Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसामाजिक सञ्जालमा सम्प्रेषण

सामाजिक सञ्जालमा सम्प्रेषण

सी एम निरौला

यदि दुरुपयोग नगरिने हो भने सामाजिक सञ्जाल आधुनिक युगमा वरदान साबित हुन सक्छ | प्रत्येक व्यक्तिको औंलाले खेलाएको सामाजिक सञ्जालमा व्यक्तिले देखेको समाजको झलक प्रसारण भइरहेको हामीले बुझेका छौँ | पुनर्वासपछि भूटानी युवा युवतीले सामाजिक सञ्जालको प्रयोग या दुरुपयोग, के गर्दैछन भन्ने कुरा चर्चा गर्न लायक विषय भएको छ | यस्तो प्रसारण र सम्प्रेषणले व्यक्ति स्वयंको परिचय पनि खुल्न कुनै बाँकी रहेको छैन अब |

कसैले नितान्त व्यक्ति र परिवारको दैनिकी सम्प्रेसण गरेका छन् भने केही समाजलाई सगोल इकाइको रूपमा हेर्नेहरुले सामाजिक विषयलाई आफ्नो प्रसारणको ध्येय बनाएका छन् |

कसैले समाजलाई हसाउन, कसैले चेतनशील बनाउन र कतिले संवृद्ध समाज विकासका निम्ति कुनै न कुनै उपाय अपनाइरहेका हुन्छन् | हामी जस्ता पीडैपीडा, तिरस्कार र अवहेलना सहेर नयाँ ठाउँमा नयाँ जीवन जिउन सिक्नेहरूलाई त यी सबै पक्कै मनोरन्जन र हास्यप्रधान कार्यक्रमको आवश्यकता छ। फेसबुक लाइभ भन्ने पनि कुनै दिन सञ्चारको माध्यम होला भन्ने शरणार्थीले कहिले न त सोचेका थिए न त कहिले कल्पना नै गरेका थिए !

आजकल यो अत्याधुनिक आविष्कारले त संसारलाई आकाशमा देखिने ग्रहभन्दा साँघुरो बनाएको छ । घरैमा बसीबसी संसार देख्न/बुझ्न सकिन्छ । सामाजिक सन्जालमा छ्याप् छ्याप्ती समाचार, अन्धविश्वासी धामीलाई छ्याप् छ्याप्ती बताऊ भन्दै चिच्याउनै नपर्ने !

गत तिज र २०७२ सालको दसैँमा त यो कुराले मान्यता नै पायो । एक समूह समाजमा मनोरन्जन, शिक्षा र भलाकुसारीका निम्ति लागि नै परेर फेसबुकमा लाइभ चलाइरहेको छ !

“लाइभ ह्विथ भोला” नामक कार्यक्रम लएर पिट्स्वर्गका भोला ढुङ्गाना हरेक बिहीबार फेसबुकमा छाउँछन् र ज्ञानबर्द्धक प्रत्यक्ष कार्यक्रम सन्चालन गर्छन् । मन्द मुस्कानका साथ मृदुभाषी भोला प्राय जसो हसाउनभन्दा पनि सामाजिक चेतना, ज्ञान, शिक्षालाई मध्यनजर राख्दै अन्धविश्वास र कुरीतिका विरुद्ध पाठ सिकाइ रहेको पाइन्छ । परिस्थतिलाई नियलेर कार्यक्रम पस्कने गर्छन् यिनी।
पुनर्बासपछि मानसिक प्रताडना वा सामजिक निरीहता छाएको भूटानी समाजमा बिस्तारै सहजतातर्फ उन्मुख भएसँगै यस्ता प्रस्तुतिले अन्योलमा रहेकालाई पनि राहत मिलेको पाइन्छ !

शनिवार ल्याङ ल्याङ् नामक हास्यप्रधान कार्यक्रममा सोही शहरका व्यापारी भानु फुँयालले पनि दर्शकलाई मज्जाले हसाउँछन् र हाँस्छन् पनि ! यहाँ हसाउनु र हास्नु भन्दा पनि मैँले पाएको चाहिँ पीडामा परेका र हाँस्न नसक्नेलाई यी प्रस्तोता द्वयले हसाएका छन्, नयाँ कुरा सिक्न खोज्नेलाई सिकाएका छन् र बिरक्तिएर थन्किएका मनहरूलाई यस्ता कार्यक्रममले हौसला दिएका छन् ।

