Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारमानस आक्रमणमा एकको मृत्यु, दुई घाइते

मानस आक्रमणमा एकको मृत्यु, दुई घाइते

पूर्वी भूटानको मानस क्षेत्रमा सेप्टेम्बर ११ को साँझ एउटा अज्ञात समूहले रोयल भूटान आर्मी (आरबीए)-का एक जवानको हत्या गरेको गरेको छ भने अन्य दुईजनालाई गम्भीर घाइते बनाएको समाचार प्राप्त भएको छ।

भारत-भूटान सीमास्थित हाम्रा समाचारदाताका अनुसार रोयल मानस नेशनल पार्कमा नियमित गस्तिमा रहेको आरबीएको टोलीमाथि सो अज्ञात समूहले आकस्मिक गोली वर्षाएको थियो।

यता सरकारी मुखपत्र क्युनसेलले भने गेलेफुको सेना बाहिनी शाखा १-बाट गएको सो टोलीले गोबरकुण्डमा बेलुकाको खाना बनाउँदै गर्दा करिब ६.३० देखि ७ बजेबीच सो समूहले एक्कासी गोली चलाएको जनाएको छ। गेलेफुबाट पूर्वतर्फ पानबाङ जाने क्रममा दुई दिनको पैदलयात्रापछि गोबरकुण्ड पुगिन्छ। 

मृतक सैनिक ४४ वर्षीय पेल्जाप रहेका थाहा भएको छ भने घाइतेमध्ये हात-खुट्टामा गम्भीर चोट लागेको जनाइएको छ। विशेष सूत्रका अनुसार सो बेलुकी ३५ सैनिक जवान र दुईजना सैनिक अधिकृतहरूको टोली गोबरकुण्ड नदीको किनारमा बास बसेको थियो।

मृतक पेल्जापको शव र अन्य दुई घाइते सैनिक जवानलाई आइतबार बेलुकी गेलेफु ल्याइएको क्युनसेलले जनाएको छ। मृतक पेल्जापका श्रीमती र तीन सन्तान छन्। यो समाचार तयार पारुञ्जेलसम्म कुनै व्यक्ति वा समूहले सो हत्याको जिम्मेवारी लिएको छैन।