‘शिक्षा र सशक्तिकरणमार्फत न्याय’- भन्ने नाराका साथ भूटानी शहीदहरूको योगदानलाई पहिचान दिन पूण्य फाउण्डेशनले आफ्नो आधिकारिक घोषणा गरेको छ । सो फाउण्डेशनका संस्थापक अध्यक्ष टेकबीर क्षेत्रीले जनाएअनुसार भूटानमा मानवाधिकार र प्रजातन्त्रका लागि कदम बढाउँदा ज्यान गुमाउने शहीदहरूको स्मृतिमा यो संस्थालाई औपचारिकता दिइएको हो ।
वर्तमान परिवेशमा नेपालमा रहेका र विभिन्न पश्चिमी देशहरूमा पुनर्वाशमा पुगेका सबै भूटानी मिलेर कल्याणकारी कोषको रूपमा यो संस्थालाई अघि लगिने सम्बन्धित स्रोतले जनाएको छ । फाउण्डेशनले विश्वभरि छरिएका भूटानीमध्ये शहीदका बालबालिका, राजनीतिक वन्दीहरू र अन्य अशक्त बालबालिकालाई सहयोग गर्ने आधारभूत लक्ष्य राखेको जनाइएको छ । शहीदका विधवा तथा अनाथ बालबालिकाहरूका लागि कल्याणकारी योजना ल्याउनका साथै फाउण्डेशनले भूटानी संस्कृतिको संरक्षणतर्फसेत ध्यान दिने जनाइएको छ । अमेरिका, यूरोप, अष्ट्रेलिया, नेपाल र भूटानमा संयोजनकहरू क्रियाशील भएको यो संस्थामा कुल ३३ जनाको कार्यसमिति रहेको अध्यक्ष टेकवीर क्षेत्रीले बताएका छन् ।
फाउण्डेशनको तत्कालीन योजनामा यही महिनाको २४ देखि २६ सम्म अमेरिकाको अटलण्टा (जर्जिया), वाशिङ्टन तथा नेपालमा गरी क्रमशः हिन्दू, इशाई र बौद्ध विधिबाट शहीदहरूको मुक्तिकामना गरिने कार्यक्रम रहेको जनाइएको छ भने कार्यक्रम समापनको दिन फाउण्डेशनले उच्चशिक्षाको लागि उत्सुक विद्धार्थीलाई सहायता योजनाको घोषणा र आवेदनसमेत आह्वान गरिने बताइएको छ ।
We recently launched so if you see any technical glitches please email us at: [email protected]