अष्ट्रेलियाको सिड्नीमा नेपियन आर्ट एन्ड डिजाइन सेन्टरले भर्खरै आयोजना गरेको पिपुलस् च्वाइस् आर्ट अवार्ड र स्टुडेन्ट एक्वीसिटिभ आर्ट अवार्ड दुवै पुरस्कारबाट सम्मानित भएका छन् नवल खतिवडा । हुन त गत सालको प्रतिस्पर्धामा पनि उनका चित्र छनोटमा नपरेका होइनन् तर यस वर्षको अनलाइन् छनोटमा भने सबैभन्दा उच्च मत पाएको छ र सो चित्रलाई पेन्रिथ रिजनल ग्यालरी र लेवेस्ट बेक्वेस्टमा राखिने जानकारी गराएको छ ।

लगातारका यी दुई वर्षमा नवल खतिवडाका चित्र छनोटमा पर्नु निश्चय नै भूटानी चित्रकला क्षेत्रको एकातिर गौरवको विषय हो भने अर्कातिर नवलको सफल चित्रकारिता प्रमाणित हुँदै जानु पनि हो ।
भूटानमा जन्मिएर नेपालमा प्रारम्भिक शिक्षा हासिल गरेको र वर्तमान अष्ट्रेलियामा अध्ययनरत नवलको जीवनको मुख्य अभिरुचि नै चित्रकारिता रहेको उनी स्वयम् बताउछन् । एक कर्मठ भुटानी युवा चित्रकारसंग पदम काफ्लेले लिएको अन्तरवार्ताको सार संक्षेप:
आफ्नो परिचय दिनुपर्दा कसरी दिन मनपराउनुहुन्छ ?
हजुर, मेरो नाम नवल खतिवडा हो र चित्रकारिता विधाको शिक्षार्थी हुँ ।
चित्रकलालाई कसरी परिभाषित गर्नु उपयुक्त ठान्नु हुन्छ ?
चित्र भनेको केही वा कसैको तस्बिर हो, मानव मनको अनुभूतिलाई सचित्र उतार्नु नै चित्रकला हो , अझ यस सन्दर्भमा हृदयको गहन अनुभूतिलाई चित्रात्मक स्वरूप प्रदान गर्नु नै चित्रकला हो मेरो अनुभवमा ।

भर्खरै प्राप्त सफलताका विषयमा स्पष्ट जानकारी गराइदिनु होस् न …
म वर्तमानमा चित्रकाला क्षेत्रमा अध्ययनरत भएकाले समय समयमा अष्ट्रेलियाको सिड्नी तथा अन्य भागमा अयोजना हुने विभिन्न चित्रकला प्रदर्शनीमा भाग लिने गर्छु । यसै क्रममा २०११ र १२ मा मेरो चित्र सिड्नीको व्ल्याकटाउन कला पुरस्कारमा छनोट भएको थियो भने २०१२ सालमा नै फिसर घोस्ट आर्ट अवार्डको खुला चित्रकला पुरस्कारमा छनोट भएको थियो । २०१३ मा आएर नेपियन आर्टस् एन्ड डिजाइन सेन्टरले आयोजना गरेको पिपुल्स् च्वाइज आर्ट अवार्ड र स्टुडेन्स् एक्वीसिटिभ आर्ट अवार्ड प्राप्त गरेको छु ।
कस्ता प्रकारका चित्र बनाउनुहुन्छ ? र विषयवस्तु कसरी छनोट गर्नुहुन्छ ?
म सबै प्रकारका चित्र बनाउन रुचाउँछु तथापि मेरो विशेष क्षेत्र भनेको पेन्टिङ , ड्रइङ र प्रिन्टमेकिङ रहेको छ । अब विषयवस्तुको छनोटको कुरा गर्नुपर्दा मेरो पृष्टभूिम एक त अति साधारणका साथै धेरै कुराको अभावमा खट्किएको र हुर्किएको हुनाले होला मेरो चित्रको विषयवस्तु भनेको समाजमा रहेका असहाय, गरिबी, उत्पीडन र सामाजिक मर्म, संस्कृति तथा पूर्वीय जीवनशैलीका भावनाहरुको प्रतिनिधित्व गर्ने खालको बन्ने वा छनोट हुने गरेको छ ।
पूर्वीय र पाश्चात्य चित्रकालालाई वर्तमान सन्दर्भमा कसरी हेरिन्छ र यसमा पाइने समानता र भिन्नता केकस्ता रहेका छन् ?
यस प्रश्नलाई अलि सचेतताका साथ उत्तर दिनुपर्ने हुनाले म के भन्न रुचाउंछु भने पाश्चात्य कला साहित्य सुविधा सम्पन्न र अलि पहिलादेखि नै यस क्षेत्रको विकास भएको देखिन्छ तर पूर्वीय भनेको अभावमा खट्किदै र निकै पछिको सुरुवात भएकाले अलि पछि दौडिएको अनुभव हुन्छ ।
अनि समानता र भिन्नताका विषयमा कुरा गर्दा पाश्चात्य चित्रकलामा प्रायश दैनिक क्रियाकलाप , धार्मिक र राजनैतिक विषयवस्तु समिटिएका हुन्छन् भने पूर्वीयमा चाहिँ सांस्कृतिक, रीतिरिवाज र आफ्नै परिवेशलाई झल्काउने र सामाजिक जीवनको सेरोफेरोमा हुर्किएको चित्रकारिताको विषयवस्तु प्राय हुने गरेको पाइन्छ ।

भूटानी चित्रकलाको ऐतिहासिक पाटो के कस्तो छ संक्षेपमा बताइदिनुहोस् न …
भूटानभित्र चित्रकलाको विकासको कुरा गर्नुपूर्व क्राफ्ट अर्थात् हस्तकलाको विकास चाहिँ पहिलादेखि नै थियो र १६ औं शताब्दीतिर तेन्जिङ राब्गेको शासनकालमा हस्तकलाको विकास र वृद्धि निकै राम्रोसँग भएर आएको ऐतिहासिक दस्ताबेज पाइन्छ तर चित्रकलाको प्रारम्भिक अवस्था यस्तै थियो भन्ने ऐतिहासिक प्रमाण जुटाउन निकै नै गाह्रो भएको छ अनुसन्धाताहरुलाई।
विश्वमा छरिएर बसोबास गर्दै गरेका समग्र भूटानी समाजलाई चित्रकारिताका विषयमा के सन्देश दिन रुचाउनुहुन्छ ?
प्रत्येक मानवमा केही न केही कला अथवा सीप रहेको हुन्छ , आफूले त्यसलाई पहिचान गरी जीवनमा अपनाउने गर्नुपर्छ । आफूले आफ्नैभित्र भएका सिर्जनशील सीपलाई सम्मान गर्न सिक्नु र कलाकारिता मानव जीवनको प्रत्यक्ष ऐना भएकाले यसलाई गलत परिभाषित हुनबाट बचाउंदै लैजानु आजको आवश्यकता भएको छ र अन्तमा समग्र भुटानी सिर्जनशील हातहरुलाई हामी भुटानीहरुको सांस्कृतिक अस्तित्व, जीवनशैली र आफ्नोपनमा बाँच्न सकौं भन्ने सन्देशका साथै शुभकामना ।


Congratulation brother for your achievement and inspiration. Please use your art and color to express our sentiments over the world.
Please reflect the crime of Jigme( 4th Monarch) and its government in your master piece. As a saying goes- ” Pictures speaks 1000 words”.
God bless you and your aspiration!
Congratulation! keep it up. You have the telent and u deserve more.