औपचारिक भ्रमणको सिलसिलामा गत शनिबार श्रीलंका पुगेका भूटानी प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले त्यहाँको जारी शान्तिप्रक्रियाको प्रशंसा गर्दै अब श्रीलंकामा फेरि आतंकवादले टाउको उठाउन नसक्ने विचार व्यक्त गरेका छन् ।
राष्ट्रपति महिन्दा राजापाक्षेको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागिता जनाउन शनिबार त्यहाँ पुगेका प्र.म. थिन्लेले राजापाक्षेको नेतृत्व रहिञ्जेल श्रीलंकाले फेरि आतंकवादको सामना गर्नु नपर्ने आफूमा विश्वास रहेको जनाए ।
‘‘विश्वका अन्य धेरै मुलुकलाई उछिनेर अहिले श्रीलंकाले आर्थिक उन्नति गरिरहेको छ’’,कोलम्बोमा आयोजित एउटा विशेष बैठकलाई सम्बोधन गर्दै थिन्लेले भने । थिन्लेलाई उद्धृत गर्दै त्यहाँ अखबरा ‘द नेशन’-ले आइतबार लेखेको छ,‘‘सार्क संगठनको वर्तमान प्रमुख शान्तिले पूर्ण रहेको यो भूमिमा आउन पाउँदा मा हर्षित बनेको छु ।’’
प्र.म. थिन्लेको यस भ्रमणमा उनीसित उनकी श्रीमती, शिक्षामन्त्री ठाकुरसिंह पौडेल र श्रीलंकाका लागि भूटानी राजदूत बाप केजाङ रहेका थिए । आइतबार नै उनको भूटान फिर्ने तालिका छ ।