कोलम्बस । तीन दिने गीता आध्यात्मिक सम्मेलन – २०१९ ओहायो राज्यको कोलम्बसमा आइतबार (जुलाई २८) सम्पन्न भएको छ । विश्व भूटानी हिन्दू संगठन र वैदिक सेवा समाज, कोलम्बसको संयुक्त आयोजनामा भएको सम्मेलन शुक्रबार (जुलाई २६) शुरू भएको थियो ।
सम्मलेनका मुख्य अतिथि प्रा. डा. माधवप्रसाद भट्टराईलगायत करिब एक दर्जन ज्ञाताहरूले धर्मसम्बन्धी प्रवचन दिएका थिए । विशेष प्रस्तुतिहरूमा वेद लुइटेल (विषय: सनातन र विज्ञान), डा. लक्ष्मी नेपाल (विषय: वैदिक सनातन धर्मको संरक्षणमा नारीको योगदान), खिम खतिवडा (विषय: श्रीमद्भगवद्गीता र आत्मविकास), आचार्य भीम तिम्सिना (विषय: सम्प्रदाय र वैदिक सनातन धर्म), महानन्द लुइटेल (विषय: सनातन धर्मका गौरवमय पक्षहरू), प्रा. डा. माधवप्रसाद भट्टराई (विषय: वैदिक सनातन धर्म), आचार्य वेदनिधि सुवेदी (विषय: शुभ आशिर्वचन), विदुषी देवका खनाल (विषय: हाम्रो ग्रन्थ र उपदेश), स्वामी निखिलानन्द (विषय: भागवत गीता), स्वामी चक्रपाणी प्रपन्ना (विषय: गीता के हो र गीतमा के छ ?) रहे ।
सम्मेलनमा करिब १० राज्य र ती राज्यका १६ वटा धार्मिक संस्थाहरू सहभागी भए । कार्यक्रमका मुख्य आकर्षणहरमा विभिन्न गुरुजन/मान्यजनबाट प्रवचन, विभिन्न शहरका भजन मण्डली वा धार्मिक संस्थाहरूबाट भजन प्रस्तुत, बालन/संगिनी/भजनमा नृत्यहरू, कविता वाचन, पुस्तक विमोचन (षेड संस्कार, सरल नेपाली किताब) निःशुल्क गीता पुस्तक वितरण तथा पुरस्कार/उपहार वितरण रहे ।
कार्यक्रम समग्र भूटानी दाजुभाइ तथा दिदीबहिनीहरूको शान्तिको कामना गर्न यो सम्मेलन गरिएको आयोजक संस्थाले बताएका छन् । विश्व भूटानी हिन्दू संगठन (ग्लोबल भूटनिज हिन्दु अर्गनाइजेसन) को स्थापना सन् २०१३ मा भएको हो । यो अमेरिकामा गैरनाफामुलक संस्थाका रूपमा दर्ता छ । वैदिक सेवा समाज कोलम्बसको स्थापना पनि सन् २०१३ मै भएको हो ।
विश्व भूटानी हिन्दू संगठनले भूटानी हिन्दू समाजसँग मिलेर गत वर्ष अगस्तमा केन्टकी राज्यको लुईभिलमा त्रि-दिवसीय धार्मिक प्रवचन कार्यक्रम गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का अनुसार अमेरिकामा पुनर्स्थापित करिब ९७ हजार भूटानीमध्ये सबभन्दा धेरै हिन्दू धर्मावलम्बीहरू ५७.४० प्रतिशत छन् ।