अष्ट्रेलियाको सिड्नीमा नेपियन आर्ट एन्ड डिजाइन सेन्टरले भर्खरै आयोजना गरेको पिपुलस् च्वाइस् आर्ट अवार्ड र स्टुडेन्ट एक्वीसिटिभ आर्ट अवार्ड दुवै पुरस्कारबाट सम्मानित भएका छन् नवल खतिवडा । हुन त गत सालको प्रतिस्पर्धामा पनि उनका चित्र छनोटमा नपरेका होइनन् तर यस वर्षको अनलाइन् छनोटमा भने सबैभन्दा उच्च मत पाएको छ र सो चित्रलाई पेन्रिथ रिजनल ग्यालरी र लेवेस्ट बेक्वेस्टमा राखिने जानकारी गराएको छ ।

लगातारका यी दुई वर्षमा नवल खतिवडाका चित्र छनोटमा पर्नु निश्चय नै भूटानी चित्रकला क्षेत्रको एकातिर गौरवको विषय हो भने अर्कातिर नवलको सफल चित्रकारिता प्रमाणित हुँदै जानु पनि हो ।
भूटानमा जन्मिएर नेपालमा प्रारम्भिक शिक्षा हासिल गरेको र वर्तमान अष्ट्रेलियामा अध्ययनरत नवलको जीवनको मुख्य अभिरुचि नै चित्रकारिता रहेको उनी स्वयम् बताउछन् । एक कर्मठ भुटानी युवा चित्रकारसंग पदम काफ्लेले लिएको अन्तरवार्ताको सार संक्षेप:
आफ्नो परिचय दिनुपर्दा कसरी दिन मनपराउनुहुन्छ ?
हजुर, मेरो नाम नवल खतिवडा हो र चित्रकारिता विधाको शिक्षार्थी हुँ ।
चित्रकलालाई कसरी परिभाषित गर्नु उपयुक्त ठान्नु हुन्छ ?
चित्र भनेको केही वा कसैको तस्बिर हो, मानव मनको अनुभूतिलाई सचित्र उतार्नु नै चित्रकला हो , अझ यस सन्दर्भमा हृदयको गहन अनुभूतिलाई चित्रात्मक स्वरूप प्रदान गर्नु नै चित्रकला हो मेरो अनुभवमा ।

भर्खरै प्राप्त सफलताका विषयमा स्पष्ट जानकारी गराइदिनु होस् न …
म वर्तमानमा चित्रकाला क्षेत्रमा अध्ययनरत भएकाले समय समयमा अष्ट्रेलियाको सिड्नी तथा अन्य भागमा अयोजना हुने विभिन्न चित्रकला प्रदर्शनीमा भाग लिने गर्छु । यसै क्रममा २०११ र १२ मा मेरो चित्र सिड्नीको व्ल्याकटाउन कला पुरस्कारमा छनोट भएको थियो भने २०१२ सालमा नै फिसर घोस्ट आर्ट अवार्डको खुला चित्रकला पुरस्कारमा छनोट भएको थियो । २०१३ मा आएर नेपियन आर्टस् एन्ड डिजाइन सेन्टरले आयोजना गरेको पिपुल्स् च्वाइज आर्ट अवार्ड र स्टुडेन्स् एक्वीसिटिभ आर्ट अवार्ड प्राप्त गरेको छु ।
कस्ता प्रकारका चित्र बनाउनुहुन्छ ? र विषयवस्तु कसरी छनोट गर्नुहुन्छ ?
म सबै प्रकारका चित्र बनाउन रुचाउँछु तथापि मेरो विशेष क्षेत्र भनेको पेन्टिङ , ड्रइङ र प्रिन्टमेकिङ रहेको छ । अब विषयवस्तुको छनोटको कुरा गर्नुपर्दा मेरो पृष्टभूिम एक त अति साधारणका साथै धेरै कुराको अभावमा खट्किएको र हुर्किएको हुनाले होला मेरो चित्रको विषयवस्तु भनेको समाजमा रहेका असहाय, गरिबी, उत्पीडन र सामाजिक मर्म, संस्कृति तथा पूर्वीय जीवनशैलीका भावनाहरुको प्रतिनिधित्व गर्ने खालको बन्ने वा छनोट हुने गरेको छ ।
पूर्वीय र पाश्चात्य चित्रकालालाई वर्तमान सन्दर्भमा कसरी हेरिन्छ र यसमा पाइने समानता र भिन्नता केकस्ता रहेका छन् ?
यस प्रश्नलाई अलि सचेतताका साथ उत्तर दिनुपर्ने हुनाले म के भन्न रुचाउंछु भने पाश्चात्य कला साहित्य सुविधा सम्पन्न र अलि पहिलादेखि नै यस क्षेत्रको विकास भएको देखिन्छ तर पूर्वीय भनेको अभावमा खट्किदै र निकै पछिको सुरुवात भएकाले अलि पछि दौडिएको अनुभव हुन्छ ।
अनि समानता र भिन्नताका विषयमा कुरा गर्दा पाश्चात्य चित्रकलामा प्रायश दैनिक क्रियाकलाप , धार्मिक र राजनैतिक विषयवस्तु समिटिएका हुन्छन् भने पूर्वीयमा चाहिँ सांस्कृतिक, रीतिरिवाज र आफ्नै परिवेशलाई झल्काउने र सामाजिक जीवनको सेरोफेरोमा हुर्किएको चित्रकारिताको विषयवस्तु प्राय हुने गरेको पाइन्छ ।

भूटानी चित्रकलाको ऐतिहासिक पाटो के कस्तो छ संक्षेपमा बताइदिनुहोस् न …
भूटानभित्र चित्रकलाको विकासको कुरा गर्नुपूर्व क्राफ्ट अर्थात् हस्तकलाको विकास चाहिँ पहिलादेखि नै थियो र १६ औं शताब्दीतिर तेन्जिङ राब्गेको शासनकालमा हस्तकलाको विकास र वृद्धि निकै राम्रोसँग भएर आएको ऐतिहासिक दस्ताबेज पाइन्छ तर चित्रकलाको प्रारम्भिक अवस्था यस्तै थियो भन्ने ऐतिहासिक प्रमाण जुटाउन निकै नै गाह्रो भएको छ अनुसन्धाताहरुलाई।
विश्वमा छरिएर बसोबास गर्दै गरेका समग्र भूटानी समाजलाई चित्रकारिताका विषयमा के सन्देश दिन रुचाउनुहुन्छ ?
प्रत्येक मानवमा केही न केही कला अथवा सीप रहेको हुन्छ , आफूले त्यसलाई पहिचान गरी जीवनमा अपनाउने गर्नुपर्छ । आफूले आफ्नैभित्र भएका सिर्जनशील सीपलाई सम्मान गर्न सिक्नु र कलाकारिता मानव जीवनको प्रत्यक्ष ऐना भएकाले यसलाई गलत परिभाषित हुनबाट बचाउंदै लैजानु आजको आवश्यकता भएको छ र अन्तमा समग्र भुटानी सिर्जनशील हातहरुलाई हामी भुटानीहरुको सांस्कृतिक अस्तित्व, जीवनशैली र आफ्नोपनमा बाँच्न सकौं भन्ने सन्देशका साथै शुभकामना ।