न्यु ह्याम्सर । विश्व भूटानी साहित्य संगठन (ग्लोबल भूट्निज लिटरेरी अर्गनाइजेसन; जिबिएलओ) को सामयिक सन्दर्शन तथा साहित्यिक सम्मेलन २०१८ शनिबार र आइतबार (सेप्टेम्बर १ र २) मा नर्थ क्यारोलाइना राज्यको सार्लोट्टमा भएको छ । सम्मेलन जिबिएलओको नर्थ क्यारोलिना च्याप्टरले आयोजना गरेको हो भने भूट्निज कम्युनिटी एशोसिएसन अफ सार्लोट्ट (बिसिएसी) ले सहायता गरेको थियो । च्याप्टरले प्रत्येक वर्षमा गर्ने यो सम्मेलन गत दुई वर्ष भएन, सन् २०१५ को सम्मेलन जर्जियामा भएको थियो ।
संस्थाले ”बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान” नामक अर्को बृहत् सम्मेलनको आयोजना गर्दै आएको छ । यो दुई वर्षे अनुष्ठान सन् २०१२ मा नेपालमा पहिलोपटक गरिएको थियो । त्यसपछि सन् २०१४ मा नेब्रास्का र सन् २०१६ टेक्ससमा भयो । सन् २०१८ मा हुन सकेन् । अब अनुष्ठान ३ वर्षमा हुने भएको छ र आगामी अनुष्ठान सन् २०१९ मा न्युजिल्याण्डमा हुँदैछ । सन् २०१६ मा अनुष्ठान गर्नु परेकाले च्याप्टरले गर्ने सम्मेलन हुनसकेन । सन् २०१६ को अनुष्ठानको आर्थिक-भारले सन् २०१७ को च्याप्टरले गर्ने सम्मेलन रोकिएको जिबिएलओका अध्यक्ष डेन्जोम राईले बताउनुभयो ।
‘‘अघिल्लो दिनको कार्यक्रमलाई साहित्यिक साँझ नाम दिइएको थिए, जसमा रचना वाचनहरू भएका थिए,” जिबिएलओ नर्थ क्यारोलिना च्याप्टरका ओम अधिकारी गोर्खालीले बताउनुभयो । सम्मेलनको दुवै दिन उल्लेख्य उपस्थिति थियो ।
बाह्र राज्यका प्रतिनिधिहरूको उपस्थिति रहेको ‘‘कला, भाषा र साहित्यमा समर्पित” को नारासहितको सम्मेलनको दोस्रो दिन जिबिएलओ अध्यक्ष राईले वार्षिक प्रतिवेदनले प्रस्तुत गर्नुभयो भने २ वटा पुस्तक विमोचन र २ पुस्तकको समीक्षा गरिएको थियो । ईश्वर ढकालको रूवाइ–संग्रह ‘‘अक्षरहरूको जुलूस”, पञ्चमान गुरूङ्गको ‘‘मेरो जीवन” नामक आत्मकथा, र पातलो अन्तरेको ‘‘अक्षर” विमोचित भए भने अन्तरेकै ‘‘अक्षर” र आभाष रिखामको ”प्रश्नहरूको पहाड” को समीक्षा गरिएको थियो । ‘‘अक्षर” को विमोचन दार्जिलिङ्गमा गत जूनमा गरिएको भए पनि अमेरिकामा दोस्रोपटक गरिएको हो ।
कार्यक्रममा बोल्दै अग्रज तथा प्रमुख अतिथि गंगाराम लामिटारेमा नातीको पुस्तामा भाषा संकट परेकाले भाषा संरक्षणमा जोड दिनपुर्छ भन्नुभयो । श्रष्टाहरूले रचना वाचन, नृत्य, गीत आदि प्रस्तुत गर्नुभएको थियो । नेपाली भाषा शिक्षणमा समर्पित हर्क प्रधान राई, भूमा ज्ञवाली, लक्ष्मी फुँयल, र मनसरी राईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा दिनेश चाम्लिङ्ग पुरस्कार, र विश्व नेपाली साहित्य पुरस्कारको घोषणा गरियो । जिबिएलओको साहित्यिक अनलाइन मुख–पत्रिका भूटनिजराइटर्स डट कमको आरम्भ गरियो ।
जिबिएलओको स्थापना सन् २००९ मा भएको हो । विश्व भूटानी साहित्य संगठनले संगठन विस्तार गर्दै ठाउँ–ठाउँमा आधा दर्जनभन्दा बढी च्याप्टरहरू बनाएको छ । पटकपटक यसका ठूला सम्मेलन र साना–तिना कार्यक्रम भएका छन् । करिब ३ दर्जन पुस्तक प्रकाशितसमेत गरेको यो संगठनले नेपाली मूलका साहित्यिक संस्थासँग निकटता बढाएको छ ।
(कोइराला, अक्षरिकाका सम्पादक पनि हुन् ।)