Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीपरिवेश रोएको मात्र छैन

परिवेश रोएको मात्र छैन

कृति-समीक्षा

राजेस कोइराला / न्यू हप्शयर

 

शकुनि पाराको चाल छ यहा

सोझा निमुखाको हाल छ यहा

अघि बढ्न जो पाइला चाल्छ

उसलाई छोप्ने जाल छ यहा

आफू रहेको समाजमा भोगेको एउटा पक्षमाथि प्रहार गरेको यो मुक्तक लेख्नुभएको हो, नेपाली-भाषी भूटानी सर्जक राकेश काफ्लेले । यो उहाँको मुक्तक-संग्रह ‘परिवेश रोएको बेला’ का २ सय ५५ मुक्तकमध्येको एउटा हो । यो १६ अप्रिल २०१७ अमेरिकाको आयोवामा लोकार्पण गरिएको हो ।

पुस्तक भूटानी शिक्षक स्वर्गीय एनपी रेग्मीप्रति समर्पित गरिएको छ । रेग्मीले भूटानमा र शरणार्थी शिविरमा नेपाली–भाषी भूटानी बालबालिकालाई भाषा र शिक्षामा अग्रसर गराउने अथक प्रयास गर्नुभएको थियो ।

पुस्तकको नाम ‘परिवेश रोएको बेला’ भए पनि संग्रहमा परिवेश रोएको मात्र छैन, कृतिकार काफ्ले कहीँ यथास्थिति स्वीकार्नु हुन्छ भने कही विद्रोह गर्न खोज्नुहुन्छ । गल्ती देखाउन औंला ठड्याउने प्रयास गर्नुहुन्छ । लेखनमा बेलाबेला उहाँ वाक्क हुनुहुन्छ । कहीँ दंग भेटिनुहुन्छ । थोरै राजनीतिक चेत पनि पाइन्छ, उहाँको लेखनमा । कतैअभाव, कतै पूर्णता छ । लेखन निकै गहन छ । पढुँ पढुँ लाग्ने छ । एउटा पढिसक्दा ‘अर्को मुक्तक कस्तो होला ? कस्तो होला ?’ हुन्छ । मुक्तकमा व्यङ्ग्य पनि गर्नुभएको छ, कतै उहाँलेः

बुद्धिमा बिर्को लाएर

मपाईंत्वको गीत लाएर

गन्तव्यमा पुग्छौं के तिमी ?

पूर्व जानलाई पश्चिम धाएर ।

मुक्तकः  इतिहास, माटो, देश छोड्दाको बेदना, शरणार्थी जीवनका नरमाइला क्षण, प्रेमका वर्णन, केही हाँस्यरस, तेस्रो मुलुकमा भोगेका पल, जाति–धर्म–संस्कृति–परम्पराको सन्दर्भ, भोलीको चिन्ता आदि विषयमा लेखिएका छन् ।

काफ्लेको यो पाँचौं कृति हो भने पहिलो मुक्तक–संग्रह । कृतिकारले ‘परिवेश रोएको बेला’लाई नेपाली–भाषी भूटानीले लेखेको प्रथम मुक्तक–संग्रह भएको बताउनु भएको छ ।

यस संग्रहका शब्द–शब्द केलाएर नेपाली-भाषाका शिक्षक डा. देवी नेपालले कुशल कृति–व्याख्या गरेका छन् भने नेपाली-भाषी भूटानी स्रस्टा पुरानाघरे (भोला शिवाकोटी) ले सम्पादन गर्नुभएको छ । शुद्धाशुद्धिमा ध्यान पुर्‍याइएको छ ।

आवरण रङ्गिन छ, अलि आकर्षक छ । भित्री पृष्ठ साधारण छन्, राम्रो  बनाउन सक्ने जति गरिएको छ । आवरण–चित्र नवल खतिवडाको छ भने आवरण डिजाइन सुरेश वाग्लेले गर्नुभएको छ ।

अमेरिकाको ओहायो राज्यको कोलम्बसस्थित पाथीभरा ज्वेलर्स यसको प्रकाशक हो । मुद्रण भने सुनगाभा अफसेट, नेपालमा गरिएको हो । यो किताब २०१७ मै छापिएको हो । पहिलो संस्करणमा एक हजार १ प्रति निकालिएको उल्लेख छ ।

करिब ८ इन्च लम्बाइ र ५ इन्च चौडाइको यो किताब भित्री १६८ आवरण ४ गरी १७२ पृष्ठको छ । किताबको मूल्य १० डलर (नेपाली रूपैयाँ २५०) छ ।