डिमोइन, आयोवा । नेपाली नयाँ वर्ष २०७५ का अवसरमा डिमोइनमा नेपाली सांस्कृतिक कार्यक्रम तथा नेपाली-भाषा पुस्तकको विमोचन गरियो । कार्यक्रम हिन्दू सांस्कृतिक तथा शैक्षिक केन्द्र तथा सी.आर्.सी. को संयुक्त आयोजना गरिएको थियो । समाजसेवी टंक धिताल सभापति तथा डिमोइन सहरका मेयर फ्य्राङ्कलिन क्याउनी मुख्य अतिथि रहेको कार्यक्रममा राज्य सिनेटर म्याट म्याकोइ, भूटानी समाजका अग्रज विद्वान् पं. शिवप्रसाद पोख्रेल, नागरिक तथा मानव अधिकारका निर्देशक जोसुवा भी. बार आदिको आतिथ्यता थियो । मेयर क्याउनीले दीप प्रज्वलन गरेपछि आरम्भ कार्यक्रममा पं. मुक्ति सुवेदी र उहाँका विद्यार्थीहरूले मंगलाचरण तथा गीता पाठ गर्नुभयो भने सुश्री भिलास्ना आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो ।

सांस्कृतिक कार्यक्रमतर्फ ढकाल ब्रदर्स् अर्थात् मनोज र कृष्ण ढकालले आफ्नो जोडदार प्रस्तुति दिनुभयो भने सम्पूर्ण दर्शकहरू छमछमी नाचेका थिए । अन्य विभिन्न कलाकार तथा स-साना भाइबहिनीहरूले नेपाली नृत्य एवम् गीतहरू प्रस्तुत गरेका थिए । उक्त केन्द्रले ढकालद्वयलाई गीत र कलाको क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मान गरेको थियो । समाज विभिन्न स्वयंसेवकहरूलाई कदरपत्र प्रदान पनि गरिएको थियो ।
कार्यक्रममा विद्वान् पं. पोख्रेल, अतिथि बार, समाजसेवी धिताल, सचिव सोम आचार्यलगायतका विशिष्ट व्यक्तित्वहरू तथा साना बालक सोहन पोख्रेलले संयुक्तरूपमा खिम खतिवडाद्वारा लिखित नेपाली पाठ्यपुस्तक ‘हाम्रो नेपाली भाषा – भाग २’ को विमोचन गर्नुभएको थियो । अतिथि बारले खतिवडाद्वारा सञ्चालित अनलाइन अध्ययन केन्द्र ‘हाम्रो पाठशाला’ को औपचारिक रूपमा आरम्भ गर्नुभयो । पुस्तक विमोचनअघि मुक्ति सुवेदीले लेखक खतिवडाको जीवनीमाथि संक्षिप्त प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका मेयर काउनीले आफू आयोवावासी भूटानी समाजसँग गत तीन वर्षदेखि सहकार्य गरिरहेको र उहाँहरूले आफ्नो भाषा तथा संस्कृतिको विकासमा गरेको लगन देखेर आफू अत्यन्त खुशी बताउनुभयो ।
कार्यक्रममा बोल्दै लेखक खतिवडाले डायस्पोरामा बसोवास गर्ने भूटानी समाजका हजुरबुबा र नातीको, अर्थात् पहिलो र चौथो पिँढीको बोलचाल बन्द हुन लागिसकेको अवस्था नेपाली पाठ्यपुस्तक लेखेर यसै दूरीलाई कम गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले धेरै ठाउँमा भाषा कक्षा सञ्चालन गर्न नसकिएको र सञ्चालन भएका ठाउँमा पनि कतिपय अभिभावकले चाहँदाचाहँदै पनि आफ्ना नानीलाई कक्षामा लान नसकेको अवस्थामा विद्यार्थी र अभिभावकहरूले पनि लाभ लिन सकून् भन्ने उद्देश्यले ‘हाम्रो पाठशाला’ नामक अनलाइन अध्ययन केन्द्र शुरु गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा मनसून नामक संस्थाकी निर्देशक लता डि. मेलोले पनि आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन कवि, गीतकार एवं उक्त केन्द्रका संस्थापक सदस्य खेम रिजालले गर्नुभएको थियो ।