Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीअन्तर्वार्तागायक तथा संगीतकार सुब्बासँग साक्षात्कार

गायक तथा संगीतकार सुब्बासँग साक्षात्कार

संगीतले जीवनलाई जिउन सिकाउँछ । हरेक अभावलाई सम्भव दिलाइदिन्छ । संगीतको साधनाले समाज परिवर्तन भई आएका उदाहरण हामीले विश्वसञ्चारमार्फत सुनेका छौं । आजको युग संगीतमय भएर गर्जेको छ विश्वमा । हरेक रहरहरुले आफ्नो कलामार्फत शहर चिनाइसकेका छन् । कुनामा लुकेर बसेका प्रतिभाहरुलाई संगीतमय वातावरणमा प्रकाश दिई सबैको खोजको विषय भएको छ संगीत ।

गीत-संगीत, कला साहित्य र भाषा, संस्कृति संरक्षणमा विश्वभरि धेरैजना कम्बर कसेर लागिसकेका छन् । संगीतलाई जीवनभन्दा प्यारो गरी सम्मान दिएर राष्ट्रलाई विश्वभर चिनाइसकेका छन् कतिपय संगीतकारहरुले तर, हिमाली राष्ट्रको नाममा जीवित भूटानले न कला-संस्कृतिको सम्मान गर्न जान्यो न भाषा र जातिको नै ।  कथित एकताकै नाममा लाखौं नागरिकहरुलाई देशबाट देशद्रोही उपाधि दिएर  लखेट्ल्यो बरु सम्मानको सट्टा । आज ती दमनकाविरुद्ध हाम्रो समुदायमा पनि प्रताप सुब्बा, किरण रसाइली, मनोज राई हुँदै युवा पुस्ताका संगीतप्रेमीहरुले आवाज बोलेका र बोलीरहेका छन् । निर्वाशनमा हुदाँ या पुर्नवाशपछि पनि आफ्ना कला-साहित्यका निम्ति भूटानी कलाकारहरुले भूटान देशको माटोलाई बँचाइरहेका छन् । आजसम्म निरन्तरता दिनका लागि धेरै संगीतप्रेमीहरु साधनारत छन् । ती मध्येका एक संगीतप्रेमी स्रष्टा अम्बर सुब्बा भूटानको चिराङ बिचगाउँमा पिता धनकुमार र माता खड़्ग हाङमा सुब्बाका सुपुत्र हुन् । सानै उमेरदेखि नेपाली भजन शिरोमणि भक्तराज आचार्यका गीत गुनगुनाउने सुब्बालाई भूटानी गायक तथा संगीतकार प्रताप सुब्बाको प्रेरणा मिल्यो आजको स्थानसम्म आइपुग्न । आफ्ना आमा-बुबा र छरछिमेकले प्रताप सुब्बाको “बन्दनको चिनो” गीतबाट खेतका आलीमा होस् या घरभित्र आनन्द लिएको देखेर सुब्बा संगीतमा भएको जादु र महता  बुझ्न खोज्दा-खोज्दै देशविहीन भए सन् १९९२ मा । शरणार्थी जस्तो कष्टकर जीवनकाबीच सुब्बाले हिंसारहित समाज निर्माणको अभियानमा धेरै गीत-संगीत  साधना गरेपछि आत्मिय साथीभाइको मायामा ड्रूक एली क्लबमा सहभागिता लिए र शरणार्थी शिरिमा भइआएका कार्यक्रमबाट सपनाको रेखा कस्न थालेका हुन् रे । संगीतमा भरिएको रगंलाई बुझ्न सुब्बा काठमाण्डौको साधनाकला केन्द्र र गुरुकुलमा पनि अध्यनरत रहे । त्यसपश्चात सामूहिक प्रस्तुतिका साथ “सूर” एल्बम बजारमा ल्याए ।

जहाँ रहेपनि आफ्नो देश भूटानलाई बचाइरहनका लागि आफ्नो संगीत-कलामा अघि बडेका युवासंगीतकार अम्बर सुब्बाले दर्शक-स्रोताको बेहद माया कमाइसकेका थिए । सुब्बाको यात्रामा परिवर्तन आयो, त्यसमा पनि बाध्यताको पुनर्वाश । साथी संगीबीच बढ़ेको मायाले आधार लिन नपाउँदै सुब्बा २००८ मा अमेरिका नयाँ जीवनको खोजीमा प्रवेश भए । सुब्बाको नयाँ जीवन र संगीतकलामा के कस्तो साधना भइरहेछ भन्ने विषयमा अर्जुन प्रधानले तयार पारेको यो सामाग्री हेरौं ।

अमेरिकाको बसाई कस्तो छ ?

