Homeनेपालीसमाचारशिविरमा अन्तर्राष्ट्रिय बालदिवस

शिविरमा अन्तर्राष्ट्रिय बालदिवस

नेपालका झापा र मोरंगका सातवटा शरणार्थी शिविरका भूटानी बालबालिकाले शनिबार अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाए । यस उपलक्ष्यमा द रिफ्यूजी युथ प्रोजेक्ट (यूके) र लुथरन विश्व महासंघले बेल्डाँगी २ शिविरको पञ्चवती विद्धालय परिसरमा संयुक्त संगीत तथा नृत्य प्रतिस्पर्धाको आयोजना गरेका थिए । 

अन्तर सेक्टर गीतिप्रतिस्पर्धामा सेक्टर एच, सेक्टर डी र सेक्टर सीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान ओगटेका छन् भने अन्तरविद्धालय नृत्य प्रतियोगितामा पीएएस विस्तारितले प्रथम स्थान हात पारेको छ, जसलाई त्रिरत्न र पीइएसले क्रमैले पछ्याएका छन् ।

यसैगरी भूटानी शरणार्थी बालमञ्च (बीआरसीएफ)-ले निर्वासनमा रहेका सबै बालबालिकालाई अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ। सो अवसरमा एउटा विज्ञप्ति जारी गर्दै मञ्चले भनेको छ, ‘‘बालबालिका नै कुनै पनि देशमा भविष्यका तारा हुन् ।’’

अन्तर्राष्ट्रिय बालदिवसकै अवसरमा शनिश्चरेमा आयोजित गीति प्रतियोगितामा भूटान मिडिया सोसाइटीले प्रायोजन गरेको थियो । यसैबीच विभिन्न शिविरबाट हाम्रा प्रतिनिधिहरूले यस्तै विभिन्न कार्यक्रमका साथ शरणार्थी बालबालिकाले सो दिवस मनाएका छन् ।

शरणार्थी बालमञ्चका उप-संयोजकका अनुसार सबै शिविरमा गरी हाल १८ वर्षमुनिका बालबालिकाको संख्या करिब २२ हजार रहेको छ ।

(गोल्धापबाट तिलक निरौला, शनिश्चरेबाट लाक्पा तामाङ र बेल्डाँगी २बाट नारद पोख्रेलको सहयोगमा संकलित)