Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीम भवानी, म भरोसा

म भवानी, म भरोसा

लेखक
लेखक

राजेश कोइराला

मेरो नाम भवानी दंगाल हो । म भूटानको ललाई भन्ने ठाउँमा जन्मेको हुँ । अरू भूटानी जस्तै हाम्रो परिवार भूटानबाट लखेटिएको हो । हामी भारत हुँदै नेपाल आएका हौँ । म नेपालमा हुर्केको हुँ ।

मेरो कथा अरूको भन्दा भिन्न छ । म कान सुन्दिनँ । म ९ वर्षको भएपछि कान सुन्न छाडेको हुँ । त्यसअघि म ठिकै थिएँ । सुन्थें ।

सांकेतिक भाषा सिकें
नेपालको गोलधाप शरणार्थी शिविरमा बस्दा मैले बहिरा तथा श्रवण शक्ति नभएका व्यक्तिहरूको राष्ट्रिय संस्थामार्फत नेपाली सांकेतिक भाषा (एनएसएल) सिकेको हुँ । शिविरमा सेभ द चिल्ड्रेन-युके तथा कारितास नेपालको सहयोगले गर्दा मैले सो भाषा सिक्ने अवसर पाएको थिएँ ।

मैले हाम्रो शिविरभित्र रहेका बहिरा, सुस्त श्रवण तथा अन्य अपाङ्ग व्यक्तिका लागि काम गरेँ । मैले ३ वर्षसम्म शरणार्थी शिविरमा अपाङ्ग कार्यक्रम केन्द्रमा रहेर सांकेतिक भाषा सिकाउनुका साथै अपांगता संस्थामा सहायक (एसिस्टेन्स) पदमा रहेर काम गरेँ । मैले नेपालमै कक्षा १२ सम्म पढें ।

दोभाषे प्रशिक्षण कक्षामा भवानी दङ्गाल
दोभाषे प्रशिक्षण कक्षामा भवानी दङ्गाल

अनि म अमेरिका आएँ
सन् २०११ अक्टोबर महिनामा म अमेरिका आएको हुँ । म न्यु ह्याम्सरको कंकर्ड आएँ, मैले नयाँ जीवनमा सफलता हात पार्न अमेरिकी सांकेतिक भाषा (एएसएल) सिक्न आवश्यक छ भन्ने महसुस गरेँ । यहाँ पनि सिक्ने काम रोकिन । मैले नर्थ-इस्ट डेफ एन्ड हार्ड अफ हेयरिङ सर्भिसेस तथा बहिरा स्वयंसेवकबाट अमेरिकी सांकेतिक भाषा सिकेँ ।

नेपाली सांकेतिक भाषालाई एनएसएल भनिन्छ भने अमेरिकीलाई अमेरिकी सांकेतिक भाषा, एएसएल भनिन्छ । एनएसएल र एएसएल धेरै फरक छन्, एनएसएलको भूटानी शरणार्थीबाहेक एकदमै थोरै प्रयोगकर्ता छन् ।

यसो भनौं न नेपाली-भाषीले नेपाली सांकेतिक भाषामा मलाई सङ्केत गर्नुहुन्छ र म अङ्ग्रेजी-भाषीलाई अमेरिकी सांकेतिक भाषामा सङ्केत गर्छु ।
यहाँ मैँले शरणार्थी शिविरबाट आएका हामीजस्ता अन्य सदस्यलाई उक्त भाषा सिकाएँ । अरूलाई सिकाउन त सुरुमा अलि गाह्रो भयो । तर सिकाउँदै जाँदा सजिलो हुँदै गयो ।

सांकेतिक भाषा शिक्षक र दोभाषे
हाल म सांकेतिक भाषाको दोभाषेको काम गर्छु । साथै अमेरिकी सांकेतिक भाषा सिकाउँछु ।
म कंकर्ड र म्यानचेस्टरमा सांकेतिक भाषा सिकाउँछु । अन्य समयमा हाम्रो राज्यका बहिरा तथा सुस्त-श्रवण भएकालाई परेको काममा मद्दत गर्छु ।
म अमेरिका आएका हाम्रो देश वा अन्य देशबाट आएका आफू जस्ता कान नसुन्नेलाई सहयोग गर्न चाहन्छु ।

मेरा आफ्ना कुरा
मेरो परिवार यहाँ ठुलो छ । तर हामी सरकारी घरमा बसेकाले छुट्टाछुट्टै बसेका छौँ । पहिला नेपालमा एकै परिवार थियो । अहिले चाहिँ हामी चार जना, जसमा दुई छोरा, एउटा ७ वर्षको र अर्को २० महिनाको र श्रीमती गरी ४ जना छौँ ।
म ३० वर्षको भएँ ।
म नेपाली, अङ्ग्रेजी लेख्न तथा नेपाली बोल्न सक्छु ।
मलाई हाम्रो परम्परा धर्मअनुसार मनाउँदै आएको दसैँ र तिहार मन पर्छ ।

अन्त्यमा धन्यवाद
अमेरिकामा मलाई सांकेतिक भाषा सिकाउन युआर भोकेसनल रिहाबिलेसन तथा नर्थइस्ट डेफ एन्ड हार्ड अफ हेयरिङ सर्भिसेसले सहयोग गर्‍यो । म यी संस्थाबाहेक भूट्नीज कम्युनिटी अफ न्यु ह्याम्सर, डिसएबिलिटी राइट्स सेन्टर र ग्रेनाइट स्टेट इन्डिपेन्डेन्ट लिभिङलाई धन्यवाद दिन चाहन्छु ।

(यो स्तम्भ ‘अक्षरिका’ को जुलाई, २०१५ बाट लिइएको हो ।  न्यु ह्याम्सरको म्यानचेस्टरमा साउथ न्यु ह्याम्सर एरिया हेल्थ एजुकेसन सेन्टरका तर्फबाट प्रशिक्षक फ्लोरेन्टिना डिनुले दिएको दोभाषे तालिममा सहभागी भवानीसँग स्तम्भकार तथा अक्षरिकाका सम्पादक राजेश कोइरालाले गरेको सवाल-जवाफमा आधारित आलेख हो यो । कोइराला www.koirala.com.np मा नियमित ब्लग गर्दछन् – सम्पादक)