अमेरिकाको बसाई ठीकै छ । यहाँ सोचेको कुरा गर्न गाह्रो नभएकाले सजिलैसँग चलिरहेछ जिन्दगी तर, भन्न सकिन्न भोलि के हुने हो । एउटा पुनर्स्थापना गराउने संस्थामै काम गर्दैछु । रमाइलो लाग्छ, आफैं जस्तै विभिन्न देशबाट पुनर्वाश भएका मानिसहरुसँग काम गर्न पाउँदा । साथै गीत-संगीतमा पनि सहभागी हुँदै साधनारत छु । बेलाबेला विभिन्न राज्यहरुमा हुँदै आइरहेका सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो सृजना प्रस्तुत गर्दै आएको छु ।

जीवनलाई संगीतले कसरी परिभाषित गर्छ ?

अर्जुन जी, यो त बडो गाह्रो प्रश्न सोध्नु भो ! मलाई त लाग्छ जीवन र संगीत एक अर्काका परिपूरक हुन् । गीत-संगीत भनेको भावना व्यक्त गर्ने एउटा माध्यम हो जस्ले ठूलो भुमिका खेलेको हुन्छ प्रत्यक मानिसको जीवनमा ।

“सूर” एल्बमपछि तपाईंको जीवनमा नयाँ मोड आएको हो ?

हल्का आएको महसुस गर्छु । मेरो शब्द-संगीतमा रहेको “तिमी आउने गोरेंटो” बोलको गितलाई गायक छवि न्याउपानेले गाउनु भएको हो । त्यसले राम्रैसँग चर्चा लियो । भर्खरै यसको भिडियो आर.डि. प्रोडक्सनले क्यानडाबाट निर्माण गरेको छ । राजेन्द्र भाइले राम्रो काम गर्नु भएको छ । यस अन्तरवार्ता मार्फत उहाँलाई अनेकन धन्यवाद दिनचाहन्छु । अर्को “चिट्ठी तिम्रो” बोलको गीत नेपालमा धेरैले मन पराइदिनु भो । यस एल्बमबाट नेपाली र भूटानीबीच धेरै-थोरै चिनिने मौका मिल्यो ।

“सूर” एल्बम किन आवश्यक थियो तपाईंको सांगितीक यात्रामा ?

कुनै पनि कलाकारलाई आफ्नो कलाप्रकाशन गर्ने रहर हुन्छ र, हुनु पनि पर्छ । यस्ले आफ्नो कलासंरक्षणमा मद्दत पुर्याउँछ र प्रचारको लागि पनि अनि प्रकाशन नभएको कलाको इतिहास छोटो हुन्छ जस्तो मलाई लाग्छ । यही रहरले मलाई पनि छाड़ेन । “सूर” नभएको भए पनि अरु कुनै न कुनै माध्यमबाट आइन्थ्यो होला । किन कोठे गायकमात्र हुनु भनी गायक छवि र मैले सन् २००६ तिर “सूर” एल्बम रेकर्डिङ गरी नयाँ अनुभव बटुल्ने मौका पायौं । साधना कलाकेन्द्रका साथीहरु असिम राई, मिन गुरुङ, मनित र विनिताका साथ र सहयोगबाट हामी अघि बड़्यौं ।

 हाल नयाँ के गर्दै हुनुहुन्छ?

काम सँगै नयाँ प्रकाशनमा आउन लागेको एल्बम “अम्बर” को तयारीमा छु ।

सुन्नमा आएको छ, तपाईं र पहिलो नेपाली तारा सन्तोष लामाको संयुक्त एल्बम “अम्बर” आउँदै छ ?

कुरो ठिकै हो अर्जुन जी । “अम्बर” एल्बम रिलिज हुन लागेको छ । जस्मा सबै गीतहरुमा संगीत मेरो छ । त्यसमा सन्तोष लामाले गाउनुभएको छ । सातवटा गीतहरुमध्ये पाँचवटामा मेरा शब्दहरु र एउटा सन्तोषजीको रहेको छ भने एउटा चाहिं शिव चम्लागाईं भाइको रहेको छ ।

एल्बमको नाम “अम्बर” चाहिं कसरी ?

