भूटानी शरणार्थी शिविर वेलडाँगी-१ का एक वृद्ध शरणार्थीले मंगलबार आत्महत्या गरेका छन् । वेलडाँगी १ शिविरको सेक्टर सी १, छाप्रा नं. ७६ का ६५ बर्षीय चकमान लम्जेलले मंगलबार बेलुकी करिब ९ बजेतिर झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई छाप्रोदेखि पचास मिटरजति टाढा रहेको नर्सरीमा पीपलको रूखमा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा उनकै माइला छोरा विर्ख बहादुरले फेला पारेका थिए ।
छोराले भेट्दा जिवितै रहेका उनलाई डोरी काटी हतारहतार शिविरमै रहेको आम्दा उपचार केन्द्रमा लगिए पनि आम्दा पुर्याउँदा नपुर्याउँदै उनको मृत्यु भइसकेको थियो । वेलडाँगीबाट शरणार्थी कलाकार तथा सञ्चारकर्मी आइतसिंह गुरूङले दिएको जानकारी अनुसार घटना हुनुभन्दा केहीवेरअगाडि लम्जेल र उनकी बुहारीबीच भनाभन भएको थियो । मृतकका छोरा विर्ख बहादुरलाइ नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको र लासको पोष्टमर्टमका लागि लैजाने तयारी भइरहेको कुरा प्रहरीलाई उद्धृत गर्दै गुरूङले जानकारी दिएका छन् ।