समुद्र पारिका विभिन्न देशमा पुगेका भूटानीहरूले ६२ औं विश्व-मानवाधिकार दिवसको संयोग पारेर भूटानी राजनीतिक बन्दीहरूको मुक्तिका लागि विश्वव्यापी अभियान सञ्चालन गरेका छन् । पश्चिमा मुलुकका विभिन्न क्षेत्रमा क्रियाशील भूटान समाचार सेवाका प्रतिनिधिहरूले जनाएअनुसार भूटानका कैदखानामा रहेका सयौं राजनीतिक बन्दीहरूको पीड़ातर्फ चासो दिँदै तत्काल रिहाइको निम्ति पहल गरिदिन आग्रहसहित सयौं भूटानीहरूले समूहगत तथा व्यक्तिगत रूपमा विश्वभरिका अनेकौं अधिकारवादी संघ-संगठन र संयुक्त राष्ट्रसंघीय महासचिव वान कि मूनलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।
यस सम्बन्धमा नेदरल्याण्डबाट प्राप्त जानकारीअनुसार त्यहाँका भूटानीहरूको प्रतिनिधित्व गर्दै एउटा सात सदस्यीय टोलीले त्यहाँको संसदमा वैदेशिक शाखा हेर्ने समितिका सदस्यहरूलाई भेटी भूटानी राजनीतिक बन्दीहरूको अवस्थातर्फ तत्काल चासो देखाइदिन आग्रसहित ज्ञापन पत्र बुझाएको छ ।
यूरोपका नोरवे, नेदरल्याण्ड, डेनमार्क, जर्मनीलगायत बेलायतमा बस्ने भूटानीहरूले राजबन्दीको मुक्तिका लागि सञ्चालित सो अभियानमा सक्रियता देखाएका छन् भने यसरी नै अमेरिका, अष्ट्रेलिया, क्यानाडा र पूर्व एशियाको फिलिपिन्ससमेतबाट भूटानीहरूले सो अभियानमा योगदान पुर्याएका छन् ।