरणार्थी शिविरबाट दुई महिनाअघिमात्र एरिजोनामा पुनर्वाश भएको थियो । बेल्डाँगी दुईको सेक्टर ए-मा अझै उनको परिवारका दुई सदस्य पुनर्वाश प्रक्रियाका लागि पर्खिरहेका थाहा भएको छ ।

यसैबीच विशेष सूत्रबाट थाहा लागेअनुसार शिविरमा रहेका पौडेल परिवारका सदस्यहरू पनि तत्कालै एरिजोना आइपुगेर शोकाकुल परिवारमा सामेल हुने तयारी भइरहेको छ ।

हालसम्म मेनुकाका वृद्ध-वृद्धा आमा, बाबा र एउटी बहिनी एरिजोनामा छन् भने पौडेल परिवारका छोरा हरिको परिवार पुनर्वाश प्रक्रियाको लागि शिविरमा पर्खिरहेको छ ।

मेनुकाले आत्महत्या गर्नुको कारण अहिलेसम्म पत्तो लागेको छैन ।

(एरिजोनाबाट नन्दिता खनालको सहयोगमा)