पिट्सवर्ग । मिस भूटान युएसए २०१९ को उपाधि कविता अहङ्कारीले हात पारेकी छन् । उनले ६ प्रतिस्पर्धी: बन्दना कोइराला, प्रेज्ञ्ना सिवाकोटी, सिता चौहान, सुस्मिता सुब्बा, र पूजा क्षेत्रीलाई जुलाई २८ को अन्तिम प्रतिष्पर्धामा जितेकी हुन् । उनलाई पछ्याउँदै सुस्मिता सुब्बा फर्स्ट रनर-अप, र पूजा क्षेत्री सेकेन्ड रनर-अप भएका छन् । अन्तिम प्रतिस्पर्धासहितको सांस्कृतिक कार्यक्रम पेन्सलभेनियाको पिट्सवर्गमा भएको थियो ।
यसअघि प्रकृति राई (२०१४), नुमा लिम्बू (२०१५), विमला शिवाकोटी (२०१६), आरती घिसिङ तामाङ (२०१७) र सुचिता प्रधान (२०१८) ले जितेका थिए । यसअघिका प्रतियोगिताहरू: सन् २०१४ मा पहिलोपटक ह्युस्टन, टेक्सस, त्यसपछि हरेक वर्ष क्रमश: टेनेसीको न्याशभिल, ओहायो राज्यको क्लिभल्याण्ड, पेन्सलभेनिया राज्यको ह्यारिसवर्ग, ओहायोको कोलम्बस, र अहिले पेन्सलभेनियाको पिट्सवर्ग आइपुगेको हो ।
सत्रदेखि २८ वर्षका अमेरिकामा बसोबास गराइएका भूटानी युवतीमाझ मिस युएस भूटान छान्ने यो प्रतियोगिता हिमालयन फेस्टिभल युएसए (एचएफयुएसए) ले आफ्नो एक इभेन्टका रूपमा आयोजना गर्दै आएको छ । एचएफयुएसए, क्यालिफोर्नियामा गैरनाफामुखी संस्थाका रूपमा दर्ता छ ।