Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारशोकग्रस्त भए एरिजोनाका भूटानी

शोकग्रस्त भए एरिजोनाका भूटानी

सेप्टेम्बर 7 का दिन घर नजिकैको स्वीमिङ पूलमा डुबेर सिकिस्त बनेकी 17 वर्षीय पूर्णीमाया तामाङको मृत्युले एरिजोनामा हुने सबै भूटानीलाई शोकमग्न बनाएको छ। ‘‘पूर्णीमाया अब हामीसँग छैनन्,’’एरिजोना-भूटानी समाजका अध्यक्ष मनोरथ खनालले भूटान समाचार सेवालाई भने, ‘‘यति सानै किशोरीको यो असामयिक निधनले हामी सबै भूटानीलाई शोकाकुल बनाएको छ।’’

अध्यक्ष खनालका अनुसार पूर्णीमायाको उपचार भइरहेको सन्त जोसेफ अस्पतालले सेप्टेम्बर 8 बेलुकीतिरै मृत्युको सूचना दिइसकेको थियो। ‘‘हामीले अस्पताल र तामाङका परिवारलाई पनि भेटेर आयौं, खनालले भने, ‘‘हामीले तामाङ परिवारलाई सबै व्यवस्थामा सहयोग गर्ने वचन दिएका छौं, यो शोकाकुल घडीमा हाम्रो समुदायका प्रत्येक व्यक्ति पनि सचेत बनेका छन्।’’ अस्पताल स्रोतले मृतकको दाह-संस्कारका लागि धेरै औपचारिकता पूरा गर्नुपर्ने बताएकोले पूर्णीको अन्तिम संस्कार गर्न केही दिन पर्खनुपर्ने पनि अध्यक्ष खनालले भूटान समाचार सेवालाई जनाएका छन्।

खनालका अनुसार पीडित परिवारले बौद्धिक परम्परामा आधारित दाह-संस्कार गर्ने इच्छा जाहेर गरेकोले अर्को शहरमा बस्ने आफ्नै समुदायका एकजना लामालाई बोलाइएको छ। सो असम्भव भए नेपाली समुदायकै कुनै लामालाई बोलाएर सो कार्य गराउने अठोट बनाएको खनालले बताए।

यसरी नै ‘वेल कम टू अमेरिका’ नामक संस्थाले पीडित परिवारलाई केही सहायता गर्ने भएको छ भने तामाङ परिवारलाई पुनर्वास गराउने संस्थाका कर्मचारीहरू घटनाको लगत्तैदेखि परिवारसँगै छन्। क्याथोलिक च्यारिटीका केस मेनेजर खगेन्द्र बराल हरेक आवश्यक गतिविधिमा सक्रिय रहेका छन् भने सबै कुरामा क्याथोलिक च्यारिटीको सहयोग हुने आश्वासन पनि उनले दिइसकेका छन्।

अमेरिकामा शरणार्थीलाई पुनर्वास गराउने धेरै संस्थामध्ये क्याथोलिक च्यारिटी एक उत्तम र सक्षम सरोकारवाला संस्था भएको दाबी गर्दै अध्यक्ष खनालले क्याथोलिक च्यारिटीबाटै दाह-संस्कारको लागि सबै आवश्यक सहायता पाइने आशा पनि व्यक्त गरे। भूटान समाचार सेवाले क्याथोलिक च्यारिटीसँग थप प्रतिक्रियाको लागि सम्पर्कको लागि प्रयास गर्दा सम्पर्क हुनसकेन।

स्व. तामाङले आफूपछि दुई दिदी-बहिनी, तीन दाजु-भाइ र संसार देखाउने अभिभावकलाई छोडेर गएकी छन्।