यसरी नै हरेक आइतबार आलस्काका लिला मिस्र पनि समाजमा फेसबुक लाइभ मार्फत सकारात्मक सन्देश प्रवाह गर्दैछन् ।उनले पनि समय सान्दर्भिक विषयवस्तु उठाएको पाइन्छ | यसरी विभिन्न कार्यक्रम लाइभ आउँदा समाजका बुज्रुकदेखि सर्वसाधारणले आनन्द लिएको पाउन सकिन्छ । कति पयले त कामबाटै बिदा लिएर फोन गरेको भन्ने सम्वाद सुन्दा समाजमा मनोरन्जनको आवश्यकता खड्केको स्पष्ट हुन्छ !

हुन पनि पुनर्वासअघिको अन्धकार भए पनि खुल्ला जीवनयापन र कामै कामले चापेको यो जीवन तुलाना गर्नै नसकिने फरक छ र मान्छेमा कुनै न कुनै पीडाबोध छ तर यस्ता हास्य कार्यक्रम हुन् या सामाजिक सन्देश प्रवाह गर्ने कार्यक्रम, यी सबैलाई नियाल्ने हो भने मानिसले केही समय भए पनि आनन्द लिएको पाइन्छ । हास्न चाहनेलाई हसाउने वा ज्ञान बाड्ने काम रहरले नै यस्ता हस्तिले बाँड्दैछन् ।

एक दिन भोला ढुंगानालाई झटारो हानेँ मैँले – फेसबुक लाइभ किन आवश्यक छ ? फोनमा एकैछिन् हाँसेर उनलाई सामाजिक दाहित्व ठानेको र समाजमा जनचेतनाका निम्ति यो कार्यक्रम सन्चालन गरेको प्रस्ट पारे । फेरि उनलाई पनि कतिपयले त यसको दुरुपयोग गरेको र समाजलाई अपाच्य हुने काम गरेको समेत भन्ने उनले बताए ! फोनको कुराकानीमा उनले कुनै समूह वा व्यक्तिलाई असर पर्ने किर्य क्रियाकलापहरू फेसबुकमा लाइभ नगर्न समेत अनुरोध गर्दै थपे, “सकारात्मक सन्देश प्रवाह गरौँ जसमा समाजको हित होस् । म त अझ नाम चलेका संस्था, स्रष्टा वा व्यक्तिले पनि यसको थालनी गरेर अन्योलमा परेकाहरूलाई सहयोग गरौँ भन्न चाहान्छु ।”

भानु फुँयलको भने आफूले हसाउनुभन्दा पनि सेवा पुर्याएको महसुस गर्नछन् । भन्छन्, “मानिसलाई जीवनमा मनोरन्जनको आवश्यकता पर्छ। भाषागत समस्या भएका मानिसलाई हसाउनु नै मेरो दायित्व हो ।

समाजदर्शी जागरुक लेखक रोम विष्ट पनि फेसबुक लाइभले सकारात्मक पक्षलाई मात्र नभएर जथाभावी अनावश्यक बस्तु जस्तै कोठामामा सुतेको, हिल्लिएका कुराहरू देख्दा दिक्क लागेको बताउँछन् ! सकारात्मक र सन्देशमूलक कार्यक्रमहरूलाई भने पक्कै प्रोत्सान गर्नुपर्ने उनको बुझाइ छ । हामीसँग धेरै विषयहरू छन् जसले यहाँका मानिसलाई सहज जीवन जिउन प्रेणा दिन्छ । त्यस्ता क्रयाक्रम ल्यउन र समाजलाई चेतनशील बनाउन सल्लाह दिन्छन् उनी ।

सकारात्मक मात्र होइन, रमाइलोको नाममा जथाभावी लाइभ गर्ने र समाजमा दखल पुर्‍याउने किसिमका लाइभलाई निरूत्साहित गर्न सक्नु र समाजमा मनोरन्जन र ज्ञानबर्द्धक कार्यलाई चाहिँ सम्मान गर्दै यस्ता कामको थालनी गर्नेहरूलाई हौसला प्रदान गर्नका साथै उनीहरूलाई सहयोग गर्नु असल नागरिकको जिम्मेवारी पनि हो ।

साथसाथै सामाजिक सञ्जालको चंगुल भित्र फँस्न पनि कुनै बेर लाग्ने छैन भन्ने चेतना समेत फैल्याउन उत्तिकै जरुरि छ |