नामचाहिं सन्तोष लामाले नै राख्नुभएको हो । मलाई पनि मनपर्यो । सबै काम भइसकेको छ । सि.डि प्रीन्ट्को लागि इन्डिया पठाइएको छ । कभर डिजाइन र एउटा भिडियो पनि तयार भइसकेको छ । अब चाँडै रिलिज हुँदैछ । आशा छ सबैले किनेर सुनिदिनु हुन्छहोला ।

एल्बम “अम्बर” मा कस्ता गीतहरु समावेश छन् ?

यस एल्बममा प्राय वियोगान्त भाव पोखिएको छ । एउटा वियोगमा परेको मान्छेमा भएको आशा, पीडा, दोष, र कोध्र सबै खालको भावना मिसिएको छ । यसमा कुरा काट्ने र खुट्टा तान्नेहरुका लागि पनि प्रश्न गरिएको छ । आफू सोझो र सबैको भलो चिताउने हुँदाहुँदै पनि कुरा काट्ने र तल झार्ने काम गर्छन् । आफूले राम्रो कुरा गर्दागर्दै पनि उल्टो सुनी कुरा बनाउनेहरुलाई ब्यंग्य गरिएको छ । यस्तो अवस्था सबैलाई पर्ने हुनाले यो गीत सबैले मनपराउनु हुनेछ भन्ने आशा छ ।

भुट्नीज डाइस्पोरा संगीतलाई तपाईं कसरी लिनु हुन्छ ?

एकदम सकारात्मक । भीटानी नेपाली संगीतको गती धेरै बढ़ेको छ । प्रताप सुब्बाले रोपेको बिउ कोपिला लागिसकेको छ । आशा छ चाँडै फुल्छ र फुलाउने काम हाम्रो काँधमा आएको छ । शरणागत अवस्थामा केहि कमि भए तापनि अब पुनर्वाश पछि यसको गती ह्वात्तै उठेको छ । धेरै खुशी लागेको छ केहि गर्न थालिएको छ । धेरैजना लागि परिरहनु भएको छ । धेरै प्रतिभाशाली गायक, संगीतकार, कलाकारहरु देखापरिसक्नु भएको छ । नयाँ नयाँ धारका गीत-संगीतहरुको उत्पादन भइरहेको छ ।

भूटानी सांगीतिक यात्रामा एकता छ होला ?

एकता नभएको भन्न सकिँदैन जस्तो मलाई लाग्छ । ठूलो कुरा त हामी फुटेको कहाँ छौं त ? समग्रमा हामी सबै एउटै लुपभित्रै छौं । सम्पर्क भइरहेको छ । विचार आदान-प्रदान गरिरहेका छौं । विस्तारै शुरु हुँदैछ, समय लाग्छ । नयाँ जीवन शुरु गरेको चारवर्षमात्र हुँदैछ । सबैलाई पुनर्वाश भएको स्थानमा पुनर्स्थपाना हुन समय लागिरहेको छ । हामीलाई एउटा छाता संगठनको आवस्यकता छ । सकारात्मक सोच राखौं, हामी सबै मिलेर भूटानी नेपाली कला, साहित्यलाई एक भई संरक्षणमा लागौं र साथ साथै माथिसम्म पुर्याउन मद्दत पुर्याइराखौं ।

अन्त्यमा

सबै भूटानी दाजु-भाइ, माता-पिता, दिदी-बहिनीहरुलाई मेरो विनम्र अनुरोध छ कि आफ्नो कला-साहित्य, संस्कृतिलगायत इतिहासलाई जहाँ रहेपनि संरक्षण गरिरहनुहोला । अन्त्यमा, सबै परिवर्तन गर्ने हातहरुलाई समाजले समर्थनलगायत माया दिनुपर्छ । मेरो “अम्बर” एल्बम हजुरहरुको हात हातमा पर्ने छ भन्ने आशा छ, कृपया एकचोटि सुनी सुझाव र सल्लाह दिनुहोला । अर्जुन भाइलाई अनेकन धन्यबाद ।