न्यु ह्याम्सर । पेन्सलभेनिया राज्यको ह्यारिशवर्गमा शनिबार (नोभेम्बर ३, २०१८) मा भएको १०९ औं लक्ष्मी जयन्तीका अवसरमा युवा गीतकार बालकृष्ण न्यौपानेको गीति-संग्रह ‘प्रशंसा’ को विमोचन गरिएको छ । कार्यक्रम कृतिको प्रकाशक संस्था त्रिवेणी साहित्य मञ्चले गरेको थियो ।
साहित्य स्रस्टा मञ्जु खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि हरि फुँयाल, र विशेष अतिथि गंगा लामिटारे हुनुहुन्थ्यो । गंगा लामिटारे, हरि फुँयाल, अर्जुन रसाइली, आरबी खड्का, आदिले सामूहिक रूपमा कृतिको विमोचन गर्नुभयो भने मञ्चको विकासमा सहायता गर्ने भक्त घिमिरे, डि. बि. सारूलगायत २१ व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
‘यो मेरो पहिलो पुस्तक हो,’ गीतकार न्यौपानेले भन्नुभयो, ‘आफ्ना शिक्षक लामिटारेकै हातबाट विमोचन गराउन पाएँ ।’ कार्यक्रम करिब एक सय जनाको उपस्थिति थियो ।
कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीमाथि प्रकाश पारिएको थियो । रचना-वाचन, सांगीतिक प्रस्तुतिहरू भएका थिए । मञ्चका उपाध्यक्ष तथा विमोचन कार्यक्रम संयोजक केशव घिमिरे बैरागी माइलोको ‘सुसेली हाली बोलाउँदा’ को अडियो पनि सार्वजनिक गरिएको थियो ।
विमोचित कृतिमा न्यौपानेले ७२ वटा गीतलाई संग्रह गरेका छन् । नेपालमा मुद्रण गरिएको कृतिको मूल्य ९.९९ डलर राखिएको छ । ‘त्रिवेणी साहित्य मञ्चले निकालेको यो पहिलो कृति हो,’ बैरागी माइलोले भूटान न्युज सर्भिसलाई जानकारी दिनुभयो ।
मातृभाषा र साहित्यको विकासका लागि साहित्य मञ्चको स्थापना स्थानीय स्तरका स्रष्टाहरू समेट्ने गरी सन् २०१७ मा ह्यारिशवर्गमा भएको हो । मञ्चले महिना-महिनामा रचना-वाचन गर्दै आएको छ र तालिमहरू पनि चलाउँदै आएको छ । तेस्रो मुलुक पुनर्वासपछि आफ्नो भाषा–संस्कृति जोगाइ राख्न १३ डिसेम्बर २०१४ मा स्थापित युवाहरूको समूह ‘मातृभाषा संरक्षण समूह’ विश्वभरका स्रष्टा समेट्छ भने मञ्चले स्थानीय स्रष्टा समेट्ने गरेको बैरागी माइलोले बताउनुभयो ।
(कोइराला, अक्षरिका नेपाली न्युजलेटरका सम्पादक पनि हुन् ।)