Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारस्वदेश फिर्तीको चर्चामा नेताहरु

स्वदेश फिर्तीको चर्चामा नेताहरु

शरणार्थी स्वदेश फिर्ती समितिका अध्यक्ष डा. भम्पा राईले भूटानी शरणार्थी अगुवाहरुको कारण स्वदेश फिर्तीको आन्दोलन सफल हुन नसकेको बताएका छन् ।
भूटानको १०३ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार झापाको दमकमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष राईले अहिले भुटानी शरणार्थीहरुमा अभिभावक संस्थाको खाँचो रहेकोले पहिला अभिभवकको चयन गर्नु पर्नेमा जोड दिएको झापाबाट तितोपिरोमिठो डटकमले जनाएको छ ।
त्यस्तै, कार्यक्रममा भारतबाट आएका भूटानी स्वदेश फिर्ती आन्दोलनका सहयोगी तथा नेपाल भारत भुटानका बुद्धिजिविहरुको संगठन साप्पेका सदस्य शैलेन्द्र अरोराले भूटानीहरुको तेस्रो मुलुक पुनर्स्थापनालाई मानव तस्करीको संज्ञा दिँदै उक्त मानव तस्करीमा भूटान, भारत र नेपाल तीनैवटा देशहरु संलग्न रहेको आरोप लगाएका छन् ।
उनले यसरी खुलेआम भइरहेको मानव तस्कारीलाई रोक्न नेपालका मानव अधिकारवादीहरुको ध्यानाकर्षण गराएका थिए । नेपाल, भारत र भुटानको संबन्धलाई अझ सुमधुर बनाउन पर्ने कुरामा पनि अरोराले जोड दिए ।
ड्रुक नेशनल काँग्रेस भूटानका उपाध्यक्ष थिन्ले पेन्जोरको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा दमकका शिक्षासेवी जय बहादुर श्रेष्ठ, नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य चित्रबहादुर बस्नेत, भूटानी मानव अधिकारवादी डीपी काफ्ले, ड्रुक नेशनल कांग्रेसका अर्का उपाध्यक्ष उर्गेन वाङचुक लगायतले बोलेका थिए ।
उता शुक्रबारै दमकमा आयोजना गरिएको पत्रकार सम्मेलनका बीच भूटानी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिका संयोजक हर्कजंग सुब्बाले शरणार्थीको हित चाहनेले तीनवटै विकल्पलाई खुल्ला गर्नु पर्ने बताएका छन् ।
स्वदेश फिर्ती आन्दोलन ओझेलमा परेको प्रति अधिकांश शरणार्थी चिन्तित रहेको बताउँदै संयोजक सुब्बाले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई कुटनीतिक प्रयासका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाइएको बताए ।
सुब्बाका अनुसार केही वर्षयता स्थगित नेपाल-भूटान वार्ता सुचारु गराउन नेपाल सरकारलाई अपिल गरिएको हो ।